संसदमा बिजोग : विधेयक अलपत्र

संसदमा बिजोग : विधेयक अलपत्र

संसदमा गणपूरक संख्या नपुग्ने रोग फेरि दोहोरिएको छ । आज प्रतिनिधिसभामा पानी जहाजसम्बन्धी विधेयक निर्णयार्थ पेश गर्नेक्रममा एक चौथाइ सांसद उपस्थित नभएपछि बैठक स्थगित गर्नुपर्यो ।

बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा माओवादी केन्द्रकी सांसद रुपासोसी चौधरीले गणपूरक संख्याको प्रश्न उठाएकी थिईन् । उनले गणपूरक संख्या यकीन गर्न माग गरिन् । 

त्यसपछि सभामुख देवराज घिमिरेले ३ मीनेट जनाउ घण्टी बजाई संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिए । तीन मीनेट लगातार घण्टी बजाउँदासमेत एक चौथाइ अर्थात् ६९ जना सांसद नभएपछि सभामुखले बैठक स्थगितको घोषणा गरे ।

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव संसद बैठकमा निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने हुन्छ । विगतमा पनि गणपूरक संख्या नपुगेर धेरै पटक संसद बैठक स्थगित भएको उदाहरण छ । 

सार्वजनिक महत्वका प्रस्ताव, संसदीय समितिका प्रतिवेदन तथा विधेयकहरु छलफलका लागि निर्णयार्थ पेश गर्दा पटक-पटक संख्या नपुग्ने स्थितिले सांसदहरु व्यवस्थापिका संसदप्रति जिम्मेवार नरहेको देखिन्छ ।

टिप्पणीहरू