ठूलै नाटक चल्दैछ नेपालमा

ठूलै नाटक चल्दैछ नेपालमा

भिजिट भिसा प्रकरणले गरिब र बेरोजगार नेपालीका ऋणको रकम बिचौलिया, कर्मचारी, राजनीतिज्ञ, एयरलाइन्स, ट्राभल एजेन्सीले कसरी भागबण्डा लगाउँदा रहेछन् भन्ने तथ्य खुलाउँदै लगेको छ । मिलेमतोमा एयरलाइन्ससँग हवाई टिकट खरिद गरी भिजिट भिसावाला यात्रुलाई महँगोमा बेच्ने ट्राभल एजेन्सीहरु आफैंले खनेको खाल्डोमा परेको पाइएको छ । दैनिक करिब ४ सयको संख्यामा मिलेमतोमा उडाइने यात्रुहरूसँग चल्तीको मूल्यभन्दा ३ गुणा बढी रकम असुलेर हवाईटिकट भिडाउने ठूला ट्राभल एजेन्सीको रकम डुब्ने र हवाइजहाज रित्तै उड्ने क्रम अहिले पनि चलिरहेकै छ । 

खाडी राष्ट्रतिर उड्ने एयरलाइन्ससँग ५० हजारमा लिएर यात्रुलाई ६० देखि ७० हजारसम्ममा टिकट भिडाउँदै आएका ट्राभल एजेन्सीले भिजिट भिसा काण्डका कारण टिकट बेच्न नसकी करोडौं डुबेको बताएका छन् । नेपालकै ठूला मानिएका दुई दर्जन ट्राभल एजेन्सीले ५० हजारसम्ममा उडाउने बजेट टिकट पहिले नै खरिद गरेका थिए । रस्बिता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स, बोन ट्राभल एण्ड टुर्स, लाइट ट्राभल एण्ड टुर्स, मुस्कान ट्राभल्स एण्ड टुर्स, एक्सेल ट्राभल्स एण्ड टुर्स, एड्विक ट्राभललगायतले बढी मूल्यमा भिडाउन करिब २० करोडको टिकट पहिले नै खरिद गरेका थिए । खाडीतिर यात्रु ओसारपसार गर्ने कुबेत एयर, जजिरा एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबियालगायत कम्पनीका टिकट तिनले यसरी हात पारेका हुन् । 

अहिले एयरपोर्ट अध्यागमनबाट बिहान र बेलुका गरी दैनिक ३ सय बढी यात्रु फर्काइने गरेका छन् । मिलेमतोमा उड्नेहरूसँग निकै बढी मूल्य लिनका लागि एयरलाइन्सलाई अग्रिम बुझाएर लिइएका टिकटहरू सेटिङ भत्किएका कारण बिकेका छैनन् । हरेक ट्राभल एजेन्सीले ५० लाखदेखि करोडसम्म लगानी गरी जुन ८ तारिखसम्म खाडीतिर जाने लगभग सबै टिकट अग्रिम लिएका थिए । एक बिचौलियाले ७ लाखमा १५ वटा टिकट महँगोमा भिडाउन लिएको समेत पाइयो ।

अहिले खाडीतिर जहाज थोरै यात्रु बोकेर उडिरहेका छन् । मिलेमतोमा ७० हजारसम्म असुल्नेहरू सोही टिकट २५ देखि ३१ हजारमा बेचिरहेका छन् । टिकटमा लामो समयदेखि कालोबजारी भइरहे पनि नियामक निकाय नागरिक उड्डयन प्राधिकरण भने मौन बस्ने गरेको छ । नेपालबाट उड्दा भन्दा लगभग तेब्बर सस्तोमा जान सकिने अवस्थाका कारण दैनिक २ हजारजति यात्रु भारत हुँदै बाहिरिने गरेका छन् । भारतबाट जम्मा २५ हजारमा उडाउने काम पनि यात्रुकै मागबमोजिम ट्राभल एजेन्सीले गर्दै आएका छन् । एउटै एयरलाइन्समार्फत उड्दा भारतबाट जम्मा २५ हजार मात्र र नेपालबाट ७० हजारसम्म बुझाउनुपर्ने अवस्था हुँदा पनि अख्तियार र सरकार रमिते बनिरहेका छन् ।

 

टिप्पणीहरू