कि बजेट देऊ, कि चुच्चे नक्सा फिर्ता लेऊ’

कि बजेट देऊ, कि चुच्चे नक्सा फिर्ता लेऊ’

नेपाली कांग्रेस दार्चुलाले टिंकर सडकमा बजेट नथप्ने भए चुच्चे नक्सा फर्काउन माग गरेको छ । जेठ १५ मा प्रस्तुत नयाँ बजेटमा दार्चुला–टिंकर सडकका निम्ति ६ करोड ३१ लाख रुपैयाँँ मात्रै बजेट राखिएको छ । 

कांग्रेस जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा गत बिहिवार जिल्ला प्रशासन कार्यालयमा सांकेतिक धर्ना दिइएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री र जिल्लाबाट निर्वाचित आफ्नै पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूलाई पनि ज्ञापनपत्र पठाइएको छ । ‘कि त सरकार बजेट देऊ, कि त नक्सा फिर्ता लेऊ’ भन्दै कांग्रेस नेता–कार्यकर्ताले आक्रोश पोखेका छन् । ‘चुच्चे नक्सा करायो, ओलीको राष्ट्रवाद हरायो’, ‘टिंकर सडकमा यथेष्ट बजेट व्यवस्था गर’, ‘दार्चुला जिल्लालाई अन्याय भयो’, ‘दार्चुलालाई हेर्ने सौतेली व्यवहार बन्द गर’ जस्ता नारा धर्नामा लगाइएको छ । 

नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली कोरिडोरको तुसारपानी–टिंकर सडक खण्डमा न्युन बजेट विनियोजन भएपछि आक्रोश बढिरहेको छ । ‘टिंकर सडकमा न्युन बजेट विनियोजनको दोष हाम्रो पार्टीले पनि लिनुपर्ने अवस्था आएको छ तसर्थ यसलाई सच्याएर पर्याप्त बजेट विनियोजनमा सिंगो पार्टीको ध्यानाकर्षण गराउँछौं’ ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति बोहराले भन्नुभयो । 

टिंकर सडक खण्डमा छुट्टै बजेट शीर्षक निर्धारण गर्ने माग बजेटबाट संबोधन भए पनि बजेट अंकले सबैको शिर निहुरिएको कांग्रेस दार्चुलाको ठहर छ । टिंकर सडकमा पर्याप्त बजेटको माग संबोधन नभएसम्म चरणवद्ध संघर्षका कार्यक्रम गरिने जिल्ला सचिव पुलेन्द्रबहादुर कार्कीको भनाइ छ । ‘सरकार र पार्टीभित्र पनि यसका लागि सँगसँगै संघर्ष गरिने’ सभापति ललितसिंह बोहराले बताउनुभयो । ‘माग संबोधन नभएमा पार्टी जिम्मेवारीबाट राजीनामा दिनेसम्मको तयारी गरिएको’ उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि सांकेतिक रूपमा टिंकर सडकमा दुई÷चार करोड बजेट विनियोजन गरेर संघीय सरकारलाई दबाव दिनुपर्ने कांग्रेस दार्चुलाको ठहर छ । ‘यसका लागि हामी प्रदेश सरकारसँग छलफल गर्छांै र दबावमूलक अवस्था निर्माण गर्छौं’ सभापति बोहराको भनाइ छ । 

 

टिप्पणीहरू