धर्मसँगै पैसा भित्र्याउने यो पो रहेछ धन्दा

नेपालको संविधान, २०७२ धारा ४ मा नेपाल ‘धर्मनिरपेक्ष राज्य हो’ भन्दाभन्दै पनि लुकिछिपी धर्मान्तरण गराउने कार्य बढेपछि गृह मन्त्रालयले २०८१ वैशाखमा यस्तो कार्य रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।
यसका बाबजुद धर्मान्तरण झनै बढिरहेको छ । त्यो पनि लुकेर हैन, हाकाहाकी निजी गुठी दर्ता गरेर ।
मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद–६ दफा ३१५ मा गुठी सार्वजनिक र निजी हुने उल्लेख छ । सामाजिक कल्याणकारी कार्यक्रम सञ्चालन, सेवामुखी कल्याणकारी काम, मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिर्जाघर वा त्यस्तै अन्य धार्मिक कृत्यलगायतका उद्देश्यको लागि गुठी दर्ता गर्न सकिने व्यवस्था सो दफाले गरेको छ । दफा ३१८ अन्तर्गत गुठी दर्ता गर्नका लागि निवेदन आएको ३५ दिनभित्र पञ्जिकाधिकारीले प्रमाणपत्र दिनैपर्ने व्यवस्था पनि छ ।
‘निजी गुठी दर्तासम्बन्धी कार्यविधि, २०७७’ ले निजी गुठी दर्तासम्बन्धी व्यवस्था गरेकोमा सरकारले खारेज गरेर ‘भूमि प्रशासन निर्देशिका, २०८१’ लागु गरेको छ । गत फागुन ११ गतेदेखि कार्यान्वयनमा आएको सो निर्देशिकाले पनि निजी गुठीको विषयलाई समेटेको छ ।सोही कार्यविधिको प्रयोग गरेर विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थाले निजी गुठी दर्ता गरिरहेका छन् । रोचक प्रसंग त के भने, निजी गुठी दर्ता गर्नेमा क्रिश्चियन धर्मसँगसम्बद्ध संघसंस्था बढी छन् । ती संस्थाले धमाधम वडाबाट सिफारिस ल्याएर मालपोत कार्यालयमा निजी गुठी दर्ता गरिरहेको पाइएको छ । मालपोतका कर्मचारीहरूले भने सो कानुनको व्यापक दुरूपयोग भइरहेको औंल्याएका छन् । धर्मान्तरण, धर्मप्रचार गर्नका लागि क्रिश्चियन संघसंस्थाले धमाधम निजी गुठी दर्ता गरिरहेको मालपोत कार्यालय, ललितपुरका एक अधिकारीले बताए ।
बिचौलिया भट्ट केमा लागे भटाभट ?
सो कानुनअनुसार दर्ता भएपछि ती संघसंस्थाले वैधता पाउने उनको जिकिर छ । ‘यो कानुनको छिद्र प्रयोग गरेर क्रिश्चियनहरूले निजी गुठी दर्ता गरिरहेका छन् । त्यसले अपराध निम्त्याउने खतरा छ । निजी गुठी दर्ता भएपछि वैधानिक रूपमै धर्मान्तरण, धर्मप्रचारलगायतका क्रियाकलाप गर्न सक्छन् । उनीहरूले सिफारिस लिएर आएपछि हामीले दर्ता गरिदिनैप¥यो । यसविषयमा सरकार गम्भीर हुन जरुरी छ’, उनले भने । उनका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१२ बाट सबैभन्दा बढी सिफारिस भइरहेको छ । सो वडाबाट निजी गुठी दर्ताका लागि दर्जनौं सिफारिस आइसकेको ती अधिकारीले जानकारी दिए ।
भन्छन्, ‘गोदावरी नगरपालिका वडा नम्बर १२ बाट सिफारिस आएको आयै छ । फेरि सबै क्रिश्चियनसम्बद्ध संघसंस्थाको मात्र सिफारिस छ । वडाले यसरी किन सिफारिस दिइरहेको होला ? हामी आश्चर्यचकित छौं ।’ उनका अनुसार सो वडाबाट मैथिली प्रशंसाके घर, पोर्टर हाउस क्रिश्चियन फेलोसिप चर्चलगायतका नाममा निजी गुठी दर्ता भएको छ । त्यसैगरी, वडा नम्बर ११ मा नेपाल मैत्रीय गुठी, वडा नम्बर ४ मा नेपाल बाप्टिस्ट मण्डली परिषद् दर्ता भएको छ ।
ललितपुर महानगरपालिका १४ मा नेहमेह गुठी दर्ता भएर सञ्चालित छ । सबै गुठीको उद्देश्य एउटै देखिन्छ– पवित्र बाइबलमार्फत विद्यालय र महाविद्यालय सञ्चालन गर्ने, क्रिश्चियन धर्मावलम्बीलाई प्रोत्साहन गर्ने इत्यादि । ती गुठीमाथि नियमन नगरिएमा त्यसले भविष्यमा ठूलो क्षति निम्त्याउन सक्ने देखिएको छ । वडा नम्बर १२ का वडाध्यक्ष जगतबहादुर महर्जन निजी गुठीको दर्ताका लागि निवेदन आउने क्रम ह्वात्तै बढेको बताउँछन् ।
अब युरोपमा नेपालीलाई झन् कडाइ
उनको वडामा डेढ दर्जन बढी चर्च छन् । सबै निजी गुठीअन्तर्गत नै दर्ता भएको उनले जानकारी दिए । कतिपयको आफ्नै भवन रहेको र कतिपय भाडाको घरमा सञ्चालन भइरहेको वडाध्यक्षले बताए । ‘फण्डिङ्ग’ का लागि निजी गुठी दर्ता गरेर चर्च सञ्चालनमा ल्याइएको उनको बुझाइ छ । जनआस्थासँग उनले भने, ‘कानुनी मान्यता प्राप्त भएपछि विभिन्न मुलुकले पैसा दिने रहेछ । त्यसैले नै निजी गुठीमा दर्ता गर्ने हो । निजी गुठीमा दर्ता गर्नेमा धेरै क्रिश्चियन छन् । कसैले भाडाको घरमा चर्च सञ्चालन गरेका छन् त कसैले जग्गा किनेर घर बनाएका छन् ।’
ती गुठी वर्षेनि नवीकरण हुनुपर्ने र निजी गुठीमा वडाले अनुगमन नगर्ने बताए । ‘मेरो काम सिफारिस दिने हो । त्यसअघिको प्रक्रिया जिल्ला विकास समिति र मालपोत कार्यालयले गर्छ । त्यहाँ वडाले नियमन गर्दैन । म आफैं त आजसम्म त्यहाँ गएको छैन’, उनले भने ।
टिप्पणीहरू