कर्णालीसम्मै एमाले अखिलका समानान्तर कमिटी
‘हाँडीगाउँको भन्दा रमाइलो जात्रा हाम्रो संगठनमा छ ।’ अखिलका एक सचिवालय सदस्य बागमती करिडोरस्थित डाउन एण्ड डक्समा बसेर भदौ १ गते दिउँसो ३ बजे नेतृत्वमाथि भडास पोख्दै थिए । २४ औं महाधिवेशनपश्चात् साउन १६ मा सर्कुलर जारी भएसँगै संगठनमा विवादले चरम रूप लिन खोजेको हो । डा. सुजन कडरियाको काम गर्ने अत्यधिक ऊर्जा भए पनि, अनुभव नभएको, कार्यकर्तासँग राम्रोसँग चिनजान र क्षमता पहिचानमा कमी देखिँदा सर्कुलरमा पूर्वमहासचिव नरेश रोकायालगायत केही नेताले उपाध्यक्ष विकास श्रेष्ठमार्फत खेल्न थालेको, महासचिव दीपक धामीको साइनो तलसम्मै रहेको हुँदा सोहीबमोजिम जिम्मेवारी दिइएपछि विवाद चुलिएको बताइन्छ ।
अखिल गण्डकी प्रदेशको अध्यक्ष थिए गोरखाका प्रबिण श्रेठ । ३२ वर्षको हदबन्दी लागेपछि केन्द्रीय सर्कुलर आउनुअगावै सचिव सुरज सापकोटालाई संयोजक बनाएको सर्कुलर पठाए । २ उपाध्यक्ष हुँदाहुँदै सचिवलाई संयोजक बनाए भन्दै अर्को पक्ष असन्तुष्ट थियो । केन्द्रले सुसन घिमिरेलाई संयोजक बनाएर पठाएपछि सापकोटा पक्ष बिच्केको हो । प्रवीण श्रेष्ठ र सुरज सापकोटा प्रकाश पौडेलनिकट हुन् । सुजनले प्रकाशलाई ७ मतले पराजित गरेपछि गण्डकीमा थप किचलो भएको हो । अहिले एउटा पक्षले अर्को पक्षलाई स्वीकार गर्न नसक्ने अवस्था छ । केही दिनअघि सुरजले बागलुङमा आफ्नो अध्यक्षतामा विस्तारित बैठक राखेका थिए । सो बैठकमा गण्डकी प्रदेशका ११ मध्ये ८ जिल्ला अध्यक्षहरू सहभागी रहे ।
अनेरास्ववियु केन्द्रीय कमिटीले साउन १६ गते जारी गरेको सर्कुलरमा कार्यविभाजन गर्दा पक्षधरता देखाएको भन्दै कर्णालीमा निवर्तमान महासचिव नरेश रोकाय पक्षधरले समानान्तर कमिटी बनाएका हुन् । संयोजकमा सञ्जय योगी र सहसंयोजकमा धर्म शाहीलाई राख्दै नयाँ कमिटी घोषणा भएको छ । केन्द्रीय सचिवालय सदस्य अक्कल सिजापति, प्रतिमा खड्का र विराज भण्डारी, केन्द्रीय कमिटी सदस्य प्रकाशमान सिंह, रत्ननाथ योगी र सञ्जिता साह, दैलेखको जिल्ला कमिटी अध्यक्ष इञ्जिनियर झलक खड्का, सुर्खेत अध्यक्ष प्रतीक शाहीले योगीको संयोजकत्वमा नयाँ कमिटी बनाउनमा कस्सिएका थिए ।
टिप्पणीहरू