हाकिम हुँदा माओवादी, छोडेपछि कांग्रेस

हाकिम हुँदा माओवादी, छोडेपछि कांग्रेस

स्वार्थको लागि पार्टी छोड्ने र पार्टी प्रवेश गर्ने नेपाली संकारदेखि तपाईं–हामी ज्ञात नै छौँ । पछिल्ला केही वर्ष देशका मुख्य दलले नै पार्टी एकता देखि चुनावी गठबन्धन गर्न थालेपछि कार्यकर्तालाई यताउता हामफाल्न सजिलो भएको छ । किनकी सबै दल आफ्नो विचार र आस्था भन्दा राजनीतिक स्वार्थका लागि मिल्छन, छुट्छन् अनि सबै पार्टी एकै ड्याङका मुला जस्ता हुनपुगे भन्ने आलोचना छ । 

यसैक्रममा रुकुम पश्चिम आठबिसकोटका मनिराज शाह साताअघि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लामो समय रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए । माओवादीनिकट रहेका कारण उनलाई स्वास्थ्य अधिकृतबाट पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

माओवादीबाट निर्वाचित पूर्वमेयर गोर्खबहादुर केसी सन्देश र अहिलेका मेयर रवि केसीले पनि प्रमुख प्रशाकीय अधिकृतमै निरन्तरता दिए । तर, जनप्रतिनिधिसँग खटपट भएपछि केही समयअघि उनले पदबाट राजीनामा दिएर राजनीतिमा होमिने घोषणा गरे । ०८४ को निर्वाचनमा माओवादीबाट मेयरमा उठ्न चाहेका शाहले टिकट पाउने सम्भावना नदेखेपछि कांग्रेसमा प्रवेश गरेका हुन् । मेयरको आश्वासन दिइएपछि काठमाडौँ नै पुगेर शेरबहादुर देउवाको सहभागितामा पार्टी प्रवेश गरेका हुन् ।

पार्टी फेरेपछि नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले फेसबुकमा आठबिसकोट नगरपालिका वडा न ९ निवासी पूर्वप्रमुख प्रशासकीय अधिकृत एवं समाजसेवी बौद्धिक व्यक्तित्व मनिराज शाहले शेरबहादुर देउवाको हातबाट सदस्यता प्राप्त गरेको र महामन्त्री गगन थापाले स्वागत गर्नुभएको लेखेका छन् । 

 

टिप्पणीहरू