तीजमा छड्के तिलहरीसँगै छड्के कपाल

तीजमा छड्के तिलहरीसँगै छड्के कपाल

नजिकिँदो तीज पर्वलाई लक्षित गरेर बजारमा गीत ल्याउने क्रम शुरु भएको छ । हिन्दु नारीको महान् पर्व तीज पर्वसँगै नेपाली सांगीतिक बजारमा उत्साह थपिरहँदा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको ‘छड्के कपाल किन कोरेको’ गीतले चर्चा पाएको छ । 

केही दिनअघि मात्रै सार्वजनिक भएको उक्त गीतले दर्शकको मन जित्न सफल भएको बताइन्छ । छोटो समयमै गीतले युट्युब, फेसबुक रिल्स र टिकटकमा ठाउँ बनाएको दाबी छ । परम्परा, नारी सशक्तिकरण र सांगीतिक सौन्दर्यको त्रिवेणीलाई संयोजन गर्ने यो गीतले आजका युवा पुस्तासँगै ग्रामीण महिलाहरुको मनोभाव बोकेको छ ।

गीतमा खनालसँगै गायिका राधिका हमालको स्वर सुन्न सकिन्छ । साथमा दिपेश बिष्ट, कृष्ण खत्री, रश्मी भुजेल र कल्पना मल्लको सहायक स्वरले गीतलाई अझै समृद्ध बनाएको छ । शब्द, संगीत र स्वर खनालकै हो भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन् । 

सांगीतिक साधनामा दुई दशकदेखि सक्रिय मोतिराज खनालले यो तीजमा आफ्ना दर्शक–श्रोतामाझ तीजको मौलिकतासँगै भिन्नै स्वाद प्रस्तुत गरेका हुन् । जति सुन्यो त्यति सुन्न मन लाग्ने खालको लय र शब्दले गीतलाई माथि उचालेको छ । 

छाडा र उत्ताउला गीत बनाएमात्र चल्छ भन्ने नराम्रो मानसिकताबाट ग्रसित जमातले खनालको सिर्जना सुनेर मनन गर्नुपर्ने देखिएको छ । खनालको ‘सुपा देउराली’ भजन पनि दर्शकले अत्याधिक रुचाएका थिए । आफ्ना दर्जनौं गीत सांगीतिक बजारमा कालजयी बनेको उनको दाबी छ ।

टिप्पणीहरू