राजाचाहिँ फर्किन किन नहुने ?

नेपाली साहित्यमा सञ्जय थापा र नेपाली राजनीतिमा प्रदीप नेपाल भनेर चिनिँदै ७१ वर्षको उमेरमा गत हप्ता निधन भएका व्यक्तित्वले खेलेको भूमिका, देखाएको उदाहरण र दिएको प्रेरणाको सम्झना गर्दैछौं हामी । यकिन नभएका भगवानको हामी निन्दा चर्चा र कमीकमजोरी औंल्याउँछौं । प्रदीप नेपाल पनि नेपाली समाजको एकजना औसत पात्रका रूपमा १९–२० प्रतिनिधि हुन् । तर उनले दिएको सन्देशचाहिँं औसतभन्दा अलिक माथि छ । उनको निधनले भएको क्षति वा दुःख हामीले गरिरहेको हिसाबमा त्यही ‘औसत माथि’को बयान हो यो ।
व्यक्तिगत रूपमा सबैले नगरे पनि नागरिकबाट निर्वाचित राजनीतिक नेतृत्वको माथिल्लो निकाय संसदले पनि शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री केपी ओलीले शोक प्रकट गर्नु भएको छ । जीवनकालमास्वार्थ र सिद्धान्तको प्रतिस्पर्धा हुनेगर्छ । निधनपछि सम्झना गर्ने गुण र भूमिकाको नै हो । प्रेरणा लिने भनेको ओंठे भक्तिगान मात्र होइन, आफ्नो व्यवहार र भूमिका बदल्नु हो ।
प्रकारान्तरले प्रश्न त यो पनि गर्न सकिन्छ नि ‘प्रदीप नेपालले देश र जनताको लागि के नै पो गरे र ? जसले पुग नपुग ६० वर्ष नहुँदै राजनीतिक नेतृत्वबाट बिदा लिए । मृत्युपर्यन्त देशको सेवा गर्छु र आकाशका जून तारा झार्छु, देश जनता वा पार्टीलाई मेरो अझै आवश्यकता छ र पदहीन बस्न सक्दिन पनि त भनेनन् नि ! उनको निधनपछि पनि उस्तै घामजून लागिरहेकै छन् । संसद, सरकार र राजनीतिक पार्टीहरू चलिरहेका छन् । सबै नेताको पद प्रतिष्ठा यथावत नै छ ।’ उनले बिर्सनै नसकिने के गुण लगाए ? उनी नहुँदा हामीलाई निर्वाह गर्नै नसकिने के भूमिका खेलेका थिए ?
यो प्रश्न ती पदमा जुनसुकै मूल्यमा बसिरहने वा बस्न चाहने र बस्नका लागि ‘सर्पले निल्दै गरेको भ्यागुताले पनि अर्को किरा–फट्यांग्रा तान्दै गरेको’ जनबोलिको उदाहरण बनेका समकालीन नेताहरूको लागि मात्र । सबै प्रकारका विधि पु¥याएर वा मिचेर प्रधानमन्त्रीको भूमिकामा पुगी ‘क्षम र अक्षम’ ठहरिनुभएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भाग्यमा बाँकी भएको छैटौं र सातौं पटक प्रधानमन्त्री बनेर देश सेवा गर्ने चाहना सार्वजनिक गर्नुभएको छ । मानिसको आयु नै शतायु हो, आफ्नो शतायु जीवनको बाँकी समय अझै २०–२५ वर्ष भएकाले आफूबिनाको नेकपा .(एमाले) कल्पना नगर्न वर्तमान प्रधानमन्त्री ओलीले पनि सार्वजनिकरूपमै चेतावनी दिनु भएको छ ।
नेकपा माले, एमालेको स्थापना तथा संगठन निर्माण र नेपाली साहित्यमा स–शक्त भूमिका खेलेको व्यक्तित्व हुन् भनेर हामीले उनको निधनमा दुःखका साथ आँशु झारिरहेका प्रदीप नेपाल त जिउँदै हुँदा पनि राजनीतिक भूमिकामा निस्क्रिय थिए र पनि कसैलाई केही फरक परेन । दश–दश वर्षदेखि राजनीतिमा कुनै भूमिका नखेलेका, कुनै गुट उपगुटको शक्ति संघर्षमा नरहेका, कुनै राजकीय वा राजनीतिक पदको शिखरमा नरहेका उनको निधनले समकालिन नेपाली राजनीतिमा कसलाई के फरक पार्छ र ? नेकपा एमाले यथावत छ । उनले आजिवन देशको सेवा गर्नका लागि पदको अविच्छिन्न लालसा पनि राखेनन् । न गुट निर्माण गरे न त मरणोपरान्त पार्टीको नेतृत्वमा रहने रहर गरे, न त आफ्नो निधनपछि नेकपा एमाले नै सिध्दिन्छ भनेका थिए । र, पनि जति सक्थे र जति गर्नु पथ्र्यो, त्यो गरे । नगरेको भए कसैले भन्नु पर्यो नि उनले यो यो गर्न पथ्र्यो, गरेनन् । तिनको निधनमा मलाई कुनै दुःख लागेन ! यसो त कसैले भनेको छैन । यसले के देखिन्छ भने पद, गुट र सत्तामा अकण्टक नबसे पनि सकेको उदाहरणीय देश सेवा त गर्न सकिने रहेछ । त्यसो भए हामीले उनबाट के सिक्यौं र के प्रेरणा लियौं वा लिन्छौं ? यो प्रश्न गरे हुन्न र ?
कुनै राजनीतिक पार्टीको वा संस्थाको अस्तित्व सिध्दिने वा अपूरणीय क्षति हुने भनेको त शतायुका आकांक्षी तपाईंं हाम्रो अभावले पो हो जो अझै देशको सेवा गर्ने रहर कुरेर उत्तरार्धको जीवनमा दुःखी बनेका छौं । जस्तो माथि पनि उल्लेख छ, पूर्व प्रम देउवाको देश सेवा गर्ने रहर मरेकै छैन ! प्रम ओलीको शतायुको हिसाब मिलेकै छैन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दशक लामो सक्रिय राजनीतिक जीवन र आठ वर्षको राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि ‘आफूले गृहस्थ जीवन पार गरिसकेकोले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको’ बताउनुभएको धेरै समय भएको छैन । नाम लिन सकिने अरु धेरै हुनुहुन्छ ! विपी कोइरालालाई महामानव र मदन भण्डारीलाई जननेता भन्नुहुने ज्ञात अज्ञात धेरै नेता युवाहरूको क्षमतालाई बाटो छेकेर चल्ला नकोरल्ने बतासे फुलमा ओथारो बसिरहनु भएको छ !
यसो त देश सेवा पदमा बसेर मात्र हुन्छ कसले भनेको छ । पहिला पदमा बसेकाहरूकै सेवाका लागि सके सरकारले, नसके परिवारले एउटा–एउटा धरालो अर्थात् सेवक खटाइदिनु पर्ने रहेछ । यस सम्बन्धमा जनआस्था साप्ताहिकको गतहप्ताको अनलाइन संस्करणको एउटा समाचार यस्तो छ– ‘पचहत्तर वर्षपछि पनि प्रधानमन्त्री बन्न पाइन्छ ? यस्तो कानुन, जो बनाएपछि नेताहरूले नै पढेनन् !’ मानिसको व्यक्तिगत स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य विज्ञानले भन्छ– वृद्धावस्थामा पुगेपछि मानिस शारीरिक तथा मानसिक रूपले कमजोर हुँदै जान्छ । उमेर बढ्दै जाँदा उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगले समात्ने सम्भावना बढी रहन्छ भने व्यक्तिको निर्णय क्षमतामा पनि ह्रास आउन थाल्छ । कानुनले पनि ज्येष्ठ नागरिक आफैंमा सक्षम नहुने भएकाले सहयोगी राख्नुपर्ने कल्पना गरेको छ । पचहत्तर वर्षको उमेरपछि अदालतमा मुद्दा लड्नुपरे अनिवार्य संरक्षक राख्नुपर्ने देवयानी संहितामा व्यवस्था छ । मानिसको व्यक्तिगत जीवन, उमेर, स्वास्थ्य आदिको अतिरिक्त कानुनी व्यवस्थालेसमेत यसरी निर्देशन गरेको छ भने त्यो सीमामा सबैले आफ्नो भूमिका केन्द्रित गर्नु पर्छ । राजा फर्काउने र फर्काउन नदिने, नेपालको राजनीतिका केन्द्रमा रहेको बहस यो पनि हो अहिले । राजा फर्काउन बल गर्ने कमल थापा र राजेन्द्र लिङ्देन त नेकपा एमालेकै बलमा गणतन्त्रको भ¥याङ चढेर सत्ताको साझेदार बनेका हुन्् ।
राजतन्त्र हामीले किन फाल्यौं र हामी किन कसैलाई राजा मान्न तयार छैनौं ? यो सिद्धान्तः जन्मका आधारमा कोही सर्वश्रेष्ठ हुन सक्दैन र मृत्युपर्यन्त उसले राज गर्ने क्षमता राख्दैन भनेर नै होइन ? यदि त्यस्तो कुरा राजाको हकमा लागु हुन्छ भने रैतीका हकमा पनि लाग्नुपर्ने हो कि ? राजा फालेर आफंै राजा हुने र बाँकी रैतिलाई राज गर्ने हो भने त हिजोका राजालाई पनि फर्केर देश सेवा गर्ने रहर किन नहोला त ? आफूले आजीवन पद र नेतृत्व छोड्न नहुने अनि तिमीले फेरि राजा बन्ने सपना नदेख भन्न सुहाउँछ ? जनताका प्रतिनिधिलाई पनि जसरी पटक पटक वा घुमीफिरी, फर्कि फर्की र दोहो¥याई तेह¥याई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद वा पार्टीको अध्यक्ष र महासचिव बनेर देश र जनताको आवश्यकता र सेवा गर्ने रहर हुन्छ, राजा पनि ‘आफ्ना पुर्खाले आर्जे’को माटोको मलाई माया छ भनेर फर्किन्छु भन्न किन नहुने ? म राजावादी होइन । राजाले राम्रो गर्छन् भन्ने विश्वास पनि छैन । राजा नमान्नु सैध्दान्तिक दृष्टिकोण हो ।
पृथ्वीनारायण शाहले भनेकै छन् ‘मेरा साना दुःखले आज्र्याको होइन यो मुलुक !’ यसको अर्थ र सन्देश हो– जनताको ठूलो दुःखले पो आज्र्याको हो । मेरो सानो–तिनो दुःख त के नै पो हो र ? त्यसो त उनको त्यो साना दुःखको गुन र फल उनले र उनका सन्तानले पाइसके । अब यो मुलुकको नेतृत्व र सुरक्षा गर्ने पालो विधिमा बसेर जनताका प्रतिनिधिले हो । आफ्ना सन्तानले १२ पुस्तासम्मका लागि अकण्टक राज गर्ने दुःख त पृथ्वीनारायण शाहले पनि गरेका थिएनन् । अब कागताली र अपुतालीमा राज गरेर जनताको नासो जनतालाई फिर्ता गरिसकेका राजाले पनि श्रीपेचको रहर नराख्नु नै जाति । अप्राकृतिकरूपमा वा रहस्यमय दरवार हत्याकाण्डमा नै राजतन्त्रको अन्त्य भएको हो । तर, नेपाली जनताले राजतन्त्रका गुनप्रति गुन लगाएर नै राजा वीरेन्द्रका भाइलाई उनको उत्तराधिकारी मानेर राजतन्त्रको विधिपूर्वक अन्त्यको अवसर दिएको हो । विधि बाहिर, बलपूर्वक अप्राकृतिक र रहस्यमय तरिकाका अपृय घटना घटाउन नेपाली जनता चाहँदैनन् । नेपाली जनताको यो सदिच्छा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सन्ततिले पनि बुझ्न सक्नुपर्छ ।
राज्य सञ्चालनमा जनमतका आधारमा निर्वाचित प्रतिनिधिले सहभागी हुनेभन्दा पारिवारिक विरासत र उत्तराधिकारीको अभ्यास गर्दा हुने परिणाम षड्यन्त्र तथा सम्बन्धहरूको उतार चढाव नै हो । यो आजको मात्र होइन सदियौं वर्षदेखि हुँदै र देखिंदै आएको उदाहरण हो । महाभारतको युध्द पनि पारिवारिक विरासतको परिणाम थियो । जब पारिवारिक विरासत र उत्तराधिकारको प्रश्न आउँछ, तब पर्खालभित्रको दरवार बन्छ ।त्यहाँ राजा महाराजाहरूको जन्म हुन्छ । भाइ भारदारको, रानी– बडामहारानी र युवराजहरूको जन्म हुन्छ । विधि बाहिर एक अर्कालाई
उधिन्ने र सिध्याउने षड्यन्त्र शुरु हुन्छ । बाबु छोरा, आमा छोरी, ससुरा बुहारी, नन्द–भाउजूको महत्वाकांक्षाको द्वन्द्व बढ्दै जान्छ । धेरै ठूला र परका उदाहरणहरू किन नेपाली राजनितिमा लैला–मजनुका जोडीका रूपमा देखिएका र सीमान्तकृत समुदायको झुपडीमा हुर्केका रेशम चौधरीको परिवारमा ‘पाक्दै गरेको खिचडी’ दरवारभित्रको उत्तराधिकारीको विरासतको महत्वाकांक्षा होइन र ! कमरेड प्रदीप, आफ्नो कर्तव्य, भूमिका र योगदानका लागि तिम्रो आत्माले सन्तुष्टि महसुस गर्न सकोस् ।
टिप्पणीहरू