घिउ बेचुवा र तरबार बेचुवाबीच सेयर बाँडफाँड

घिउ बेचुवा र तरबार बेचुवाबीच सेयर बाँडफाँड

टेलिभिजन शो ‘कमेडी च्याम्पियन’को साढे दुई करोडसम्बन्धी लफडा थप चर्किएको छ । चार जना सेयरधनीमध्ये तीन जना विशाल भण्डारी, सगुन पाण्डे र हिरण बस्नेत एकातिर देखिएपछि हरि भट्टराई एक्लो बनेका हुन् । 

कार्यक्रम निर्देशक समेत रहेका भण्डारीले हिजो बिहान लामो स्टाटस लेख्दै एक गैरआवासीय नेपालीबाट दुई करोड ४० लाख ठगिएको जानकारी दिएका थिए । उनले नाम नखुलाए पनि ती व्यक्ति गैरआवासीय नेपाली संघ, मलेसिया शाखाको सस्दय भट्टराई रहेको खुलिसकेको छ । 
भण्डारीको स्टाटसपछि भट्टराईले पनि विभिन्न मिडियामा आफ्नो लगानी मात्र फिर्ता मागेको प्रतिक्रिया दिएपछि विवाद झन् बढेको हो । ०८० चैत ९ गते कम्पनीको गाडी दुर्घटना भएपछि आफू अलग्गिन खोजेको भट्टराईको प्रतिक्रिया छ । निर्देशक भण्डारीकै लापरवाही (मदिरा सेवन)ले गाडी दुर्घटनामा परेको र घाइतेहरुको उपचार खर्च पनि कम्पनीले व्यहोर्नु परेपछि आफू कम्पनीबाट निस्किएको उनको भनाई छ । 

यता भट्टराईको प्रतिक्रियासँगै कमेडी च्याम्पिनले टिमले पनि मलेसिया बसेर ठूला कुरा नगर्न चेतावनी दिएको छ । हिजो भण्डारीले आफ्नो व्यक्तिगत फेसबुक अकाउण्टबाट घटनाको उजागर गरे पनि आज भने कमेडी च्याम्पियनको आधिकारिक अकाउण्टबाट यस्तो जवाफ सार्वजनिक भएको हो । यसरी कमेडी च्याम्पियनको आधिकारिक अकाउण्टबाट जवाफ दिनुले तीन सेयरधीको एकै मत रहेको बुझिन्छ । 

‘तपाईं (भट्टराई) कम्पनीमा प्रवेश भएको दिनदेखि अहिलेसम्म कार्यालयमा एकपटक पनि उपस्थिति नभएको कुरालाई हामी बेवास्ता गर्न सक्दैनौं’, कमेडी च्याम्पियनले भनेको छ, ‘तपाईं कुन नैतिकता र आधारमा भन्न सक्नुहुन्छ कि दुर्घटनाको सम्पुर्ण खर्च थ्री प्रोडक्सनले व्यहोरेको हो ? के केवल अन्दाजको भरमा जो कोही जे पनि भन्न सक्छ ? यही आधारमा तपाईंले प्रहरीलाई समेत भ्रममा पार्नुभयो ।’

दुनियाँलाई भ्रममा पार्नुभन्दा प्रहरी वा अदालतमा उपस्थित भएर हिसाब मिलाउन पनि कमडी च्याम्पियनले आग्रह गरेको छ । ‘हामी स्पष्ट रुपमा भन्छौं, दुई करोड ४० लाख कम्पनीबाट तपाईंले लैजानुभएको डेढ करोड (लगानी) लैजानुहोस्, तर नब्बे लाख फिर्ता गर्नुहोस् । तपाईकै लेखापालबाट अडिट गरेर रकम निर्धारण गरौँ’, आग्रह छ । 

भट्टराई मिलापत्र गर्न नआएमा प्रहरीलाई भए पनि खोज्न लगाउने समेत कमेडी च्याम्पियन परिवारको चेतावनी छ । भनिएको छ, ‘हाल प्रहरीमा अनुचित लेनदेनसम्बन्धी मुद्दा पनि दर्ता भइसकेको छ। यदि मेलमिलाप गरेर गएको पैसा फिर्ता आएन भने कानुनी रूपमा प्रहरीले मुद्दा अघि बढाउनेछ, र हामी हाम्रो टिमसँग नयाँ सुरुवात गर्न चाहन्छौं।’

यसैबीच पछिल्लो समय कमेडी च्याम्पियनलाई कलाकार र प्राविधिकलाई तलब खुवाउन हम्मे–हम्मे परेको बुझिएको छ । हाल कार्यक्रम उत्पादनको लागि सयभन्दा बढी कर्मचारीले काम गरिरहेकोमा सबैलाई तलब खुवाउन मासिक रुपमा लाखौँ आवश्यक पर्छ । तर पछिल्लो समय कार्यक्रम नै आर्थिक संकटमा परेको निर्माण टिमका एक सदस्यले जानकारी दिए ।

टिप्पणीहरू