सधैं झगडा गरेर त कसले के पाउनु छ र !
फाइल फाेटाे
कुरा समय सापेक्षित हुने रहेछ । हिजो कोसँग कस्तो सम्बन्ध र व्यवहार थियो भन्ने कुराले केही अर्थ नराख्ने रहेछ । एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वर्तमान सम्बन्ध र सहकार्यलाई खुट्याउने हो भने यो कुरा स्पष्ट हुन आउँछ ।
हिजोका पारस्परिक सहयोग र हार्दिकताले अहिले केही अर्थ राखेन । यदि विद्या भण्डारीको एमाले राजनीतिमा फिर्तीसम्बन्धी अध्यक्ष केपी ओलीले गरेको निर्णयमा उहाँ आफैंले पुनर्विचार गरे एउटा कुरा, अन्यथा जसले भित्तामा टाउको ठोके पनि केही नहुने स्थिति देखा पर्दै गएको छ । शुभचिन्तकहरूले पङ्गा नलिई पार्टी कमिटीभित्र बहुमत बनाउने, त्यसपछि अध्यक्ष केपी ओलीलाई भण्डारीमाथि धेरै पेलान भयो, त्यसरी जानु हुँदैन भन्दै सम्झाउनुपर्ने अवस्था देखिएको छ । अन्यथा एमालेभित्र यसले निकै ठूलो दरार पैदा गर्न सक्ने सम्भावना छ ।
किनभने ओलीकै कार्यकालमा उनको इच्छाविपरीत पार्टीमा बस्छु र आफूले चिताएजसरी काम गर्छु भन्नेहरूको भलो हुने अवस्था नै छैन । त्यसैले टर्रो बोली व्यवहारबाट पैदा हुने तिक्ततापूर्ण सम्बन्धलाई सुधार्नका लागि दुवै पक्षले विशेष ध्यान दिनुको विकल्प छैन । सैद्धान्तिक सहमति वा विमति एउटा कुरा, विधान महाधिवेशनको तयारीमा सबै जुट्नु बेस् ।
त्यसो त भण्डारीले एमाले पार्टीको सदस्य हुनमा गौरव गर्छु भन्नु अर्थपूर्ण र जायज कुरा हो । सदस्यता अस्वीकृतिपछिको पत्रकार सम्मेलनमा प्रस्तुत नरम शैलीले पनि धेरै अर्थ राख्छ । तर दुवै नेतालाई जुधाएर दुनो सोझ्याउने मनसाय कसैले राखेको छ भने त्यो घातक हुन सक्ने कार्यकर्ताहरु बताउँछन् । पार्टीमा विद्या भण्डारी नआउँदाखेरि जनमत बिग्रने, मास फ्रस्ट्रेशन हुने वा मिसन २०८४ पूरा गर्न निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउने खतरा एकातिर छँदैछ । एमाले संस्थापनले बडो चलाखीपूर्वक भण्डारीको सदस्यता खारेज नभनीकन राजनीतिमा नआउन आग्रह गर्ने भनेको छ । ठाडै खारेज भन्न सकेको छैन । खारेज गर्दा त कारण दिनुपर्यो । दुई वर्षअघि के कारणले सदस्यता नवीकरण गरियो, अहिले किन खारेज भनियो, सबै हिसाब देखाउनुपर्ने हुन्छ । यी सबै विषयमाथि वैधानिक ढंगले सोचविचार छलफल गरी एउटा निश्कर्षमा नपुगी त कसैलाई पनि सुखै छैन ।
एमालेका आम कार्यकर्ताले अध्यक्ष केपीले आफ्नो निर्णयमाथि पुनर्विचार गर्ने र पार्टीलाई एकताबद्ध बनाएर मास फ्रस्टेशन हुनबाट जोगाउने अपेक्षा राखेकै देखिन्छ । भण्डारी समर्थकहरूले पनि अध्यक्ष ओलीसँग झगडा गर्दा पाउने भनेको तिक्तता मात्रै हो । मन नपरेकाको सदस्यता खाइदिनु एमालेको रोगै हो । माले–एमाले फुटेर फेरि मिल्दा पत्रकार किशोर श्रेष्ठ र कैलालीकै पूर्वसांसद हिमाञ्चलराज भट्टराईको सदस्यता नवीकरणमा रोक लगाइएको थियो । जसलाई पछि स्थायी समितिले निर्णय गरेर बल्ल फुकुवा गर्नुपर्यो ।
टिप्पणीहरू