हस्तान्तरण हैन पुस्तान्तरण गरौं
कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्थे, अहिले यो उखानलाई विस्तृतीकरण गरी कहीँ नभएको जात्रा नेपालमा भन्नुपर्ने अवस्था छ ।
नयाँ पुस्ताको मनोविज्ञान पुराना पुस्तालाई ट्रकमा खाँदेर वृद्धाश्रममा लगी थन्क्याउने किसिमको छ । यस्तो बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प पार्टीमा कसैले नदेख्ने, कांग्रेस सभापति शेरबहादुर देउवाले ८२ वर्ष टेक्नै लागे पनि सातौँ पटक प्रधानमन्त्री नभइनछोड्ने, पुष्पकमल दाहालले नारायणकाजी श्रेष्ठ र अग्नि सापकोटाहरूलाई उत्तराधिकारी बनाउन खोजेपछि कसरी पुस्तान्तरण हुन्छ ? नेताहरूले पाल्पा दमकडा मा.वि.की १४ वर्षीया छात्रा ओजस्वी आचार्यले बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा दिएको मन्तव्य युट्युबमा खोेजेर सुन्ने हो भने ७५ नाघेका लक्का जवानहरुलाई कुरीकुरी लाग्नेछ । ओलीले विद्या वा शंकरलाई, शेरबहादुरले शेखर कोइराला, गगन, विश्व र प्रकाशमानलाई, प्रचण्डले जनार्दन, अग्नि र नारायणकाजी श्रेष्ठहरूलाई कुर्सी छाड्नु पुस्तान्तरण नभई नेतृत्व हस्तान्तरण मात्रै हो ।
थाइल्याण्डमा सेना र बूढापुरानाले नेतृत्व गर्न नसकेपछि ३७ वर्षकी पेतोङत्रान सिनावात्रालाई सत्ता सुम्पिइएको छ । श्रीलंकाली जनताले नयाँ पुस्ताका अनुराकुमारा दिसानायकेलाई नेतृत्व सुम्पेका छन् । बंगलादेशमा मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरे पनि त्यसको असली हकदार र आन्दोलनको नेतृत्वकर्ता विद्यार्थी र युवाहरू नै हुन् ।
तर, हामी भने पुस्तान्तरण खोज्नेलाई खटाई खटाई, खोजी खोजी, चिमोटीचिमोटी अनि थोपाथोपा गरेर दिएको र लिएको भन्दैछौं । कसले लिने र कसले दिने ? आजको पुस्ता पद वा अवसर कसैले बकसमा दिने वा वंशाणु हक लाग्ने कुरालाई सहजै पत्याउने किसिमको छैन भनेर अघिल्लो पुस्ताले कहिले बुझ्ने ? यसका लागि ०८४ नै कुर्नुपर्ने हो ? राजनीतिमा समय र सीमा हुन्न ।
अहिले दिनेभन्दा लिने बृद्ध देखिएको अवस्था छ । त्यसो त उमेर र विचारले पुरानै देखिनेहरू पनि फेसबुक र युट्युबलगायत सामाजिक सञ्जाल चलाउन थालेका छन् । एक्समा दुईचार कुरा राख्न भ्याएका छन् । रमा बस्नेतहरूले गाली गर्दा पाउने फलोअर्सहरूको संख्या जस्तै पुरानो पुस्ता संख्या बढाउने ताकमा देखिएकै हो त ?
युवा पुस्तालाई राजनीतिक नेतृत्व पुस्तान्तरण गर्न अघि सर्नुपर्नेमा मन नमानी नमानी हस्तान्तरणका कुरा गर्नु दुर्भाग्य नै हो ।
टिप्पणीहरू