कसले खायो भण्डारीको दुई करोड ?

कसले खायो भण्डारीको दुई करोड ?

हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले आफ्नै साझेदारबाट दुई करोडभन्दा बढी रकम ठगिएको रहस्योद्घाटन गरेका छन् । त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहार्दै सामाजिक सञ्चालमा घटनाको बेलिबिस्तार लगाएका उनले सहयोगको याचनासमेत गरेका हुन् । 

भण्डारी सञ्चालक रहेको ‘थ्री प्रोडक्सन प्रा.लि’ले उक्त रियालिटी शो तयार गर्दै आएको छ । त्यसको ३० प्रतिशत सेयर किन्ने भन्दै १९ महिनाअघि आफूलाई गैरआवासीय नेपाली (एनआरएनए) बताउने एक व्यक्ति कम्पनीमा भित्रिएको र रकम हिनामिना गरेको उनको आरोप छ । 

‘शो चलाउन आवश्यक परेको डेढ करोड तत्काल दिने र पछि मुनाफाको हिसाब आएपछि थप गरेर साढे तीन करोड पुर्याउने मौखिक भद्र सहमतिपछि कम्पनीको कागजपत्र उनकै वकिलले सेयर कित्ता बाँडफाड गरेर कम्पनी रजिस्ट्रारको कार्यालयमा अध्यावधिक गराएका थिए’, भण्डारीले भनेका छन्, ‘तर सिजन ३ सकिनासाथ मसँग कहिले पैसा आउँछ, म निस्किन्छु भन्ने बाहना बनाएर सम्झौताविपरित मलाई पैसाको लागि यातना दिन सुरु गर्न थालियो ।’

ती व्यक्तिले विभिन्न जालसाजी गरेर दुई करोड चार लाख रकम असुलेको भण्डारीको दावी छ । लेखेका छन्, ‘राज्य प्रशासनमा भएको ढोंगी पहुँचको दुरुपयोग गर्दै आफै सञ्चालक रहेको कम्पनीको चेक लगेर बैंकिङ्ग कसुरमा मेरा बिरूद्ध मुद्दा दायर गरेर मलाई दिनु दुख दिए र दबाबमा राखेर २ करोड ४० लाख असुले ।’

आफूले पनि ती व्यक्तिविरुद्ध काठमाडौँ प्रहरी परिसरमा अपराधिक लाभको कसूरमा जाहेरी दिएको, तर हालसम्म कारबाही प्रक्रिया अघि नबढेको भण्डारीले जानकारी दिएका छन् । ‘जति गरे पनि उसले लगेको पैसा फिर्ता नगर्ने र जबरजस्ती पेलेरै जाने नियत देखाएपछि मैले बाँकी सेयरधनीलाई सहमत गराएर उसले लगेको दुई करोड चार लाखमध्ये बढी गएको ९० लाख नेपाल सरकारको कम्पनी ऐन अन्तर्गत हुन आउने कर तिराएर मिलापत्र गर्ने सल्लाह भयो’, भण्डारीले भनेका छन्, ‘तर अझै पनि मिलापत्र गर्न नआउने, पैसा फिर्ता नगर्ने, मिलापत्र पनि नगर्ने, मुद्दाको पेशी पटक पटक सार्न लगाएर हैरानी दिने, कार्यक्रम रोक्न अहिले कम्पनीको खाता रोकाउन मुद्दा हाल्ने र धम्क्याउने काम भएपछि उसको निकृष्ट र घृणित व्यवहारको भण्डाफोर गर्न यसरी प्रस्तुत हुन बाध्य भएको हुँ ।’

उक्त कार्यक्रम रोकिँदा कलाकार र प्राविधिकसहित एक सयभन्दा बढी व्यक्तिको रोजगारी गुम्ने भण्डारीको भनाई छ । उक्त झमेला सल्टाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘उसले मलाई र मैले दुखले स्थापना गरेको कम्पनीलाई बर्बाद पार्न लागेको आभाष हुँदैछ । सय जनाको रोजगारी, दैनिकी र भविष्यको प्रश्न छ । सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो, हामी यहीँ देशमै बसेर दर्शक हसाँइरहन चाहन्छौँ ।’

निर्देशक भण्डारीले ती व्यक्तिको नाम भने खुलाएका छैनन् । दोष एक जना व्यक्तिको भएको र नाम तथा फोटो सार्वजनिक गर्दा उसको परिवार समेतलाई नकारात्मक असर गर्ने उनको तर्क छ ।

टिप्पणीहरू