स्काउटको अन्तर्राष्ट्रिय आयुक्त बरालद्वारा पद त्याग
नेपाल स्काउटकी अन्तर्राष्ट्रिय आयुक्त स्मृति बरालले पदबाट राजीनामा दिएकी छन् । २०८० फागुन १३ गते निर्वाचित उनी १५ महिनामै पदीय जिम्मेवारीबाट बाहिरिएकी हुन् ।
नेकपा (एमाले) निकट अनेरास्ववियुको स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखसमेत रहेकी उनले आफ्नो राजनीतिक यात्रालाई केन्द्रमा राखेर बारम्बार आत्मसम्मानमा ठेस पुर्याएकाले राजीनामा दिन बाध्य भएको बताएकी छिन् ।
लोकतान्त्रिक विधिबाट निर्वाचित भई आफूले पाएको जिम्मेवारीलाई ‘राजनीतिक पहुँचको उपज’ भनेर समाजमा नकारात्मक भाष्य बनाइएको उनको गुनासो छ । सक्रिय राजनीतिक यात्राकै कारण बारम्बार आफ्नो चरित्रहत्या गरिएको उल्लेख गर्दै उनले नगरेका गल्तीहरुको दोष थुपारिने यात्रा आफूलाई स्वीकार्य नभएको स्पष्ट पारेकी छिन् ।
फेसबुकमा उनले लेखेकी छिन्,‘यदि यही सक्रिय राजनीतिक यात्राका कारण बारम्बार मेरो चरित्रहत्या गरिन्छ, वा मैले नगरेका गल्तीहरुको दोष ममाथि थोपारिन्छ भने, त्यस्तो यात्रा मेरो लागि कहिल्यै स्वीकार्य हुने छैन र अर्को पक्षबाट हेर्दा यदि यस्ता जिम्मेवारीहरु पाउने कुरालाई “राजनीतिक पहुँचको उपज” भनेर समाजमा नकारात्मक धारणा बनाइँदै छ भने, त्यसले संस्थाको गरिमा र निष्पक्षतालाई हानि पुर्याउँछ । त्यसैले म विश्वास गर्छु यस्तो अवस्थामा नैतिकताको आधारमा जिम्मेवारीबाट राजीनामा दिनु एक जिम्मेवार व्यक्तिको कर्तव्य हो ।’
राजनीतिमा लाग्नेहरु सबै स्वार्थी हुन्छन् र पदका लागि जे पनि गर्छन् भन्ने मानसिक रोगले नेपाली समाज ग्रसित बन्दै गएको स्मृतिको बुझाई छ । उनले अगाडि भनेकी छन्,‘आज हाम्रो समाज एक विशेष मानसिक रोगले ग्रसित छ, त्यो हो “राजनीतिमा लाग्नेहरु सबै स्वार्थी हुन्छन् र पदका लागि जे पनि गर्न सक्छन्” भन्ने सोच ।’
पदीय जिम्मेवारीबाट बाहिरिएपनि जीवनभर स्काउटकै भावना र सेवाभावमा समर्पित रहने स्मृतिको भनाइ छ । स्काउटका प्रमुख आयुक्तलाई हिजो इमेलमार्फत् राजीनामा पत्र पठाएको जानकारी गराउँदै उनले भनेकी छिन्,‘एकपटक स्काउट भएपछि सँधैका लागि स्काउट ।’
टिप्पणीहरू