एमालेमा यसरी आयो आमने–सामनेको अवस्था
जेठ २३ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले वरिष्ठ नेताको हैसियतमा चीनको १० दिने भ्रमण (१०–१९ जेठ) लगत्तै उपमेयर तथा उपाध्यक्षहरूको राष्ट्रिय भेला उद्घाटन गर्न विराटनगर पुगेकी थिइन् । उता, भण्डारीले आफूनिकट नेता–कार्यकर्ता भेटिरहेको साँझ यता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनेरास्ववियुका पदाधिकारीसँग छलफलमा थिए ।
अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन तयारीमा जुटेका विद्यार्थीसामु भण्डारीप्रति लक्ष्यित गर्दै ओलीले सोधेका थिए, ‘विराटनगरतिर घुम्दै गरेकालाई उता सिले अध्यक्ष बनाइदिन्छन् रे ?’
विद्यार्थी मात्रै होइन, अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तासँग विना प्रसंंग भण्डारीप्रति लक्ष्यित गरेर चर्को विरोध गरिरहेकै छन् । ‘नेपालखबर’मा २०८१ चैत ३१ प्रकाशित अन्तर्वार्ता र नयाँ वर्षको दिन दिएको शुभकामना सन्देशको कारण क्रुद्ध ओलीले पार्टीको आन्तरिक र सार्वजनिक कार्यक्रममा भण्डारी लक्ष्यित उत्तेजक अभिव्यक्ति दिँदै आएका छन् । उक्त अन्तर्वार्तामा भण्डारीले ओलीको उमेर र स्वास्थ्यबारे बोलेकी थिइन् ।
नयाँ वर्षको शुभकामनामार्फत भण्डारीले मदन भण्डारीको सपना आफ्ना सहकर्मी–सहयात्रीहरूलाई राज्यसत्तासम्म पु¥याउने इच्छामा मात्र सीमित नभएको भन्दै वर्तमान नेतृत्वप्रति प्रश्न उठाएकी थिइन् ।२५ जेठमा अनेरास्ववियुको अधिवेशन उद्घाटन गर्दै ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि दुई कार्यकाल मात्र कार्यकारी प्रमुख बन्ने व्यवस्था तोडेको उदाहरण दिएका थिए । ‘चीनमा दुईपटक मात्र अध्यक्ष हुन पाउने नियम बनाएको थियो’, ओलीले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले ६५ वर्षे हद लगाएको थियो तर अहिले ७२ पुगिसक्नुभयो, सी चिनफिङ ।’
ओलीको आक्रोशलाई नजिकबाट हेरिरहेकी भण्डारीलाई नेताहरूले पटक पटक भनिरहेका थिए, ‘अब ओलीसँग फाइनल कुरा गर्नुहोस् ।’ भण्डारीले पनि आफू मैदानमा आएको घोषणा गर्नुअघि यही कुरा ओलीसँग भन्ने चाहना राखिरहेकी थिइन् । यही मेसोमा ३ असारका दिन भण्डारी ओलीलाई भेट्न बालुवाटार पुगिन् । करिब ७ बजे बालुवाटार प्रवेश गरेकी भण्डारी र ओलीबीच करिब डेढ घण्टा छलफल भयो । स्रोतका अनुसार ओलीलाई भेटेर भण्डारीले आफ्नो चीन भ्रमण र कार्यकर्ताको मनस्थितिबारे बताएकी थिइन् ।
स्रोतका अनुसार त्यसक्रममा भण्डारीले अनेरास्ववियुको अधिवेशन उद्घाटनमा दिएको अभिव्यक्तिबारे सोधकी थिइन्, ‘त्यो के भन्नुभएको हो, कसलाई भन्नुभएको हो ?’ओलीले कार्यकारी पदमा दुई कार्यकालको प्रावधान पहिल्यै हटिसकेको बताएपछि भण्डारी झसङ्ग भएकी थिइन् । भण्डारीको दोस्रो प्रश्न थियो, ‘अब नेतृत्वको विषयमा तपाईंको योजना के छ ? मलाई साथीहरूले अघि बढ्न सुझाव दिइरहनु भएको छ । के भन्नुहुन्छ ?’ यसमा पनि ओलीको अमूर्त उत्तर थियो । स्रोतका अनुसार ओलीले बेला आएपछि सल्लाह गरौंला भनेर टारिदिए ।
मदन भण्डारी फाउण्डेसनले असार १४ गते आयोजना गर्ने पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर भण्डारीले आफू सक्रिय राजनीतिमा आउने घोषणाको तयारी गरेकी छन् । स्रोतका अनुसार त्यो घोषणापूर्व उनले ओलीसँग छलफल गर्न चाहेकी थिइन् । तर ओलीसँगको छलफल सकारात्मक नरहेको आफू निकटहरूलाई बताएकी छन् । ‘सकेसम्म ओलीकै प्रस्तावमा अध्यक्ष बन्नुहुन्छ, यदि त्यसो नभए प्रतिस्पर्धाबाट आउनुहुन्छ,’ भण्डारीनिकट एक नेताले भने, ‘१४ असारबाट आक्रामक ढङ्गले अघि बढ्छौं । हामीलाई विश्वास छ, विधान अधिवेशनअगावै अध्यक्षकै प्रस्तावमा उहाँका लागि वातावरण बन्नेछ । होइन भने प्रतिस्पर्धा छँदै छ ।’
विधान हेर्दा सबै झसंग
ओलीले भण्डारीसँगको भेटमा ‘ईश्वर पोखरेलले विधान नपढेको’ भनेपछि विधान हेर्दा सबै झसङ्ग भएका छन् । आगामी २०–२२ भदौका लागि तय विधान महाधिवेशनमा यो एजेण्डामाथि छलफल हुने भनिँदै आएको थियो तर कार्यकालको अवधिबारे वकालत गरिरहेका नेताहरूले आफ्नै पार्टी विधानको संशोधित प्रावधान थाहा नपाएको खुलेको छ । ती नेताले सन्दर्भ मानेर बोलिरहेको पार्टी विधानको धारा–६४ मा पदाधिकारीको कार्यकालबारे केही व्यवस्था नै छैन । १५–१७ असोज २०७८ मा सम्पन्न प्रथम विधान महाधिवेशनबाट पारित पार्टी विधानमा लगातार एउटै पदमा दुई पटकभन्दा बढी रहन नपाउने व्यवस्था गरिएको थियो ।
विधान महाधिवेशनबाट पारित यही व्यवस्थाका कारण ईश्वर पोखरेल तेस्रोपटक महासचिव बन्न रोकिएका थिए । तर सुटुक्क (१०–१४ मंसिर २०७८ मा सम्पन्न) दशौं राष्ट्रिय महाधिवेशनले परिर्वतन गरेको भन्दै एउटै पदमा दुईपटक भन्दा बढी रहन नपाउने व्यवस्था विधान छाप्न पठाउँदा खुसुक्क हटाइएको छ । यो तथ्य भर्खरै मात्रै पदाधिकारीहरूले थाहा पाएका छन् ।
२०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनले ७० वर्षे प्रावधान ल्याएको थियो । २०७८ असोजमा ललितपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ७० वर्ष उमेर हद र एउटै पदमा दुई कार्यकाल मात्रै रहने प्रावधान पारित गरेको थियो ।
टिप्पणीहरू