पूर्वराजाको नक्कल गर्दा कलाकारलाई धम्की

पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर (नक्कल) गर्ने हाँस्य कलाकारलाई राजावादीहरुले धम्की दिएका छन् । ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा पूर्वराजाको क्यारिकेचर गरेका कलाकार प्रभात लामा राजावादीको निशानामा परेका हुन् ।
उनले आफूलाई फोन र मेसेजमार्फत् धम्की आएको बताए । समसामायिक राजनीतिक घटनाक्रमलाई विषयवस्तु बनाइएको कमेडी शोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य खुश्बु ओली र स्वागत नेपाल अतिथि बनेर पुगेका थिए । कार्यक्रमको मध्यभागमा कलाकार लामा पूर्व राजाको अवतारमा प्रस्तुत भएर प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वसभामुख अग्निप्रसाद सापकोटादेखि राजावादी आन्दोलनकै नेताहरुलाई कटाक्ष गरेका थिए ।
तर, कार्यक्रम प्रशारण भएपछि पूर्वराजाको क्यारिकेचर गरेकोमा राजावादीहरुले रवाफ देखाउँदै धम्की दिएको लामाको भनाई छ । उनले सामाजिक सञ्जालमार्फत् सभ्य र शिष्ट हुन तथा कलाको भाषा बुझ्न राजावादीहरुलाई सुझाव दिएका छन् ।
‘म गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले राष्ट्रपति र सम्माननीय प्रधनमन्त्रीज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ?’, उनले भनेका छन्, ‘तपाईको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साच्चै राजा आएको दिन के गर्नु हुन्छ ? मलाई मेरो काम गर्न दिनुस्, तपाईहरु तपाईको राजा ल्याउदै गर्नुस् ।’
उमेरको हिसाबले पूर्वराजा हजुरबुबाजस्तै भएकाले कार्यक्रममा केवल मनोरञ्जनको लागि मात्र उक्त कन्टेन तयार पारेको लामाको प्रष्टोक्ति छ ।
‘उहाँलाई गर्नुपर्ने सम्मान र आदर सधैँ उस्तै छ । मलाई राम्ररी थाहा छ, उहाँलाई कुन सम्मान दिनु पर्ने हो भनेर, त्यो तपाईहरुले सिकाईराख्न परेन’, कलाकार लामाले थपेका छन्, ‘कार्यक्रम केवल मनोरन्जनको लागि तयार पारिएको हो, कसैको राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको होईन ।’
टिप्पणीहरू