ओलीलाई घमण्डी नेताको संज्ञा दिँदै माधवको अंगालोमा बेरिए वामदेव

ओलीलाई घमण्डी नेताको संज्ञा दिँदै माधवको अंगालोमा बेरिए वामदेव

 नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डी नेताको संज्ञा दिएका छन् । 

एकीकृत समाजवादीसँग पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले कुनै समयका सहकर्मी ओलीलाई दम्भी नेताको संज्ञा दिएका हुन् । उनले माधवकुमार नेपाल भने कोमल मनको भएको व्यक्ति हो भनेका छन् । 

माधव नेपालसँग ०३६ सालमा पहिलोपल्ट भेट भएको स्मरण गर्दै उनले यसबीच सम्बन्ध उत्तारचढावपूर्ण रहँदै आएको बताए । पुरानो सम्बन्ध सम्झिने सिलसिलामा उनले केपी ओली र माधव दुवैको व्यक्तिगत स्वभाव र प्रवृतिमाथि टिप्पणी गरे ।  

‘माधव कमरेडसँग पहिलोपल्ट ०३६ सालमा चिनजान भएको थियो, त्यसयता हामी कहिले धेरै एकताबद्ध भएर, कहिले थोरै एकताबद्ध भएर र कहिले धेरै रिसाएका छौ, तर हामीले हाम्रो सम्बन्धलाई बचायौँ’, गौतमले भने, ‘म नेपालमा कम्युनिष्टको एउटै पार्टी बनाउनुपर्छ, छरिएका कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउनुपर्छ भनेर लाग्दा केपी ओली तयार हुनुभएन, घमण्डी कुरा गर्नुभयाे, बरु माधव कमरेड तयार हुनुभयो ।’

नेकपा एससँग एकता गर्न चार वर्ष ढिला भएको र त्यसको कारण पनि प्रधानमन्त्री ओली नै रहेको उनले स्पष्ट पारे । यो ढिलाईले समाजवाद लागू गर्ने सवालमा पनि बिलम्ब भएको निष्कर्ष छ उनको । 

‘म चार वर्ष पहिले आउन पाएको भए समाजवाद आइसकेको हुन्थ्यो, अब म आएपछि समाजवादको मान्यताहरु लागू हुन्छन्, ओली कारण यो ढिलो भएको हो, तर अहिले म ७५ जना केन्द्रीय समितिको समर्थन बोकेर आएको छु । नौ जिल्लामा आफ्नो कमिटी छन्, उनीहरु सबैको समर्थन लिएर आएको छु’, गौतमले प्रष्ट्याए । 

एकीकृत पार्टी नेकपा एसले अब संविधानले परिकल्पना गरेको समाजवाद निर्माणको अभियान नै चलाउने गौतमको घोषणा छ । त्यसअघि एकता घोषणा सभामा गौतम माधव नेपाल, झलनाथ खनालसहित पूर्व सहकर्मीहरूसँग निकैबेर अंगालोमा बेरिएका थिए ।

टिप्पणीहरू