सुनचाँदी व्यवसायीहरुको पुर्पुरोमा हात, तोला छाडेर आनामा साथ
बजारमा देखिएको आर्थिक मन्दीले सर्वसाधारणसँगै व्यापारी र व्यवसायीहरुलाई छुन थालेको छ । व्यापार खस्किँदा उनीहरुलाई बैंकको ऋण तिर्न हम्मेहम्मे पर्न थालेको छ । व्यापार सुकिरहेको बेला बैंकले ऋण तिर्न ताकेता गरेपछि व्यवसायीहरु तनावमा देखिन्छन् ।
बैंकको निरन्तरको दबाबले सुनचाँदी व्यवसायीहरु ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको दाबी छ । कुनैबेला सिरहाको लहान बजार सुनचाँदी कारोबारको लागि उपयुक्त ट्राञ्जिट मानिन्थ्यो ।
उदयपुर, ओखलढुंगा, सिन्धुली, सोलुलगायतका पहाडी जिल्लाहरुमा व्यापारिक प्रयोजनका लागि थोक मूल्यमा लहानबाटै सुन लगिन्थ्यो । सुनको कारोबार मौलाउन थालेपछि मारवाडी समुदाय पनि त्यसमा लगानी गर्न आकर्षित भए । हाल लहानमा ६२ वटा सुनचाँदी पसल सञ्चालनमा छ । पछिल्लो समय व्यापार स्वाट्टै घटेको महासंघको भनाइ छ । कतिपय पसलमा कुनै दिन व्यापारसमेत हुन छोडेको छ ।
लहानका पुराना सुनचाँदी व्यवसायी विकास ट्रेडर्सका प्रोपाईटर तथा महासंघ केन्द्रीय सदस्य विकास शारडा मुलुकको अर्थतन्त्रमा मन्दी छाउँदा सुनचाँदीको कारोबार नराम्रोसँग प्रभावित भएको बताउँछन् । उद्योग वाणिज्य संघ, सिरहाका अध्यक्षसमेत रहेका शारडा भन्छन्,‘पछिल्लो केही समययता लहानको समग्र व्यापारमा ह्रास आएको छ । सुनचाँदीको कारोबार मन्दीले छपक्कै छोपेकोभन्दा केही फरक पर्दैन् ।’
बोहोनीसमेत हुन छाडेको बेला बैंकले गरिरहेको ताकेताले गहना पसलका सञ्चालक राति निदाउन नसकेको सुनचाँदी व्यवसायी संघ, लहानका अध्यक्ष नन्दकिशोर गुप्ताले बताए । उनी भन्छन्,‘एकातिर बोहोनी हुँदैन, अर्कोतिर बैंकले तनाव दिएको छ । ऋण तिर्न निरन्तर ताकेता गरिरहेको छ । ऋण नतिरे धितो लिलाम गरिदिने चेतावनी दिइरहेको छ । व्यवसायीहरु रातमा पनि निदाउन नसकेको अवस्था छ ।’
तोलामा होइन, आनामा सकिन्छ विवाह
चौधरी समुदायको बाहुल्यता रहेको लहानमा विवाह गर्दा विगतमा तोलाका तोला सुनको गहना किन्ने प्रचलन थियो । तर आजभोलि विवाहमा आनाको हिसाबमा गहना किन्न थालिएको छ । त्यो आर्थिक मन्दीको प्रभाव भएको अध्यक्ष गुप्ताको बुझाइ छ । ‘पहिले यहाँ विवाह हुँदा तोलामा सुन खरिद गरिन्थ्यो । अहिले आनामा विवाह टुंग्याउन थालिएको छ । यसलाई आर्थिक मन्दीको प्रभाव भन्न सकिन्छ’,उनले भने ।
५० ग्रामका दरले सुन वितरणको माग
सरकारको सुन वितरण नीतिले साना गहना व्यवसायी अन्यायमा परेको बताइन्छ । आधा किलोको दरले सुन वितरण गरिँदै आएकोमा सरकारले ५० ग्रामको दरले वितरण गर्नुपर्ने देशभरका सुनचाँदी व्यवसायीको माग छ । यही माग राखेर विपिन रामदाम नेतृत्वको सुन पीडित संघर्ष समितिले काठमाडौंमा आन्दोलनसमेत गरेको थियो ।
‘एकैपटक आधा किलो काँचो सुन किन्न एक करोड रुपैयाँ तिर्नुपर्छ । साना व्यवसायीले कहाँबाट ल्याउने ? ५० ग्राम काँचो सुनको मूल्य आठ लाख पर्छ’, स्थानीय व्यापारी वसन्त साह भन्छन्,‘साना सुन व्यवसायीको हित चाहने हो भने सरकारले आधा किलोबाट होइन, कम्तीमा ५० ग्राम काँचो सुन दिने व्यवस्था गर्नुपर्छ ।’
महासंघ पनि साना सुन व्यवसायीको मागप्रति सकारात्मक देखिन्छ । ठूला सुन व्यवसायीले सुन सिफारिस गर्ने र सानाले उनीहरुबाटै किन्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने महासंघको भनाइ छ । हाल सिरहामा तीन सयको हाराहारीमा सुनचाँदी पसल छ ।
महासंघका केन्द्रीय सदस्य शारडाले थपे, ‘व्यापारमा मन्दी छाइरहेका बेला बैंकको ताकेताले सुनचाँदी व्यवसायीहरु त्रसित मानसिकतामा पुगेका छन् । यसबारे सबै संवेदनशील बन्न जरुरी छ ।’ व्यापारी विपिनको भनाइ खण्डन गर्दै महासंघले एक सय ग्राम सुनका लागि बैंकलाई सिफारिस गर्दै आएको शारडाको दाबी छ ।
टिप्पणीहरू