पुरानो बेलायतका लागि लड्दै छन् भारत र पाकिस्तान !

दक्षिण एशिया मात्र होइन, अहिले विश्व नै तरंगित छ । जुम्ल्याहा सन्तान भारत र पाकिस्तानबीचको युद्ध भारत र पाकिस्तानको होइन । यो अवस्था पश्चिमा पुँजीवादीले प्रजातन्त्रको मुकुण्डो भिरेर भारतीय उपमहाद्वीपमा रोपेको विषवृक्षको परिणाम हो ।
पाकिस्तानी सिमाना अफगानिस्तान मात्र होइन, इरान र अरब सागरसम्म फैलिएको छ । भारतको सिमाना आठ हजार मीटरभन्दा माथिका आठ हिमालय समेटेको नेपालको उत्तरी सीमाबाहेक पूर्व र पश्चिम दुवैतिर चीन र भुटानसँग जोडिएको छ । मध्यपूर्वदेखि हिमालयसम्मको विस्तार भूराजनीतिक रूपले भयंकर हो । पश्चिमाहरू यो भूमिलाई एकीकृत रहेको देख्न सक्दैनथे । भारत र पाकिस्तानको शत्रुता धर्मका कारण होइन । पश्चिमाले, विशेषतः बेलायती उपनिवेशले आफ्नो भूराजनीतिक स्वार्थको कारण रोपेको विभाजनको परिणाम हो । धार्मिक भिन्नता त केवल एक बहाना थियो । यो अब भारत र पाकिस्तानमा संस्कार बनिसक्यो ।
बेलायतीले भारतमा हिन्दू–मुस्लिमको विभाजन रेखा कोर्ने कसरत गर्दा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी वा सहबाज शरिफ आफ्नै संस्कारजन्य कटुताको उत्तराधिकार बोकेर हिँड्न अभिशप्त भाडाका सिपाही हुन् । तर, उनीहरूलाई आफू भाडाको सिपाही भएको कुरा थाहा छैन । अज्ञानताले भय, भयले घृणा र घृणाले हिंसाको जन्म दिन्छ । हिंसालाई राष्ट्रिय अहंकारको जलप लगाएर राजनीति गर्नु अर्कै कुरा हो ।
रोमन रणनीतिको भारतीय प्रयोग
‘डिभिडे इत इम्पेरा !’ यो एक ल्याटिन शब्दावली हो । यसको नेपालीमा अनुवाद हुन्छ, ‘विभाजित गर, शासन गर ।’ रोमन साम्राज्यले यो रणनीतिको ब्यापक प्रयोग गरेर आफूलाई बलशाली तुल्यायो । सन् १८१९ मा इष्ट इण्डिया कम्पनीको प्रमुख भएर भारत आएका ‘लर्ड’ एल्फिन्स्टोनले भारत पुग्नुअघि नै घोषणा गरे, ‘डिभिडे इत इम्पेरा कुनै बेला रोमनको थियो तर भारतमा यो हाम्रो लागि हुनेछ ।’
भारतमा हिन्दू–मुस्लिम दंगाको इतिहास धेरै पुरानो छैन । एकपटक गुजरातमा सन् १७७४ मा गाई किन्ने र बेच्ने विवादले छिमेकीबीच झगडा भएको देखियो । त्यो हिन्दू–मुस्लिम नभएर एक सामान्य लेनदेनको मुद्दा थियो । त्यसपछि हिन्दू र मुस्लिम समुदायमा चार/पाँच वटा झडप भएको देखिन्छ । सबै धार्मिक मुद्दाभन्दा पनि पारिवारिक सामाजिक प्रकृतिका रहेछन् ।
शिकार गर्न हिँडेको भोको सिंहको समूहमा असीम धैर्य हुन्छ । एउटा जोखिमपूर्ण हात्तीको नवजातलाई मार्न पाए दुई दिनको छाक टर्छ । यसका लागि उनीहरू त्यो छावाको हप्तौं पिछा गर्छन् । बेलायतीको हिंश्रक स्वभाव पनि यस्तै थियो । उसले त्यतिबेला थालेको विभाजनको नीति साकार हुन झण्डै ७५ वर्ष लाग्यो ।
सन् १८९३ को गर्मी महिनामा बम्बई (अहिलेको मुम्बई ) को एउटा टोलमा हनुमान जयन्ती मनाउन केही हिन्दू भेला भएका थिए । उनीहरूको भजनको स्वर छेउका मुसलमानलाई मन परेन र नियोजित रूपले हनुमान मन्दिरमा आक्रमण गरे । एक सय मारिए, हजारभन्दा बढी घाइते भए ।
शहरको शान्ति सुव्यवस्थाको जिम्मा लिएका तत्कालीन गभर्नर जर्ज रोबर्ट क्यानिङ एक हप्ताअघि नै छुट्टी मनाउन छेउको शहर पुना गएका थिए । दंगा सकिएको नौ दिनपछि बम्बई आए । सिधै गोराको क्रिकेट प्रतियोगिताका खेलाडीलाई पुरस्कार बाँड्न थाले । दंगाबारे एक शब्द उच्चारण गरेनन् । हिन्दूको जनसंख्या बढी थियो । छरिएर बसेका मुसलमान अल्पसंख्यक थिए । यसर्थ मुसलमानलाई साथ दिन थाले । विभाजनको पहिलो रेखा कोरियो ।
तर, यो प्रायोजित हिन्दू–मुसलमान दंगाले बम्बईको साँस्कृतिक परिदृश्य परिवर्तन भयो । हिन्दूहरू एकजुट भएर । उनीहरू जोर र स्वरले गणेश चतुर्थी महोत्सव मनाउन थाले । ‘गणपति बप्पा मौर्या’ भन्ने नाराले शंखनाद गर्न थाल्यो । पहिले मुसलमानको मोहर्रममा भीड लाग्ने गथ्र्यो । अब त्यो भीडलाई गणेश पूजकहरूको भीडले विस्थापित गरिदियो । यो साँस्कृतिक जागरणले भारतमा बेलायतीविरुद्ध मानसिकता बलियो भएको कुरा गोराहरूले बेलामा थाहा पाउनै सकेनन् । उनीहरू मुसलमानलाई खुशी पार्नमै ब्यस्त थिए ।
बेलायती उपनिवेशले विभाजनको रणनीति शुरु गरेको उदाहरण पनि गजबको छ । सन् १९२० देखि १९४० सम्म भारतमा जे जति हिन्दू–मुस्लिम दंगा भयो, त्यसको कुनै अभिलेख छैन । तर, वार्षिक ४ सय जना मान्छे हिन्दू–मुस्लिम हिंसामा मरेको अभिलेख क्याम्ब्रिज विश्वविद्यालयको अभिलेखमा अहिले पनि पढ्न मिल्दो रहेछ !
नालायक नागरिक !
बंगालमा सन् १९४६ को हिन्दू–मुस्लिम हिंसामा दश हजार भारतीय मारिए । ६० हजार अंगभंग भए । हिन्दू–मुस्लिमलाई आपसमा भिडाउने अंग्रेजले भर्ना गरेका स्थानीय हिन्दू–मुस्लिम नै थिए । बंगालीहरूले त्यो बेला एक छाक राम्रो खान पाउने अवस्था थिएन । तीन वर्षअघि १९४३ मा भयंकर अनिकाल परेको थियो । तर सोझा किसानबाट अंग्रेजले वार्षिक कुत उठाउन छोडेनन् !
बेलायतमा त्यो बेला विन्स्टन चर्चिल प्रधानमन्त्री थिए । बंगालको अनिकालबारे उनले बोलेको कुरा, ‘मलाई इण्डियन देखेर घृणा लाग्छ । यो अनिकालमा उनीहरू मरे भने त्यो उनीहरूकै ‘च्वाइस’ हो । कसले भनेको थियो उनीहरूलाई खरायो र मुसाले जस्तो भटाभट सन्तान जन्माउन ?’ चर्चिल अझै भन्छन्, ‘त्यो अर्धनग्न गान्धी जंगली हो । उनीहरूको धर्म पनि जंगली छ ।’
यसो भन्ने चर्चिल बंगालमा अनिकाल लाग्दा भारतमा फलेका लाखौँ टन खाद्यान्न बेलायत ओसार्दै थिए । विश्वयुद्धमा उनलाई आफ्ना सेनाको लागि खाद्यान्न आपूर्ति गर्ने चटारो थियो ।
तर, बेलायतीको मूलमन्त्र नै विभाजन गरेर शासन लम्ब्याउने थियो । समय सलल बग्दै थियो तर अन्तर्यमा खेलो रोकिएन । भारतमा गोराहरूले गरिब मुसलमानलाई पैसा दिएर हिन्दू मन्दिरमा गाईको टाउको झुण्ड्याउन लगाए । मस्जिदमा सँुगुर काटेर फाले ।
सन् १९८८ मा निर्मित गोविन्द निहलानीको टेली सिरिज ‘तमस’ले यसको वास्तविक कथा बोलेको छ ।
तर, आमजनता इतिहास पढ्दैन । पढे पनि बुझ्दैन । जनताका नेता इतिहास पढेको नाटक गरेर इतिहासलाई आफ्नो स्वार्थअनुसार परिभाषित गर्छन् । इतिहास मनोरञ्जनको विषय हो । इतिहासबाट मान्छेले आजसम्म कुनै पाठ पढेको छैन । पढेको भए, सबैभन्दा पहिले युद्ध बन्द हुने थियो !
नरेन्द्र मोदी र केपी ओली त्यो बेला जन्मिएकै थिएनन् । अहिले ठूलो कुरा गर्दै डोनाल्ड ट्रम्पसँग अँगालो मार्नु अर्कै कुरा हो । राजनीति र लोकरञ्जन एउटै ढ्याकका दुई पाटा हुन् । मोदी र ओलीलाई या आफ्नो इतिहास थाहा छैन, अथवा उनी छलकपटी हुन् ।
उपनिवेशका मानसपुत्रहरू !
सन्त कविरले चार लाइनको एउटा गजब दोहा लेखेर गएका छन् । दोहालाई नेपालीमा कसरी भनौँ ? जापानी हाइकूजस्तै हो । चार लाइनको –
‘आए एक ही देश से,
उतारे एक ही घाट
हवा लगी संसारकी,
हो गए बाह्र बाट ’
काव्यिक रूपान्तरण गर्न नसके पनि उनको अनुभवको अर्थ हो, ‘हामी सबै एकै ठाउँबाट आएर एकै धरातलमा ओर्लिएको हो, तर संसारको हावाले हामीलाई शत्रु बनायो !’ मेरो व्याख्या वा अनुवाद गलत छ तर भाव एउटै हो ।
फेरि सन्त कविरकै कुरा, पाँच सय वर्षअघि बनारसमा बसेर उनले जे अनुभव गरे र लेखे, त्यो अझै साक्षात छ । भन्छन्–
‘कविरा कुंवा एक है,
पानी भरे अनेक
भाँडे का ही भेद है
पानी सबमे एक’
अर्थात् , जोसुकैले पानी भरे पनि पानीको स्रोत एउटै हो । पानी थाप्ने भाँडो अलग भए पनि, पानी त एउटै हो ।
भारतका प्रधानमन्त्री हिन्दू मात्र होइन, योगी, ध्यानी ज्ञानी आदि इत्यादि सबै हुन् । मोदी आफूलाई त्यस्तै देखाउन चाहन्छन् । गोदी मिडियाको स्वार्थरूपेण सहयोग पनि छ । अब उनको ध्येय छ, पाकिस्तानतिर जाने पानी रोक्ने !
सन् १९६० मा भारत–पाकिस्तानबीच पानी बाँडफाँडबारे एउटा सम्झौता भयो । पश्चिमा स्वार्थमा सञ्चालित विश्व बैंकको मध्यस्थतामा भएको यो सन्धिलाई तत्कालीन समयले ‘विश्वकै सफल द्विपक्षीय सम्झौता’का रूपमा खुब तारिफ गरेको पनि हो । सन्धिअनुसार भारतले चिनाव, झेलम र यसले थप्ने सिन्धु नदीको बहावलाई पाकिस्तान जान नरोक्ने सहमति भएको पनि हो ।
तर, भारत आज यो मान्न तयार छैन । जसरी पाकिस्तानले एकतर्फी रूपमा ‘सिमला सन्धि’ नमान्ने घोषणा ग¥यो ! सिमला सन्धिले कस्मिरको विभाजन रेखा कोरेको हो, जसको दुवै पक्षले उल्लंघन गर्दै आएका छन् । बारुद बोल्ने ठाउँमा बोलीको महत्व हुँदैन ।
आमजनता इतिहास पढ्दैन । पढे पनि बुझ्दैन । पढेको भए; सबैभन्दा पहिले युद्ध बन्द हुने थियो । भारतले पाकिस्तानको पानीको स्रोत रोकिदिएजस्तै चीनले भारतको बहाव अपचलन गरिदिए कस्तो असर पर्छ ?
भारतले पाकिस्तान बग्ने चिनाव नदी नियन्त्रण गर्ने आफ्नो बग्लीहार बाँधको ‘स्लुस’अर्थात् फाटक बन्द गरिसकेको छ । अब ऊ झेलम नदीको किसनगंगा बाँध पनि रोक्ने तयारीमा छ । यो भारतका तर्फबाट सिन्धु नदी सन्धिको एकपक्षीय अपहेलना हुनेछ ।
सन्धिअनुसार, पाकिस्तान यी नदीको ८० प्रतिशत पानी उपभोग गर्ने हकदार छ । तर, अब नरेन्द्र मोदीको सरकार यो मान्न तयार छैन । यी नदीको बहाव पाकिस्तानतर्फ कम भएको अवस्थामा त्यो मुलुक अपूर्व रूपले कृषि तथा पर्यावरणीय संकटमा पर्नेछ । सुखा यामको त झन् कुरै नगरुँ !
संसार पारस्परिक सहयोग र सद्भावमा टिक्छ । भारत पाकिस्तान जाने पानीढलो रोक्न सक्षम होला । त्यसपछि चीनले के गर्छ? चीन र पाकिस्तान सामरिक रूपले भारतविरुद्ध छन् । भारतमा बग्ने सतलज, सिन्धु र ब्रह्मपुत्रजस्ता सदावहार नदीहरूको श्रोत चीन वा तिब्बतमा छ । भारतले पाकिस्तानको पानीको श्रोत रोकिदिएजस्तै चीनले भारतको बहाव अपचलन गरिदिए कस्तो असर पर्छ ?
भारतले नेपालका नेतालाई जस्तो साम, दाम, दण्ड भेदको नीति चीनमा लागू गर्न सम्भव छैन । चीनले कुनै पनि बेला तिब्बतमा बाँध बनाइदेला भन्ने आशंकामा भारत ५ दशकदेखि चिन्तित छ । चीनलाई दवाव दिन ऊ हरेक वर्ष हजारौं दवाव समूह सक्रिय तुल्याएर लाखौँ डलर खर्च गर्दैछ । पानी बाँडफाँडबारे भारत–चीनबीच कुनै सन्धि भएको छैन । चीन र पाकिस्तान सामरिक मित्र हुन् । भारतले पाकिस्तानलाई पानी रोकेको अवस्थामा चीनले भारतलाई रोकिदिए भारत कहाँ जाने ?
दासताको बिरासत !
समस्या भारतीय गोदी मिडियाले देखाएजस्तो सरल छैन ।
बेलायतीहरू सोच्थे, अधीनस्थ देशका नागरिक प्रजातन्त्रका लागि अझै तयार भैसकेका छैनन् । तर उनीहरूकै मुलुकमा प्रजातन्त्र र समानता कहाँ थियो र त्यो बेला ?
जनता उच्च, मध्यम र निम्न वर्गमा अझै विभाजित थिए । धर्मका आधारमा विभेद कायम थियो । जतिसुकै निम्न वर्ग भए पनि भारतीयका अगाडि उनीहरू मालिक थिए । फरक यत्ति मात्र थियो ।
अर्को फरक के हो भने, त्यतिबेला दास भएर बेलायत पुगेकाहरू अहिलेका स्वतन्त्र भारतीयलाई दासको व्यवहार गर्छन् । एउटा दासमुक्त भएपछि अर्को दासको मालिक हुन खोज्छ । अहिलेका भारतीय सत्ताधीशमा पनि यही कुण्ठाले जरो गाडेको छ ।
विदेशी प्रजातन्त्र
दक्षिण एशियामा प्रजातन्त्रले मौलिक जरो गाड्न पाएको छैन । आयातित प्रजातन्त्र धरमरो हुन्छ । भारत र पाकिस्तानको सीमा रेखा कोर्ने एक जना थिए बेलायती सिरिल ¥याड्क्लिफ, पेशाले भूगर्भवेत्ता उनले न कहिल्यै भारत देखेका थिए, न उनलाई भूमिको सामाजिक र साँस्कृतिक अनुभव नै थियो । पाँच हप्तामा अहिले लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) नामका धर्को तानेर गए । जो अहिले कास्मिरी भूमिमा भारत–पाकिस्तानको सिमाना हो । त्यसपछि कहिल्यै फर्किएर भारत आएनन् । उनको लाइनको धर्कोले मच्चाएको रक्तपात भारत र पाकिस्तानले व्यहोर्दैछ ।
पश्चिमाहरू प्रजातन्त्रको हिमायती बनेर गरिब र स्थानीय शासकबाट शोषित नागरिकलाई आशा देखाउँछन् । तर, अन्त्यमा स्थानीय शासकसँग मिलेर निमुखाको थप शोषण गर्छन् । भारतमा रेल बनेको आम जनताको सुविधाका लागि होइन । काठ र भौगर्भिक सामग्री ढुवानी गर्नको लागि हो । अमलेखगञ्जसम्म आएको रेल नेपालकै वन सामग्री ओसार्न थियो । चन्द्रसमशेरले रेल ल्याए भन्नु र गर्व गर्नु अर्कै कुरा ।
प्रजातन्त्र गरिब मुलुकलाई धनीले सिकाउने एक पाठ हो । अमेरिका स्वतन्त्र भएको एक शताब्दीसम्म महिलालाई मतदान गर्ने अधिकार थिएन । सन् ६० को दशकमा अठार वर्ष काटेका काला केटाहरूलाई जबर्जस्ती भियतनाम युद्धमा होमिँदा उनका बाउआमा आफ्नो मतदान गर्ने अधिकारका लागि संघर्ष गर्दै थिए । उता, छोरा मथ्र्यो, यता बाबु ! केका लागि ?
भूराजनीतिक चलखेल
भारतले पाकिस्तानमा ‘लक्ष्यित निशाना’ ताकेर युरोपेली मिसाइल हान्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आन्तरिक विषयमा संवाददातासँग गफिँदै थिए । अचानक कसैले सोध्यो, ‘भारत–पाकिस्तान युद्धबारे अमेरिकाको धारणा के हो ?’
ट्रम्पलाई यो युद्धबारे शायद जानकारी नै थिएन त्यो बेला । यी एक यस्ता राष्ट्रपति हुन्, जो हरेक दिन आफ्नो टेबलमा आएको सुरक्षा सूचनाको विश्लेषण गर्नुभन्दा आफ्नो वैचारिक धारणा पोख्न रुचाउँछन् । उनले भने, ‘इण्डिया पाकिस्तान सधँै लडिरहन्छन् । मेरो आशा छ, यो युद्ध रोकियोस् ।’ भारतीयमूलकी महिला बिहे गरेका अमेरिकी उपराष्ट्रपति जे डी भान्सले एकछिनपछि ट्रम्पकै बोलीमा लोली मिलाउँदै भने, ‘उनीहरू हाम्रो नियन्त्रणमा छैनन्, हामीलाई यो युद्धसँग कुनै लेनादेना छैन ।’
अचानक भोलिपल्ट ट्रम्पले आफ्नो प्रिय सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेखे, ‘अमेरिकाले रातभरि गरेको प्रयासका कारण भारत र पाकिस्तान युद्धबिराम गर्न सहमत भएका छन् ।’ अन्तर्य अर्कै रहेछ, पाकिस्तानले भारतसँग जल, थल वा वायुमा युद्ध गरेर जित्न असम्भवप्रायः छ भन्ने बुझेको थियो । त्यसैले पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले आफ्नो आणविक अस्त्र सञ्चालन गर्न दक्ष टोलीका सदस्यहरूको बैठक बोलाएका रहेछन् । यो कुरा पहिले अमेरिकाको कान हुँदै भारत पुग्यो । अमेरिकी दवावमा भारत युद्धविराम गर्न तयार भयो । तर, यसको प्रस्ताव पाकिस्तानबाट आउनुपर्ने कुरामा दृढ रह्यो । दुवै देशका सामाजिक सञ्जाल आफ्नो मत प्रकट गर्दैछन् । नरेन्द्र मोदीलाई आफूले जितेको हो कि हारेको ? जनतालाई बुझाउन सकस परेको छ ।
प्रयोगशाला !
युद्धको आयाम अनेक हुन्छ । पश्चिमा हतियार उत्पादकहरू भारत–पाकिस्तान द्वन्द्वलाई व्यापारिक दृष्टिले विश्लेषण गर्दैछन् । चीनले बनाएको नवनिर्मित लडाकु जहाजको अहिलेसम्म वास्तविक युद्ध भूमिमा परीक्षण भएको थिएन । उसको मिसाइलको पनि क्षमता बुझ्न बाँकी थियो । पाकिस्तानले चिनियाँ विमान र मिसाइल प्रयोग गरेर कमसेकम ५ वटा भारतीय विमान खसालेको दावी गरेको छ । भारतले शुरुमा तत्कालीन सोभियत संघ निर्मित मिग विमानका अतिरिक्त अहिले फ्रान्समा निर्मित राफेल ‘फाइटर जेट’ प्रयोग गर्न थालेको छ । पाकिस्तानले भारतका ५ वटा विमान झारेको दाबी गरे पनि भारतले अहिलेसम्म यसबारे मुख खोलेको छैन । न पाकिस्तानले यसको श्रव्यदृश्य प्रमाण दिन सकेको छ । तर, पश्चिमा हतियार उत्पादकहरू चिन्तित छन् ।
पश्चिमाहरूको चासो चीनको हतियार र यसको प्राविधिक क्षमतामा मात्रै सीमित छैन । अघिल्लो साता रूस पुगेका चिनियाँ नेता सि चिन फिङ र भ्लादिमिर पुटिनबीच त्यस्तो के कुरा भयो, जसले पुटिन युक्रेनसँग द्विपक्षीय वार्ता गर्न तयार भए ? डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका एक्लिएको छ । नेटोको पारम्परिक गठबन्धन धर्मराएको छ । युरोप पोखिएको सामल बटुल्ने प्रयासमा छ । यो परिप्रेक्ष्यमा भारत–पाक युद्ध एक छिटपुट घटना होइन । सारा संसार प्रयोगशाला हुने तरखरमा छ । यो प्रयोगको परिणाम तर निश्चित छैन ।
कुरो आफ्नै देशको
छिमेकी दुई शक्तिशाली मुलुक हतियार उज्याएर खडा छन् । एकादेशमा एउटा सार्क नामक क्षेत्रीय गठबन्धन पनि थियो । औपचारिक रूपले अझै जीवित छ । तर, उसको जीवनमा अर्धविराम लागेको छ । यो दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनप्रति भारत सुरुदेखि नै उत्साही नहुनु अस्वाभाविक होइन । पाकिस्तानसँग भारतको सहकार्य सम्भव थिएन । घुमिफिरी नेपाल अहिले यो मृतप्रायः क्षेत्रीय संगठनको अध्यक्ष पनि हो । तर, भारत सार्कको विकल्पमा बिमस्टेकको कसरत गर्दै छ । यो बिमस्टेकको उपादेयता सार्कको भन्दा भिन्न देखिएको छैन । तर, नेपालका प्रधानमन्त्रीले भर्खरै थाइल्याण्डमा यो बैठकको भरपुर उपयोग गरे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर ।
अर्का नेता छन्, माधवकुमार नेपाल, उनले दावी गरेका थिए, उत्तर र दक्षिण कोरियाबीच वार्ता गराउन उनी प्रयासरत छन् । यी नेताका अनुसार उत्तर कोरियाली वंशवादी कम्युनिष्ट नेता किम जोङ उन र डोनाल्ड ट्रम्पबीच सिंगापुरमा वार्ता गराउन पनि उनकै भूमिका थियो । दुःखद कुरा, यी विश्वब्यापी पहुँच राख्ने नेकपा एकीकृतका नेता गत साता भ्रष्टाचार अभियोगमा सुटुक्क बयान दिन अख्तियार पुगे ।
उनले सरकारी जग्गा सहुलियतमा कम्पनीको नाममा ल्याएर अर्को व्यापारिक संस्थालाई दिलाएको कुरा छताछुल्ल भएको छ । यी अहिले प्रतिपक्षमा छन् । सत्तामा हुँदा हुन् त, भारत–पाकिस्तान समस्या औंला बजाएको भरमा समाधान हुने एक आशा थियो । तर, उनी सत्तामा छैनन् । जो सत्तामा छन्, उनीहरूलाई राष्ट्र बैंकको गभर्नर भर्ना गर्ने समस्याको चटारो छ ! यो हो नेपालको धरातल र हैसियत ।
टिप्पणीहरू