आफ्नै मुद्दामा सिन्सियरको हार

राजधानीको पुतलीसडकस्थित सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले पत्रकारहरुविरुद्ध दायर गरेको मुद्दामा हार व्यहोरेको छ ।
विभिन्न मिडिया र पत्रकारहरुलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको छ । सिन्सियरले २०७९ फागुन १५ गते काठमाडौं जिल्ला अदालतमा बेईज्जती एवं प्रतिष्ठासमेत विरुद्धको मुद्दा दायर गरेको थियो ।
सहकारीविरुद्ध लेखेको समाचारले ७७ करोड रुपैयाँको क्षति भएको भन्दै सिन्सियरको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र कार्यकारी सञ्चालक राजेश खड्काले सो रकम पत्रकारहरुबाट भर्पाइ गराउनुपर्ने मागदाबी गरेका थिए । दर्ता नम्बर ०७९–सी४–२४८४ भएको मुद्दामा गत जेठ २९ गते फैसला भएको छ । ११ पटक पेशी चढेको मुद्दामा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले दाबी नपुग्ने फैसला सुनाएको छ । अदालतको आदेशसँगै सत्यको जीत भएको छ ।
के हो घटना ?
२०५७ मंसिर २९ गते दर्ता भएको सिन्सियरको ठगीधन्दाका किस्सा धेरै छन् । सहकारीको आवरणमा सिन्सियरले सीधासाधीलाई ‘घर न घाट’ को बनाउने धन्दा चलाएको थियो । स्थापनाकालदेखि नै लुटतन्त्र मच्चाउँदै आएको सिन्सियरले पीडित बनाएकाहरु असंख्य छन् । करोडपतिबाट धेरै रोडपति बनेका छन् । राजधानीको मुटुमा संस्था खोलेर सिन्सियरले दिनदहाडै लुट्दै आएपनि नियामक निकायको आँखा पुग्न सकेको थिएन ।
सिन्सियरका कारण एक रिकण्डिसन व्यवसायी विस्थापित भए । प्रहरीका एक अधिकृत मानसिक रोगको शिकार बने । दर्जनौंमध्ये व्यक्तिहरु सिन्सियरले दिएको पीडाले गर्दा मानसिक रोगको औषधि खाएर बाँचिरहेका छन् । कतिपय आफ्नो सबै सम्पत्ति सिन्सियरले खाएपछि भूमिगत भए । सिन्सियरले मीटरब्याजमा पैसा लगानी गर्दै आएको छ । संस्थाको उद्देश्य नै ‘अरुलाई लुट्ने र आफू मोटाउने’ हो । कम पढेलेखेका ट्याक्सी चालकलाई ऋण दिँदै आएको सिन्सियरले दिनको दुई गुणा र रातको चौगुणा गरेर ब्याज बढाउँदै लैजान्थ्यो ।
कानुनविपरीत सेवाशुल्क र ब्याज असुल्ने गरिएको थियो । सरकारकै नीतिनियमको धज्जी उडाएर सिन्सियरले राष्ट्रिय दैनिक पत्रिकामा सूचना ननिकालिकन धितो लिलाम गथ्र्यों । सिन्सियरका पदाधिकारीहरुको पहुँच माथिसम्म भएकाले पीडितहरु पीडा सहेर चुपचाप बसेका थिए । सबै सम्पत्ति खाइदिएर सिन्सियरले ‘जे सक्छस्, त्यहीँ गर’ भनेर धम्क्याउने गर्दथ्यो । सिन्सियरबाट धेरै पीडित भएको भेटिएपछि पहिलोपटक जनआस्था अनलाइनमा समाचार प्रकाशित गरिएको थियो ।
समाचार छापिएपछि सिन्सियरले प्रहरीमा जाहेरी दियो । प्रहरीले समाचारको विषयमा जाहेरी लिन नमिल्ने भन्दै फिर्ता पठाइदियो । सिन्सियरविरुद्ध समाचार लेखेका खप्तडटिभी डटकमका सम्पादक गणेश विकलाई मरणासन्न हुनेगरी कुटियो । त्यसैगरी,‘समाचार नहटाएमा जे पनि हुनसक्ने’ भन्दै धम्क्याइयो । तर, समाचार नरोकिएपछि अदालत पुगेको सिन्सियरको टोलीले आफैंले दायर गरेको मुद्दामा हार व्यहोरेको हो ।
अख्तियार पुगे पीडित
सिन्सियर सेभिङका अध्यक्ष, कार्यकारी सञ्चालक र कर्जा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराइएको छ । गत चैत ८ गते पहिलो पटक आयोगमा दर्ता भएको उजुरी नम्बर सी–०४८८०९ र सम्पत्ति शुद्धिकरणको दर्ता नम्बर ४४५५ उल्लेख छ ।
उजुरीपत्रमा सिन्सियरका गतिविधिबारे उल्लेख गर्दै अख्तियारमा यसअघि २०८० साउन २८ गते अर्को उजुरी परेको थियो । दर्ता नम्बर सी–००८०६२ को उजुरीमाथि छानबिन गर्नुपर्ने उजुरीकर्ताको माग गरिएको थियो ।
गत कात्तिक २५ गते हालिएको अर्को उजुरीको दर्ता नम्बर सी–०२७४८५ हो । पटक पटकको उजुरीपछि अख्तियारले सिन्सियरमाथि छानबिन गरिरहेको बताइन्छ ।
टिप्पणीहरू