एक कविका हज्जारौं कामुक प्रेमपत्र
‘ ... त्यस्ता क्षणमा मलाई फोहोरी तरिका मन लाग्छ, तिम्रो तातो र कामुक ओंठले मलाई चुसेको महसुस गर्न, तिम्रा दुई गुलाबी टुप्पा चुस्न, तातो गाला चुम्न र तिमीलाई रिस उठाउन मन लाग्छ ।’
– १६ डिसेम्बर १९०९, डब्लिन
प्रिय, तिमीले हिजो पठाएको अद्भूत पत्रको लागि माफी माग्न आज यो पत्र लेख्दै छु । तिम्रो पत्रमा लेखिएको एउटा निश्चित शब्दमा आँखा गयो । जसमा केही अश्लील र बिचित्र कुरा छ । मैले लेखेको कुराले तिमी दुःखी नबन । मैले दिएको सुन्दर नामको लागि धन्यवाद दियौ । म तिमीलाई एउटा सुन्दर किताब दिनेछु, यो कविको उपहार हो जसलाई ऊ माया गर्छ । तर, तिम्रालागि मैले महसुस गरेको यो आध्यात्मिक प्रेमभित्र, एउटा जंगली जनावर पनि छ जसले उसको हरेक गोप्य र लज्जास्पद अंग, उसको हरेक कार्य र गन्धको खोजी गर्छ । तिमीप्रतिको प्रेमले मलाई तिम्रो आँखामा देख्ने अनन्त सौन्दर्य र कोमलताको अनुभूतिका लागि प्रार्थना गर्न वा सुँगुर चढेको जस्तो, तिम्रो नितम्बबाट निस्किरहेको दुर्गन्धमा, फेरिएको लुगा र प्यान्टीको नाङ्गो लाजमा, गुलाबी गालामा र छरिएको कपालको गुच्छामा गौरवान्वित हुन्छु म ।
मलाई कुनै धुन वा संगीतको लयमा तिम्रो दया र प्रेममा डुब्न वा तिम्रो खुट्टामा टाउको राखेर, पुच्छर पुच्छर सटाएर सुत्न, तिम्रा औंलाहरूको मेरो अण्डकोषमा काउकुती महसुस गर्न वा तिमीले मेरो नितम्बमाथि रगडेको महसुस गर्न दिन्छ । अनि तिम्रो जलिरहेको ओंठले मेरो ... चुस्दा, मेरो टाउको तिम्रो मोटो तिघ्राको बीचमा पुग्छ, मेरा हातहरू तिम्रो माथि उठेको नितम्बलाई स्याहार्न पुग्छ र मेरो जिब्रोले तिम्रो मोटो र रातो ... बेस्सरी चाट्न पुग्छ । अनि तिम्रो चित्कार सुनेर लगभग बेहोस भएको, मेरो ओंठ र जिब्रोले फोहोरी इशारा गर्न उक्साइरहेको कल्पना गर्दैछु । अश्लील र मायालु स्वर अनि मेरोसामु सबैभन्दा फोहोरी र लज्जास्पद तिम्रा चालहरू । तिमीले त्यो दिन सम्झेकी छौ जुन दिन सबै लुगा उतारेकी थियौ र मलाई मुनि पल्टिन भनेकी थियौ । यस्तो हिम्मत कहाँबाट आयो त्यो दिन जबकि तिमी मलाई सीधा हेर्नसमेत लजाउँथ्यौ । तिमी मेरी हौ, सिर्फ मेरी ! म तिमीलाई प्रेम गर्छु । माथि मैले जे–जति लेखें नि त्यो क्षणिक पागलपन हो । वास्तवमै यो मेरो तिमीप्रतिको साँचो प्रेम, मेरो लयबद्ध काव्यात्मिक प्रेम, मेरो आँखाको माया हो ।
नोरा, मेरी कर्तव्यपरायण प्रियतमा, मलाई जिस्कन आउने मेरी प्यारी–प्यारी स्कूले छात्रा, मेरी प्रेमिका कुकुर्नी, तिमी मेरो सधैंका लागि जंगली फूल हौ, बर्षातको पनीमा निथ्रुक्क भिजेको नीलो फूल हौ ।
– सन् १९०९ को २ डिसेम्बर, ४४ फोंटेनाय स्ट्रिट, डबलिन ।
आफ्नी प्रेमिका नोरा बर्नाकलको नाउँमा अत्यन्त कामुक र छाडा कुरो लेख्ने कवि थिए जेम्स जोयस । जेम्सले यस्तै शब्द र वाक्य प्रयोग गरेर नोरालाई ३ हजार ७ सय ९३ वटा प्रेमपत्र लेखेका छन्् । नोराले कति पत्र लेखिन् त्यसको भने अभिलेख छैन । जेम्सका पत्रहरू ‘डर्टी लेटर्स’का नाउँमा प्रकाशित छन् । जेम्सले उल्लेख गरेका शब्दहरू हुबहु पस्किन मिल्ने खालकै छैनन् अर्थात त्यति धेरै भद्दा, कामुक, फोहरी र खुला यौनिक छन् । जेम्सको निम्ति नोरा ‘अ डर्टी लिटल फकबर्ड’ (जो बराबर सम्भोगरत रहन्छन्) हुन्, उनले पत्र लेख्दा नोरालाई यही शब्दले संबोधन गर्ने गर्थे । यसबाहेक प्यारी सानी छात्रा, प्यारी सानी बेश्या आदि शब्द प्रयोग गरेको पनि पाइन्छ । जेम्स र नोराको प्रेम करिब २७ वर्ष चल्दा यी पत्रहरू यसै अवधिमा लेखिएका हुन् । पछि उनीहरू विवाह बन्धनमै बाँधिए । तर, १० वर्षमै जेम्सको मृत्यु भयो । नोराले १० वर्ष बिधवाको जीवन बिताइन् र सन् १९५१ मा बितिन् ।
जेम्स विश्वप्रसिद्ध आइरिस उपन्यासकार, कथाकार तथा कवि थिए । ‘स्ट्रिम अफ कन्ससनेस’ लेखन पद्धतिको विकास गरेका उनलाई पश्चिम साहित्यमा चलेको आधुनिकतावादी आन्दोलनको प्रभावशाली अभियन्ता पनि मानिन्छ । बीसौं शताब्दीको महत्वपूर्ण लेखकका रूपमा प्रसिद्धि कमाएका उनका सर्वाधिक लोकप्रिय कृति ‘डुब्लिनर्स’ र ‘उलिसस’ हुन् । ‘उलिसस’ उनले प्रथम विश्वयुद्धताका ज्युरिचमा बसेर लेखेका थिए । युद्ध समाप्तिपछि पेरिस फर्केर १९२२ मा प्रकाशन गरे । तर, यो उपन्यासलाई अश्लील ठहर गर्दै अमेरिका र ब्रिटेनले प्रतिबन्ध लगाए । तैपनि तस्करीमार्फत ती मुलुकमा लगिए । सन् १९३९ सम्म अवैध तवरमै यसको संस्करणहरू छापिँदै गए । यो कृति विश्व साहित्यमा उत्कृष्टमध्येकै मानिन्छ । उनका उलिससलगायत ५ वटा उपन्यास, ३ वटा कथासंग्रह, ४ वटा काब्य संग्रह, एउटा नाटक र ६ वटा गैरसाहित्यिक पुस्तक प्रकाशित छन् जसमा ४ वटा त पत्रहरूकै संग्रह हुन् ।
आयरल्याण्डको राजधानी डब्लिनस्थित मध्यमवर्गीय परिवारमा जन्मेका उनीद्वारा लिखित पहिलो काब्य संग्रह ‘च्याम्बर अफ म्युजिक’ सन् १९०७ मा प्रकाशित भएको थियो जतिखेर उनी २५ वर्षका थिए । जेम्स र पछि उनको जीवनसंगिनी बनेकी नोराको भेट पहिलो पल्ट सन् १९०४ मा डब्लिनकै नासाउ सडकमा जुन १६ को दिन भएको थियो । नोरा पनि आइरिश नै थिइन् । महत्वपूर्ण कुरा, उलिसस उपन्यास नोराकै परिकल्पना देन थियो । पहिलो भेटमा केही गफगाफ भयो, एकले अर्कोलाई वासनायुक्त नजरले हेरे । अनि अर्को दिन भेट्ने तय भयो । २२ वर्षीय जेम्स निर्धारित समयभन्दा अगावै पुगे, निकै बेर पर्खे तर २० वर्षीया नोरा पुगिनन् । केही दिनपश्चात् भेट भयो फेरि । त्यसपछि भने दिनहुँ नगरबाहिर गफिँदै हिँडेरै घुम्ने, मौका मिल्नेबित्तिकै अँगालो मार्ने, म्वाइँ खानेलगायत यौनजन्य हर्कत गर्न थाले । जेम्स नोराको प्रशंसा गरेर थाक्दैनथे भने नोराले पनि जेम्सलाई अगाध प्रेम र विश्वास गर्न थालिन् । नतिजा, नोरा जेम्ससँग ज्युरिच, पेरिसजस्तो शहर घुम्न जान राजी भइन् । इटलीको ट्रिष्टीमा रहँदा नोरा पहिलोपटक आमा बनिन् सन् १९०६ मा । अर्को वर्ष फेरि सन्तान जन्माइन् । पहिलो छोरो र पछि छोरी । सन् १९०८ मा गर्भपतन भयो । स्मरणीय छ, उनीहरूले औपचारिक तवरबाट सन् १९३१ मा मात्र बिहे गरेका थिए ।
तेस्रो गर्भाधानसँगै कठिन दिन शुरु भइसकेका थिए तर नोरा हरेक क्षण जेम्सको साथ रहिन् । जबकि त्यसबेलासम्म जेम्सको आनीबानी देखेर नोराले वाक्कदिक्क मान्न थालिसकेकी थिइन् । उनले दिदीलाई पत्र लेखेर जेम्सको सिकायत गर्थिन् । जेम्सले अत्यधिक मादकपदार्थ सेवन, बाहिर अन्य युवतीसित सहवास गर्दै हिँड्नाले पैसाको सत्यानाश भइरहेको, आफूसँग नबसी भाइहरूको घरमा सुत्न जाने गरेको पत्रमार्फत जानकारी दिन्थिन् । उल्टै आफूमाथि धोका दिएको आरोप लगाउने गरेको, जेम्सको साहित्य अर्थहीन र कमजोर हुँदै गइरहेको गुनासो दिदीलाई सुनाउँथिन् । यसको बावजुद उनी बाहिर भने आफ्नो लोग्नेप्रति अत्यन्तै गर्व गर्छु भनी हिँड्थिन् । कहिलेकाहीँ अधीरता व्यक्त गर्थिन् र स्विकार्थिन् कि उनी लेखकको सट्टा संगीतकार बनेको भए अधिक रुचाउने थिएँ – जेम्स एक प्रतिभाशाली गायक पनि थिए ।
सन् १९३० को दशकको शुरुवातमा छोरी लुसियामा मानसिक रोग देखापरेपछि यसैलाई लिएर ठाकठुक पर्न थाल्यो । नोरा लुसियालाई अस्पताल भर्ना गर्न भन्थिन् भने जेम्स मान्दैनथे । धेरैपछि अस्पताल लगियो । जेम्स छोरीलाई हेर्न अस्पताल जान्थे तर नोरालाई भेट्दैनथे । यहाँसम्म कि जेम्स छोरीको स्वास्थ्यमा सुधारको लागि प्रार्थना गर्न हरेक आइतबार चर्च जान्थे तर नोरालाई नआउनू भनी रोक्थे । यसरी उनले पत्नीलाई छोरीको सम्पर्कबाट टाढा राख्न खोजे ।
पछि जेम्स आफ्नो भाइ सालिनसकै घरमा बस्न गए । उनी लेखनबाहेक शिक्षण पेशामा पनि आबद्ध थिए । नोराले भने धेरै नपढेकीले काम पाउन सकिनन् । हरेक महिना कोठाभाडा तिर्न नोरालाई ४ पाउण्ड पठाउँथे । र, हरेक पटक पैसा प्राप्त गरेपछि नोरा भन्थिन् – म तिमीसितै बस्न चाहन्छु । जेम्सका कामुक पत्रहरूको संग्रह सन् १९५७ पछि लगातार प्रकाशन हुन थाल्यो सन् २००४ मा ती पत्र लिलामी भए । एउटा पत्र त २ लाख ४० हजार ८ सय पाउण्डमा बिक्री भयो । जेम्स र नोराका नाति स्टेफन जोयसलगायत परिवारजनले भने बेइज्जत भएको महसुस गरे ।
टिप्पणीहरू