सगरमाथा संवाद : आज सम्बोधन, भोलि छलफल,पर्सि हिमाल अवलोकन

राजधानीमा आजदेखि सगरमाथा संवाद शुरु हुँदैछ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउँदै समाधानका उपाय खोज्ने उद्देश्यले पहिलो पटक नेपाल सरकारले यस्तो कार्यक्रमको आयोजना गरेको हो । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नारा तय गरिएको छ ।
एक सय ७५ विदेशी पाहुना सहभागी हुने कार्यक्रममा १२ मुलुकको सहभागिता हुँदै छ । आजको उद्घाटन समारोहमा सहभागीहरुको तर्फबाट चिनियाँ जनकँग्रेसका उपाध्यक्ष, भारतीय वनमन्त्री र अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी सहायकले सम्बोधन गर्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाउनुभएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिँदै छ ।
उदघाटनपछि शुरु भएर भोलिसम्म हुने ‘प्लेनरी सेसन’ मा सहभागी सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय सङ्गठनको प्रस्तुति रहने बताइएको छ । सम्मेलनमा सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकल, विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थाहरु पनि सहभागी हुँदैछन् ।
विदेशी पाहुनालाई जलवायु परिवर्तनले पारेको असर देखाउन पर्सि बिहान माउन्टेन फ्लाइटको व्यवस्था मिलाइएको छ । सोही दिन संवादको काठमाडौं घोषणा जारी भएपछि सम्मेलन औपचारिक रुपमा समापन हुने बताइएको छ ।
टिप्पणीहरू