बेलायतमा रहेकी सांसदको राजीनामा अस्वीकृत,सनाखत गर्न बोलाइयो
सिके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङ्गको राजीनामा अस्वीकृत भएको छ । प्रदेश सभाका सभामुख तुलाराम घर्तीले स्वयं उपस्थित भएर सनाखत गरेपछि मात्र राजीनामा स्वीकृत गर्ने बताएपछि तीन दिनअघि बुझाइएको पत्र अलपत्र परेको हो । सभामुखको सचिवालयले उनलाई आफैं आएर सनाखत गर्नका लागि पत्राचार गरेको प्रदेश सभाकी प्रवक्ता कमला पोखरेल पौडेलले जानकारी दिइन् ।
उनले जनआस्थासँग भनिन्,‘उहाँको राजीनामा स्वीकृत भएको छैन । सभामुखको सचिवालयले आफैं उपस्थित भएर सनाखत गर्न भन्दै पत्राचार गरेको छ ।’ जनमतबाट समानुपातिक सांसद गीताले गत वैशाख ३० गते ईमेलबाट राजीनामा पत्र पठाएकी थिइन् । लामो समयदेखि बेलायतमा रहेकी उनले काम नगरिकन जनताले तिरेको करबाट पारिश्रमिक लिनु उपयुक्त नहुने राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।
उनले पठाएको पत्र साना बच्चाले लेखेझैं देखिन्छ । न वाक्य मिलेको छ न हिज्जे । उनलाई बोलाउनुको पछाडि केही गम्भीर कारण भएको स्रोत बताउँछ ।
‘राष्ट्र,देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । म मेरो पदमा रहिरहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पद मुक्त हुन राजीनामा पेश गर्दछु’ लगायतका देशभक्ति शब्दसहित पत्र लेखेकी उनले वैशाख महिनासम्मको तलबभत्ता लिएको खुलेको छ । रोचक प्रसंग के भने, उनले पठाएको पत्र साना बच्चाले लेखेझैं देखिन्छ । न वाक्य मिलेको छ न हिज्जे । उनलाई बोलाउनुको पछाडि केही गम्भीर कारण भएको स्रोत बताउँछ ।
समानुपातिक सांसद बन्न पार्टीलाई मोटो रकम बुझाएकी उनी सो रकम उठाउन बेलायत गएकी थिइन् । त्यहाँको शरणार्थी परिचयपत्र लिनका लागि प्रक्रिया पनि अगाडि बढाइसकेको स्रोतको भनाइ छ । ‘समानुपातिक सांसद बन्नका लागि उनले महङ्गोमा ऋण लिएकी थिइन् । त्यो तिर्न बेलायत गइन् । शरणार्थी कार्डका लागि प्रोसेस पनि अगाडि बढाइसकेकी थिइन् । त्यो मिल्ने भएपछि त्यतै बस्ने योजना बनाएकी होलिन्’,स्रोतले भन्यो ।
उनले हरेकपल्ट बेलायत जाँदा नक्कली स्वकीय सचिव खडा गरेर लैजाने गरेको स्रोतको दाबी छ । त्यसविषयमा छानबिन हुनुपर्ने माग प्रदेश सभा सदस्यहरुले गरिरहेका छन् । एक प्रदेश सभा सदस्य भन्छन्,‘उनी बेलायत जाँदा नक्कली स्वकीय लिएर जान्थिन् । तर, उनीहरु फर्किएका छैनन् । त्यसबारे छानबिन हुनुपर्छ ।’ उनले पत्र पठाएको ईमेल ‘फेक’ जस्तो देखिएकाले पनि सनाखतका लागि बोलाइएको हुनसक्ने कतिपयको अनुमान छ ।
टिप्पणीहरू