घातक रोग निको पार्ने नाममा नक्कली औषधिकाे बिगबिगी
घातक रोग निको पार्ने नाममा नक्कली औषधि बिक्री हुँदै आएको खुलासा भएको छ। औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा यस्ता औषधिहरू अवैधानिक रूपमा उत्पादन, वितरण र प्रचारप्रसार गरिएको पाइएको हो।
विभागका अनुसार मोटोपन घटाउने, मधुमेह, प्रोस्टेट, थाइराइड, युरिक एसिड, क्यान्सर निको पार्ने तथा यौनशक्ति बढाउने र जाँड–रक्सी छुटाउने दाबी गर्दै बजारमा नक्कली औषधि बिक्री भइरहेको भेटिएको हो।
अनुगमनका क्रममा विभागले नौ प्रकारका औषधि तथा स्वास्थ्य सामग्री जफत गरेको छ। तीमध्ये डिफ्यूजल एल, कायाप्लस, पारस हेल्दी जीवन, बूजी, हर्ष पावर, प्लस स्टिप, डाइबेटिक कन्ट्रोल, पाउरुस जीवन र जिमनेमा स्ल्याइभेटे नामका सामग्री छन्।
विभागले यस्ता उत्पादन, ओसारपसार र बिक्री वितरण कार्य औषधि नियमावली विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको छ। साथै सामाजिक सञ्जालमा यस्ता भ्रामक र विज्ञापनजन्य सामग्री हटाउन पनि चेतावनी दिएको छ।
चिकित्सकको सिफारिसबिना प्रयोग नगर्न सुझाव
विभागले औषधि प्रयोग गर्दा चिकित्सकको सिफारिसअनुसार मात्र आधिकारिक फार्मेसीबाट खरिद गर्न आग्रह गरेको छ। यस्ता नक्कली औषधिले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै अंगभंग हुने, जटिल स्वास्थ्य समस्या निम्त्याउने जोखिम रहेको विभागको चेतावनी छ।
विभागले सर्वसाधारणलाई भ्रामक दाबी र विज्ञापनप्रति सचेत रहन, कुनै पनि रोग वा लक्षण देखिएमा चिकित्सकको परामर्श लिएर मात्र औषधि सेवन गर्न अनुरोध गरेको छ।
टिप्पणीहरू