अध्यक्षपछि अन्यमाथि जाइलाग्दै एमाले नेता

अध्यक्षपछि अन्यमाथि जाइलाग्दै एमाले नेता

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले आफ्नै पार्टीका अन्य नेताको खोइरो खन्न थालेका छन् । सार्वजनिक कार्यक्रममै ओलीको कार्यशैलीविरुध्द खरो भाषण दिँदै आएका उनले वर्तमान उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीमाथि पैसा खाएको गम्भीर आरोप लगाएका छन् । केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नामै किटेर मन्त्री भण्डारीले स्टार्टअप कार्यक्रममा पैसा खाएको बताए ।

भन्छन्,‘मन्त्री भएका मान्छेलाई काम गर भनेर पठाएको हो । मन्त्री भएको मान्छेले पैसा खान्छ भने त्यसको जिम्मेवारी उसले लिनुपर्छ,मैले सुनिराखेको छु, स्टार्टअप कार्यक्रममा मन्त्री हाम्रै छन्,त्यहाँ पैसा लिएर गर्या छन् अरे,त्यो उद्योग शुरु गर्नका निम्ति स्टार्टअप कार्यक्रम राज्यको नै थियो, त्यो व्यक्तिको होइन् । त्यहाँ दुरुपयोग भएको छ भने त्यसको जिम्मा दामोदर भण्डारीले लिनुपर्छ । अरुले लिँदैन ।’ उनको आरोपप्रति आपत्ति जनाउँदै र मन्त्री भण्डारीको पक्ष लिँदै अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष तथा राष्ट्रिय युवा परिषदका सदस्य गोविन्द गिरीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् । आफूले चुनाव जित्न नसकेको आवेगमा उत्तेजक अभिव्यक्ति दिएको उनको भनाइ छ । 

‘मन्त्री भएका मान्छेलाई काम गर भनेर पठाएको हो । मन्त्री भएको मान्छेले पैसा खान्छ भने त्यसको जिम्मेवारी उसले लिनुपर्छ,मैले सुनिराखेको छु, स्टार्टअप कार्यक्रममा मन्त्री हाम्रै छन्,त्यहाँ पैसा लिएर गर्या छन् अरे,त्यो उद्योग शुरु गर्नका निम्ति स्टार्टअप कार्यक्रम राज्यको नै थियो, त्यो व्यक्तिको होइन् । त्यहाँ दुरुपयोग भएको छ भने त्यसको जिम्मा दामोदर भण्डारीले लिनुपर्छ । अरुले लिँदैन ।’

मन्त्री भण्डारीलाई ट्याग गर्दै उनले लेखेका छन्,‘केही मान्छेमा उहाँ मन्त्री बनेबाट रिस र डाहा भएको देखिएको छ । आफू निर्वाचन जित्न नसक्ने अनि लगातार निर्वाचन जितेका नेताको सफलताप्रति रिस,डाहा, कुण्ठा, आवेग र उत्तेजनात्मक आलोचनामा मात्र समय खेर फालेर भाषण गरेको देखिन्छ ।’ त्यसैगरी, उनले पैसा लिएको प्रमाणित गर्न थापालाई चेतावनी दिएका छन् ।

‘माननीय उद्योगमन्त्रीज्यूले कहीँकतै कसैबाट एक पैसासमेत लिएको छ भने प्रमाणित गर्न चुनौती दिन चाहन्छु । चिया चौतारीमा बसेर रिस,डाहा, कुण्ठा, आवेग पोख्नुको सट्टा दुर्गम ग्रामीण बस्तीका प्रमुख समस्याहरु लिएर समाधान गरी आफ्नो जिल्लाको विकासमा ध्यान दिएर ८४ को चुनावमा जितेर दामोदर भण्डारीजस्तै मन्त्री बन्नुहोस्, शुभकामना छ’,उनले भनेका छन् । सुदूरपश्चिम प्रदेशका नेताहरुबीच आरोप–प्रत्यारोपको खेल शुरु भएपछि केन्द्रीयस्तरका नेताहरु चिन्तित बनेका छन् । 

पार्टी एक केन्द्रीय सदस्यले भने,‘पार्टी उसै पनि विवादमा तानिएको छ । नेताहरुको यस्तो हर्कतले पार्टीलाई भडखालोमा लगेर हाल्छ ।’ नेपाली काँग्रेसका सांसद तथा वर्तमान पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसँग पराजित बाजुराका थापाले विगतदेखि पार्टी अध्यक्षसहित महासचिव शंकर पोखरेलको आलोचना गर्दै आएका छन् । जगमान गुरुङ्ग, दुर्गा प्रसाईँ,गंगा चौधरीलगायत अवसरवादीलाई पार्टीले ठाउँ दिएको भन्दै सार्वजनिक कार्यक्रममै ओलीको चर्को आलोचना गरेका थिए । 

महासचिव पोखरेललाई अगाडि राखेर ओलीलाई गाली गर्ने उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल निकट मानिन्छन् । उनले सार्वजनिक रुपमै विरोध गर्न थालेपछि ओलीले बालुवाटारमा बोलाएर घण्टौं छलफल गरेका थिए ।
 

टिप्पणीहरू