ज्ञानेन्द्रका भित्री कुरा राजेन्द्रले बुझेपछि

ज्ञानेन्द्रका भित्री कुरा राजेन्द्रले बुझेपछि

८६ वर्षका नवराज सुवेदीले तिखो बोले पनि, कमल थापाले आक्रोश व्यक्त गर्दा राजेन्द्र लिङदेनले सदाबहार शैलीमा सम्झाउन खोजे पनि सबै राजावादी राजा ल्याउने गरी जनता नउठेको निश्कर्षमा पुगेका छन् । अर्थात् चार दिनसम्म चलाइएको गणतन्त्र ढाल्ने र राजा ल्याउने कथित जनआन्दोलन पार लाग्दैन भन्नेमा राजावादी पुगेको एक जिम्मेवार नेताको टिप्पणी छ । राजावादी समूहकै एक पुराना नेता पूर्व राजा ज्ञानेन्द्रमा बुद्धि नभएको र राजावादीबीच नै बेमेलले स्थिति सन्तोषजनक नभएको टिप्पणी गर्छन् । 

ज्ञानेन्द्रले नवराज सुवेदीलाई लगाएर राजेन्द्र लिङदेन, कमल थापा र केशरबहादुर विष्टलाई एक ठाउँमा ल्याउन नखोजेका होइनन् । तर ८६ वर्षका सुवेदीको रसायनले काम नगरेकोमा राजा निकट नै विश्वस्त हुन सकेनन् । ‘ज्ञानेन्द्रको नवराजरूपी रसायनले राजेन्द्र, कमल, केशर कसैलाई पनि जोड्न सकेकोदेखिएन । त्यो रसायनले काम गर्ने गरी केही भएकै छैन, ‘राजावादी समूहकै एक नेताको निश्कर्ष छ, ‘अहिले राजा ल्याउने गरी जनता उठेका छैनन् । यो विना तयारीको हुटहुटी मात्रै हो ।’

राजतन्त्र फर्काउनभन्दा पनि ज्ञानेन्द्रले थापा र लिङदेनलाई तर्साउनमात्रै खोजेको भनेर यो समूहभित्रै कुरा उठ्न थालेको छ । ‘ज्ञानेन्द्रको बुद्धि छैन । उनकै बुद्धि नभएर राजतन्त्र गएको हो । प्रचण्डजीले ज्ञानेन्द्रका लातले सात दल गणतन्त्रसम्म पुगेका हुन् । अन्यथा हाम्रो मात्रै केही चल्दैनथ्यो भनेर बोलेकै हुन्,’ पुराना राजावादी नेता भन्छन्, ‘गिरिजादेखि माधवसम्मले प्रधानमन्त्री बन्न दरखास्त हालेकै थिए तर ज्ञानेन्द्रको बुद्धि नपुग्दा राजतन्त्र नै खरानी भयो ।’

ज्ञानेन्द्रले पछिल्लो समय ८६ वर्षका सुवेदीलाई टिपेपछि त झन् राजावादीमा चरम बेमेलको स्थिति छ । नवराज सुवेदीलाई प्रयोग गरेर पार्टीलाई नचाउन गुट खडा गरेपछि ज्ञानेन्द्रप्रति लिङदेन सबैभन्दा रुष्ट भएको स्रोत बताउँछ । ‘ज्ञानेन्द्रले सुवेदीलाई अगाडि सार्नुको खास उद्देश्य राजतन्त्र फर्काउने होइन राप्रपामा गुट खडा गर्ने रहेछ, ‘राजावादी ती नेता भन्छन्, ‘यति कमिना सोचले राजतन्त्र कसरी फर्केला ? नवराज सुवेदीलाई समाएर राजेन्द्र र कमलहरूलाई तर्साएको हो, यो कुरा उनीहरूले बुझिसकेका छन् ।’

ज्ञानेन्द्रसँग ठाडठाडै बोल्ने सुवेदीको हर्कतबाट सबै जना आजित भइसकेको राप्रपाका नेताहरू बताउँछन् । ‘राप्रपाभित्र ज्ञानेन्द्रले गुट बनाएर तर्साउन खोजेका रहेछन् तर यो कुरा लिङदेन र थापा दुवैले बुझिसके,’ ती नेता भन्छन्, ‘चार दिनमा उनीहरूले मानिसलाई उतार्नै नसकेपछि तर्साउनसमेत सकेनन् भन्ने निश्कर्ष हो ।’ 

गणतन्त्र घोषणाकै दिनलाई छायाँमा पार्न राजावादीले जनआन्दोलनको घोषणा जेठ १५ गतेबाटै गरे । बिडम्वना, चार दिनमै संकेत राम्रो नआएपछि कसो गरौं, के गरौंको स्थितिमा राजावादी पुगेका छन् । यतिसम्म कि ललितपुरस्थित रातो मच्छिन्द्रनाथको जात्राको फोटो देखाएर समेत राजावादीले त्यसलाईआफ्नो आन्दोलन भन्नुपर्ने दिन आयो । एकातिर वृद्ध सुवेदीलाई नेता मान्नुपर्ने, अर्कोतिर हचुवामा आन्दोलनका कार्यक्रम आउन थालेपछि लिङ्देन र थापा नै हायलकायल भएको एक नेताले जानकारी दिए । 

‘कमल थापा पक्राउ पर्नेबित्तिकै अवस्था नै नहेरी सुवेदीले आइतबार उपत्यका बन्द भनेर पत्र लेखिसक्नुभएको रहेछ । हामीले यो कुरा मिडियाबाट थाहा पायौं’, राप्रपाका एक नेता आफूहरूमा कुनै समन्वय नै नभएको दुखेसो पोख्दै भन्छन्, ‘संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले हठात बन्दको घोषणा गरिदिनुभएछ । यसैले घोषणा गरेर ब्याक हुनुपर्ने बन्दको विरोधले हामीलाई टिकिसक्नु भएन । सुवेदीले सल्लाह नगरी बेढंग देखाउँदा हामीलाई नै हानी भयो ।’

आइतबार राति नै निषेधित क्षेत्रमा प्रदर्शन गर्ने र सुरक्षा घेरा तोड्न खोजेपछि थापा पक्राउ परे । तर राति नै छुटे । यसैले ‘हतारको काम लतार’ भनेजस्तो राजावादीले उपत्यका बन्दको घोषणा गरे । सामाजिक सञ्जालमा गालीको वर्षा भेटे । अनि फिर्ता पनि गरे । यसैले लिङदेनले पनि सुवेदीबाट पार लाग्दैन भन्ने निश्कर्ष निकालिसकेका छन् । बन्द भइसकेको बन्द फेरि शुरु गर्न खोजेकोमा राजावादी र राप्रपामाथि सामाजिक सञ्जालबाट निशाना लाग्न थालिसकेको पनि थियो । यसैल उनीहरू ब्याक हुन बाध्य भए । लिङदेनले सामाजिक सञ्जालमै लेखेर बन्दको कार्यक्रममा सहभागी नहुने निर्णय सुनाए । यसले पनि उनी सुवेदीसँग आन्दोलनको मोर्चामा उभिन तयार छैनन् भन्ने दर्शाउँछ । खुलेरै राप्रपाका नेताहरूले बन्दको विरोध गरेपछि सुवेदी थप धरापमा परेका छन् । 

जेठ १९ दरबार हत्याकाण्ड भएको दिन हो । यसै दिनलाई शोकको रूपमा मनाउनुपर्नेमा राजावादीले उल्टै हचुवामा बन्दको घोषणा गरिदिए । जसले स्थितिलाई झन् पेचिलो बनाइदियो । अनि उनीहरू दीप प्रज्वलन गर्ने र सोमबार आन्दोलनका कार्यक्रम नराख्ने स्थितिमा पुगे । 

ज्ञानेन्द्रबाट पैसा बुझे

तारे होटलमा भात खुवाउनेदेखि नगरकोटमा मन्त्रणा गरेर ज्ञानेन्द्रले राजावादीलाई आफ्नो पक्षमा वकालत गर्न लगाएकै हुन् । उनका पछिल्ला दुई तीन महिना यताका यस्ता घटना छरपस्टै छन् । राजावादीले ज्ञानेन्द्रको भातमात्रै खाएनन् पैसा नै भ्याइसकेछन् । राप्रपाले संस्थागत रूपमा लिएको छैन । तर नेता विशेषले भने पैसा लिएको एक नेताले सगर्व स्वीकारे । 
‘पार्टीले ज्ञानेन्द्रबाट एक रूपैयाँ पनि लिएको छैन । व्यक्तिगत रूपमा लिएका छन् । पार्टीमार्फत पैसा प्रयोग भएको छैन,’ पैसा लिएकोमा आश्वस्त हुन आग्रह गर्दै ती नेताले भने, ‘पैसा कसले कति बुझेका छन् त्यो पनि थाहा छ तर मिडियालाई भन्ने कुरा होइन ।’
 

टिप्पणीहरू