लेबी उठाएर घर किनेको आरोप लागेका सिकेका नेता धरौटीमा रिहा
ठगीको आरोपमा समातिएका जनमत पार्टीका पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादव धरौटीमा छुटेका छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले आज उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा जनमतका प्रवक्ता डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।
जाहेरीमा यादवले पार्टीको नाममा रहेको पैसा अपारदर्शी खर्च गरेको, पार्टीको नाममा जथाभावी पैसा उठाएको तथा फिर्ता नगरेको र पार्टीलाई हानी हुने गरी ऋण बनाउँदै हिँडेको जिकिर गरेका थिए । त्यसअघि फागुन तेस्राे साता पार्टीको अनुशासन समितिले उनलाई चार बुँदे स्पष्टीकरण सोध्दै निलम्बनको लागि केन्द्रीय समितिसमक्ष सिफारिस गरेको थियो ।
लगत्तै निलम्बनमा परेका यादवमाथि पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेशमा बस्दै आएका ६० भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेबीका नाममा करोडौं उठाएर काठमाडौंको कोटेश्वरमा घर किनेको आरोप छ ।
टिप्पणीहरू