कैदी सुरक्षित, कारागार असुरक्षित
२०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर आठ कैदी फरार भएका थिए । त्यसअघि २०६३ पुसमा पनि त्यही कारागारबाट सुरुङ खनेर सात जना कैदी भागेका थिए । २०६४ सालमा सुरुङ खनेर भाग्ने योजना असफल भएपछि त्यसै कारागारभित्रै एक चौकीदारको हत्या गरिएको थियो । यस्ता स–साना सुरक्षा चुनौती कपिलवस्तु कारागारका लागि नयाँ होइनन् । केही वर्षयता अवस्था सामान्य देखिए पनि विगत दुई वर्षदेखि कारागार पुनः असुरक्षित देखिएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेराभित्र रहेर पनि कारागार प्रशासन कैदीबन्दीको प्रभावमा चल्न थालेको आरोप लाग्दै आएको छ । कारागार ऐन, नियमावली, कार्यविधि र सुरक्षा मापदण्डलाई बेवास्ता गर्दै चौकीदार नियुक्त गर्न थालिएपछि चरम असुरक्षा र बेथिति बढेको हो । तौलिहवास्थित कपिलवस्तु कारागारमा दुई ब्लकमा गरी ४४८ जना कैदीबन्दी छन् । १ नम्बर ब्लकका चौकीदार राजु भनिने प्रेमनाथ त्रिपाठीले समग्र कारागार आफ्नो नियन्त्रणमा लिएको दाबी कारागारमै कार्यरत सुरक्षाकर्मीहरूले गरेका छन् ।
कारागारका नासु रेशमलाल भुसालसँगको मिलेमतोमा त्रिपाठी तीन पटक चौकीदार भएका छन् । उनी केवल आफू मात्र होइन, अर्को ब्लकमा समेत आफ्ना समर्थक कैदीलाई चौकीदार बनाउने गरेका छन् । त्रिपाठीका विश्वासिला पात्र दामोदर थारु दुई नम्बर ब्लकका चौकीदार र ‘आउटडोर’ भन्दै बाहिर निस्कने, आर्थिक कारोबारसमेत गर्ने गरेका छन् ।
मोबाइलको छ्यापछ्याप्ती
प्रशासनका लागि प्रलोभन तयार गरी आफ्नो हैकम जमाउँदै आएका चौकीदारहरूकै कारण कारागार सुरक्षा चुनौतीमा परेको हो भन्ने आरोप छ ।
कैदीबन्दीको परिवार तथा मुद्दासँग जोडिएका विषयमा सुविधा दिन प्रशासनले कारागारभित्र एउटा टेलिफोन राख्न मिल्ने व्यवस्था गरेको हो । तर चौकीदार त्रिपाठी र थारुले १ नम्बर ब्लकमा सात वटा र २ नम्बर ब्लकमा आठ वटा मोबाइल चलाउन दिएको सुरक्षा स्रोतको दाबी छ । तीमध्ये नौ वटा एन्ड्रोइड र छ वटा सामान्य सेट हुन् ।
चौकीदार त्रिपाठीले ९८६७२२५### र थारुले ९७०१६५४### नम्बर प्रयोग गर्दै आएका छन् । उनीहरूले कैदीलाई फोन गर्न प्रति मिनेट तीन रुपैयाँ र भिडियो कलका लागि पाँच रुपैयाँ शुल्क लिने गरेका छन्, जुन कार्य कारागार प्रशासनको पूर्वस्वीकृति वा अनुमति बिना भइरहेको बताइन्छ ।
‘हामी ड्युटीमा व्यस्त, उनीहरू भिडियो कलमा मस्त,’ एक प्रहरी कर्मचारीले भने, ‘मोबाइल प्रयोग अत्यधिक भएकाले कारागारभित्रको भौतिक संरचना र सुरक्षा अवस्था सबै बाहिर चुहिने गर्छ । यसले थप सुरक्षा चुनौती थपेको छ ।’

ऐनविपरीत चौकीदार नियुक्ति
कपिलवस्तु कारागारमा विगत तीन वर्षदेखि कारागार ऐन तथा नियमावली विपरीत चौकीदार नियुक्ति हुँदै आएको बताइन्छ । कारागार ऐन २०७९ को दफा ५४ (१), नियमावलीको दफा २४, कार्यविधिको दफा ७, तथा नियम २९ अनुसार कर्तव्य ज्यान, लागुऔषध, बलात्कार, मानव बेचबिखन, कैदी भगाएको, भन्सार चोरी, भ्रष्टाचारलगायत गम्भीर अपराधमा दोषी ठहरिएका कैदीलाई चौकीदार बनाउन पाइँदैन ।
तर आर्थिक वर्ष २०८१/८२ मा चौकीदार नियुक्त प्रेमनाथ तिवारी बलात्कार मुद्दामा सजाय पाएका कैदी हुन् । २०८२/८३ मा दुवै ब्लकमा चौकीदार बनेका दामोदर थारु र तौलेश्वर कहाँर पनि बलात्कार मुद्दाका दोषी हुन् । त्यसपछि २०८३/८४ मा पुनः बलात्कार मुद्दामा सजाय पाएका तिवारी तथा सद्दाम मुसलमानलाई चौकीदार बनाइएको छ ।
एकपटक चौकीदार भइसकेकालाई पुनः सोही जिम्मेवारी दिननहुने व्यवस्था पनि ऐनमा प्रष्ट उल्लेख छ । तर नायव सुब्बा भुसालकै चलखेलमा तिवारी र थारु पटक–पटक चौकीदार भएका हुन् । विगत ४ वर्षदेखि कारागारमै रमाइरहेका भुसाल अन्यत्र जान नचाहनुले पनि अनेक आशंकालाई बढाएको छ ।
केही दिनअघि निमित्त जेलर भएको बेलामा चौकीदार तिवारीसँग मिलेर कैदी धिरज गैरैलाई फसाउन नक्कली ब्राउन सुगर राखेको आरोप पनि उनीमाथि लागेको थियो । सोही प्रकरणमा छानबिन समितिले भुसाललाई सचेत गराउन सिफारिस गरेको थियो ।
कारागारमा ‘आउटडोर’ आतंक
कारागार ऐन २०७९ को दफा ५४ (१) मा चौकीदार, नाइके र सहनाइके मात्र तोक्न मिल्ने व्यवस्था छ । तर ऐन, नियमावली र कार्यविधिले नचिनेको ‘आउटडोर’ नामको पदमार्फत कैदीहरू निडर रूपमा कारागारबाहिर घुमिरहेको पाइन्छ । उनीहरु प्रशासनिक कार्यमा समेत संलग्न हुने गरेको स्रोतको दाबी छ ।
गत आर्थिक वर्षमा चौकीदार नभएका तिवारी ‘आउटडोर’ भन्दै बाहिर घुमिरहेका थिए । त्यतिबेला तौलेश्वर कहाँर चौकीदार थिए । अहिले २ नम्बर ब्लकमा सद्दाम मुसलमान चौकीदार रहेको तर अघिल्लो वर्ष चौकीदार रहेका थारु ‘आउटडोर’ भन्दै हिँडडुल गरिरहेको भेटिन्छ ।
‘आउटडोर’ नाममा हैकम चलाउँदै आएका उनीहरूले कारागारभित्रको चामल बाहिर बिक्री गर्ने, प्रतिबन्धित सुर्तिजन्य पदार्थ बिक्री गर्ने र त्यसबाट उठेको रकमको केही अंश कारागार प्रशासन तथा सुरक्षामा खटिएका प्रहरी प्रमुखसम्म भाग लगाउने गरेको स्रोत बताउँछ ।
प्रशासनको अनभिज्ञता ?
कारागारभित्र र बाहिर भइरहेका गतिविधिबारे कारागार प्रशासक रेमलाल न्यौपानेले अनभिज्ञता जनाएका छन् । ‘कैदीबन्दीलाई सुविधा दिन फोन व्यवस्था गरिएको हो, तर त्यसको शुल्कबारे थाहा छैन,’ उनले भने , ‘चौकीदारलाई हामीले प्रशासनिक समन्वयका लागि मात्र प्रयोग गर्छौं, अरु जानकारी छैन ।’
टिप्पणीहरू