हितेन्द्रलाई ‘कन्टेन्ट’ नबन्न  बालुवाटारका सल्लाहकारको सुझाव

हितेन्द्रलाई ‘कन्टेन्ट’ नबन्न  बालुवाटारका सल्लाहकारको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई समाजिक सञ्जालमा ‘कन्टेन्ट’ बन्ने लोभ त्याग्न सुझाव दिएका छन् ।

आज फेसबुकमार्फत् उनले बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्नेहरुसँग सजग रहन शाक्यलाई सचेत गराएका हुन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई देवत्वकरण गरिएको र अहिलेका हितेन्द्रलाई खलनायक बनाउने प्रयास भइरहेको रिमालको दाबी छ । 

‘सजग रहनुहोला, बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ, बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो’, उनले लेखेका छन्,  देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यसविपरीत गहिरो भ्रम छरिरहेका छन् ।’

गलत भाष्य निर्माण गरेर आफ्नो दुनो सोझ्याउने काम भइरहेको टिप्पणी गर्दै रिमाल भन्छन्, ‘सजग रहनुस् काम गर्नुस्, तर ध्यान दिनुस्- कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन् । 

हितेन्द्रदेवलाई कर्ममा अडिग रहन सल्लाह दिँदै प्रमका सल्लाहकारले अगाडि भनेका छन्, ‘तर कन्टेन्टको दुनियाँले तपाईंलाई कन्टेन्ट बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस् ।’
 

टिप्पणीहरू