चौधरीको पैसासामु सबै चुप

यतिबेला ललितपुरको बखुण्डोलमा करोडौं लगानीमा समिट अपार्टमेण्ट (रेसिडेन्सी) निर्माण कार्य धमाधम चलिरहेको छ । डेढ रोपनी जग्गामा अपार्टमेण्टको काम धमाधम चलिरहँदा स्थानीयका घर भासिएका छन् । वर्षौंदेखिको थातथलो छाडेर विस्थापित हुनुपर्ने अवस्था आइपरेको छ । यसरी कानुनी प्रक्रिया र मापदण्ड समेत लत्याउँदै कांग्रेस सांसदसमेत रहेका उद्योगपति विनोद चौधरी नेतृत्वको सिजी ग्रुप, रविभक्त श्रेष्ठको एनई समूह र समिट समूहको लगानीमा ९ हजार ३०२ वर्गमिटर क्षेत्रफल जग्गाभित्र २०२ आवास इकाईसहितका दुई वटा अपार्टमेण्ट भवन बनाउन लागिएको छ । स्थानीय पीडितको समूहले अपार्टमेण्ट निर्माणका क्रममा जमिन भासिएर बस्तीमा समस्या आएको भन्दै पटकपटक ध्यानाकर्षण नगराएका पनि होइनन् । तर कतैबाट सुनुवाई हुन सकेन ।
ललितपुर महानगरबाट मापदण्डअनुसार काम गर्न पत्राचार भए पनि सञ्चालकले कानमा बतास नलगाएको गुनासो पीडितको छ । महानगरपालिकाले अनुगमन गर्दै एकपल्ट काम रोक्नसमेत भनेको थियो । पीडित पक्षको समेत उपस्थितिमा उपमेयर मञ्जली शाक्य बज्राचार्यलाई संयोजक तोकेर एउटा समिति गठन गरियो । पीडितको समस्या समाधानार्थ तत्कालका लागि १ करोड रुपैयाँँको आपतकालीन कोष स्थापना गर्ने निर्णय भयो तर पीडितले न राहत पाउन सके, न त पीडाको संबोधन नै भयो ।
कानुन, मापदण्ड, सहमती सबै कुरालाई बेवास्ता गर्दै यतिबेला निर्माणको काम युद्धस्तरमा चलिरहेको छ । स्थानीयको जमिन र घर भासिएर थातबास उठ्दासमेत सञ्चालक समूह बेखबर छ । कतिपय घर भत्केका छन् भने कतिपय भासिएर जमिनमुनि पुगेका छन्् । एकजना पीडित स्थानीयको भनाईअनुसार अपार्टमेण्ट निर्माणकाक्रममा महानगरबाट नक्सापास र स्वीकृतिसमेत लिइएको छैन । स्थानीय बासिन्दा मात्र नभै समिट अपार्टमेण्ट निर्माणमा बलजफ्तीका कारण ४० वर्षदेखि सञ्चालन हुँदै आएको ग्रिनवीच होटललाई क्षति पुगेको छ ।
होटलले चर्चेको जमिन डोजरले खोतलिदिएपछि सेवा रोक्नुपरेको अवस्था छ । पीडित पक्षसँग भएको सम्झौता कार्यान्वयनमा समिट होटल समूहले विलम्व गरिरहँदा ललितपुर महानगरपालिकाले समेत लत्तो छाडेको छ । मेयर चिरीबाबु महर्जन आफैँ कांग्रेस नेतासमेत भएकाले विनोद चौधरीले राजनीतिक शक्ति र प्रभावमा पीडितलाई दबाउँदै आएको गुनासो छ । महानगरले समेत स्थानीय पीडितसँगको सहमति कार्यान्वयन गराउन चासो नदिएपछि पीडितको समस्या झन् ‘क्रोनिक’ बन्न पुगेको छ ।
टिप्पणीहरू