‘केपी ओलीसँग ट्रम्पलाई पनि नचाउने खुबी छ’

‘केपी ओलीसँग ट्रम्पलाई पनि नचाउने खुबी छ’

राष्ट्रिय सभा सदस्य तथा नेकपा एकता अभियान चलाइरहेका वामदेम गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मजाक गर्ने राम्रो खुबी भएको टिप्पणी गर्नुभएको छ । 

राष्ट्रिय सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री ओलीसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नचाउने क्षमता भएको भन्दै व्यंग कस्न पनि भ्याउनुभयो । प्रधानमन्त्रीले भारत–पाकिस्तान युद्ध अन्त्य गराउन आफूले भूमिका खेलेको दाबी गरेपछि वामदेवबाट उक्त प्रतिक्रिया आएको हो । 

अस्ति बुद्ध जयन्तीको दिन लुम्बिनीमा आयोजित कार्यक्रमा ओलीले आफ्नो सुझावपछि भारत र पाकिस्तान युद्ध रोकिएको दावी गर्दै भन्नुभएको थियो, ‘छिमेकका दुई देशबीच हात हालाहाल भइसकेको थियो, त्यो हात हालहाल युद्धमा परिणत नहोस् भनेर हामीले संयमता र संवादको मार्ग अपनाउन सुझाव दिएका थियौँ, त्यसपछि शान्त भए ।’

गौतमले भने प्रधानमन्त्री ओलीले मजाक गरेको हुनसक्ने बताउनुभयो । ‘केपी अमेरिकामा जन्मेको भए डोनाल्ड ट्रम्पलाई पनि नचाउनुहुन्थ्यो, घुमाउनुहुन्थ्यो, नेपालमा जन्मिएर मात्र हो’, वामदेवले भन्नुभयो, ‘बढी हाँसो गरिरहनुहुन्छ, मजाक गर्नुहुन्छ क्या !’ 

‘प्रधानमन्त्री ओलीले तपाईंलाई पनि निकै घुमाउनुभयो है ?’ प्रश्नमा नेता गौतमले ‘बरु मैले घुमाएँ नि’ भन्नुभयो । अघि थप्नुभयो, ‘मलाई त घुमाउन सक्नुभएन, मैले चाहीँ पार्टी अध्यक्ष, संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीसम्म घुमाए उहाँ (ओली)लाई ।’

केही महिनाअघि प्रधानमन्त्री ओलीसँग संवाद गरेर एमाले प्रवेश गर्ने तयारी गर्नुभएका गौतम अहिले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग नजिक भएको बताइन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पनि संसदको संयुक्त बैठकमा नेता गौतम अध्यक्ष नेपालसँगै बस्नुभएको थियो ।

टिप्पणीहरू