जस्तो अनुमान उस्तै नियुक्ति

जस्तो अनुमान उस्तै नियुक्ति

सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दलीय भागबण्डा मिलाएर पदाधिकारीहरु नियुक्त गरेको छ । हिजो राति बसेको क्याबिनेट बैठकबाट सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा नियुक्त गरिएका छन् । सदस्यहरुमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही, कुमारी कौशल्या ओझालाई तोकिएको छ । दुई अध्यक्ष काङ्ग्रेस-एमालेले लिँदा सदस्यमा माओवादीलाई समेत मिलाएको देखिन्छ । यो नियुक्तिमा  द्वन्द्व पीडित भनिएको पक्षलाई सामेल गरिएजस्तो पाइन्न ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पूर्व कामु मुख्यसचिव लीलादेवी गड्तौला अध्यक्ष र गोपालनाथ योगी,अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल, बिनिता नेपाली सदस्य छन् । 

सरकारले गभर्नर नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न यसअघि गठित समिति पुनर्गठन गरेको छ । यसअघि सदस्य रहेका डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले राजीनामा दिएका थिए । उनको स्थानमा डा. पोषराज पाण्डे नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजक र पूर्व गभर्नर महाप्रसाद अधिकारी सदस्य छन् । 

अधिकारीको मनोनयनप्रति कानुनी प्रश्न उठाउँदै सर्वोच्चमा दायर मुद्दा विचाराधीन छ । हिजो अदालतले कारण देखाऊ आदेश र आगामी आइतबार अन्तरिम आदेशका लागि हुने छलफलमा दुबै पक्षलाई बोलाइएको छ । गभर्नर बनाउन लागिएका पौडेलविरुद्ध पनि सर्वोच्चमा निवेदन पेश भएको छ । तर हिजो साँझसम्म दर्ता नभएको बताइन्छ ।
 

टिप्पणीहरू