अनि सबका सामु रुन थाले माओ
पृथ्वीमा गड्याङगुडुङ आँधी चल्यो,
सेता हाडहरूको रासबाट दैत्य उठ्यो ।
भ्रान्त भिक्षुलाई त शिक्षा दिन सकिन्छ,
अत्याचारी दैत्यले भने उत्पात अफाल्नैपर्छ ।
सुनौलो बाँदरले रिसमा अज¨को लौरो के हल्लायो,
रत्न समानको गगनमण्डल धूलोबाट साफ भयो ।
दैत्यले छोडेको कुहिरो आज पनि फेरि उठिरहेकै छ,
अनौठो काम गर्ने सुन उखुङलाई हामीले अभिवादन गर्नै पर्छ ।
मोरो (को मोजो) लाई चिनियाँहरू शिष्टाचारपूर्वक तिङताङ नाउँले सम्बोधन गर्ने गर्छन् । चिनियाँ कवि, इतिहासकार, लेखक, पुरातत्वविद् पनि हुन् । गीति र काव्य संग्रह, कथा, नाटक, उपन्याससहित २ दर्जन पुस्तकमध्ये चाओ याङसित मिलेर प्रकाशित ‘लालझण्डाको गाथा’ ले उनलाई कम्युनिष्ट कला र साहित्यिक क्षेत्रमा निकै लोकप्रिय बनायो । उक्त पुस्तक सन् १९५९ मा प्रकाशित भएको हो । माथि उल्लिखित कविताको शीर्षक थियो– को मोरोलाई जवाफ । सन् १९६१ मा चिनियाँको राष्ट्रिय दिवसका उपलक्ष्यमा बेइजिङमा ‘दैत्यलाई पराजित गर्ने बाँदर’ शीर्षक ओपेरा मञ्चन गरिएको थियो । ओपेरा हेरिसकेपछि को मोरोले सोही शीर्षक राखेर आलोचनात्मक कविता लेखे । उनको कविता पढिसकेपछि माओले को मोरोलाई सन् १९६१ को नोभेम्बरमा जवाफी कविता तयार पारेका हुन् ।
ओपेरा सोह्रौं शताब्दीका साहित्यकार ऊ छङ आनको पौराणिक उपन्यासमा आधारित थियो । उपन्यास चिनियाँहरूले त्रिपिटक मान्दै आएका बौद्ध भिक्षु स्वायन चुआन उर्फ हुयनसाङद्वारा वर्णित विवरणमा आधारित थियो । उपन्यासमा सुनौलो बाँदर सुन उखुङ र बौद्ध भिक्षुको प्रसंग उल्लेख छ । माओ आफैँ एक सिद्धहस्त कवि हुन् । थुप्रै कविता लेखेका छन् । उनले सन् १९६३ को जनवरीमा को मोरोलाई जवाफ शीर्षकमै अर्को पनि कविता लेखेका छन्् । सो कविताबारे शताब्दी पुरुष सत्यमोहन जोशीले ५ दशकअघि नै आफ्नो पुस्तक ‘माओ च तुङका कविताहरू’ मा विवेचना गरिसकेका थिए । १ सय २ वर्षको उमेरमा ३ वर्षअघि बितेका जोशीले पुस्तकमा माओका २९ वटा कविता र ती सबै कविताको पृष्ठभूमिसहित विवेचना गरेको पाइन्छ । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन पुग्दा उनले पनि माओका कविताको तारिफ गरेका थिए, माओकै सामु । यसको एक मात्र साक्षी अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर हुन् ।
वु सुजुन माओकी प्रमुख नर्स हुन् । जसले २१ वर्ष माओको सेवा गरिन् र सन् १९७४ मा चुंगनानहाइबाट बाहिरिइन् । सेवाबाट निवृत्त भए पनि बेलाबखत माओको हालचाल सोध्न गइरहन्थिन् । सन् १९७२ देखि नै अस्वस्थ हुन थालेका माओ सन् १९७६ बाट सार्वजनिक रूपमा देखापर्न छाडे । अस्वस्थताको बाबजुद नयाँ साल शुरु भएको अवसर पारेर निवासमा एउटा सानो रात्रिभोज आयोजन गरे । वु पनि पाहुना थिइन् । खानाअघि उनीहरूले एउटा सिनेमा हेरे । शीर्षक थियो– ‘सम्झनलायक एक संघर्ष’ । माओ सिनेमा हेर्नमा खास रुचि राख्दैनथे तर त्यो दिन हेर्न थाले । हुन त पछिल्लो दिनमा जनगणतन्त्र चीन बन्नुअघिका दिनहरूलाई बढी सम्झन थालेका थिए । सिनेमा हेर्दै माओ बरबर आँशु झार्न थाले । वुले माओ रोइरहेको देखिन् तर केही भन्ने आँट गरिनन् । अन्तिम–अन्तिम दृष्यमा चिनियाँ लालसेना शहर पसेको र तिनीहरूलाई स्थानीय जनताले भव्य स्वागत गरेको दृश्य आउँदा माओले वुसँग सोधे– ती विद्यार्थीको भीडमा तिमी पनि थियौ ?
माओलाई राम्रोसित थाहा थियो कि त्यसबेला वु सांघाईको स्कूलमा पढ्दै थिइन् । तर, वुले जवाफ दिइनन्, टाउको मात्र हल्लाइन् किनभने उनी पनि रोइरहेकी थिइन् । वुले आँशु पुछ्दै टाउको मात्र हल्लाएको देखेपछि माओको मन झन् विह्वल बन्यो, उनी अब झन् ठूलो स्वर निकाल्दै रुन थाले । सबैको मन पग्लियो । वु उठेर माओको नजिक पुगिन् अनि सहारा दिएर एकतर्फ लगिन् । माओको मन दुख्नाको अर्को कारण थियो, ताइवानको एकीकरण हेर्न नपाई मर्ने आभाष । अस्वस्थताका बावजुद लेख्न, पढ्न छाडेका थिएनन् । लेखरचनाको अर्को संग्रह निकाल्न चाहन्थे तर सम्भव नहुनेजस्तो लागेकोमा पनि निरास थिए । यो कुरा उनले वुलाई सुनाए ।
सन् १९५४ मा माओ बेइताइहमा थिए र समुद्र किनारमा टहल्दै, कविता वाचन गर्दै थिए । चिकित्सक लि चिसुइ छक्क परे र सोधे– ‘अध्यक्ष कामरेड, कुन कविता पढ्दै हुनुहुन्छ ?’
अनायास स्वर निकालेर कविता पढ्दै गरेको माओ आफैँलाई हेक्का भएनछ । उनले लिसित सोधे – ‘कसरी सुन्यौ मेरो कविता ?’
‘एकदम राम्रो कविता, अति सुन्दर !’
‘यो खाओ खाओको कविता हो । समुद्रलाई नियाल्दै शीर्षक छ यसको । यो लामो कविता हो ।’
‘खाओ खाओ, अनि कवि ?’
उनले खाओ खाओबारे लामो व्याख्या गरे । उनलाई सामन्तीले घीनलाग्दो अनुहार भएका खराब व्यक्तिको रूपमा जनतामाझ प्रस्तुत गर्ने गरेको बताए । उनी राम्रो र असल कवि त हुन् नै असल राजनीतिज्ञ र असल सैनिक पनि भएको बताए । माओ पहिलो व्यक्ति हुन् जसले खाओ खाओको पुरातन दृष्टिकोणलाई पनि सकारात्मक आँखाबाट हेरेका थिए । खाओ खाओ दोस्रो शताब्दीका चिनियाँ कवि र राजनीतिज्ञ हुन् ।
लि मिन माओको तेस्री पत्नी ह छिछेनतर्फकी छोरी हुन् । सन् १९६४ मा माओ रेल चढेर आफ्नो जन्मस्थान हुनान प्रान्त जाँदै थिए । लि मिन् पनि थिइन् । उनले आफ्नो परिवारको चिहानमा जाँदा केही व्यक्तिले माओको विरोधमा अपशब्दसमेत प्रयोग गरेको सुनाइन् । यो कुरा सुन्नेबित्तिकै रेलकी परिचारिका याओ सुसियानले उत्तेजित हुँदै भनिन् – ‘तिनीहरू वर्ग शत्रु हुन् ।’
माओ हाँसेर छोरी र याओको कुरो सुन्दै थिए । उनले टाउको कन्याउँदै उनीहरूको कुरामा असहमति जनाएर ‘त्यसो भन्न नहुने’ बताए । यस्तो कुरोलाई सामान्य रूपमा लिनुपर्ने भन्दै आफू पनि आलोचनाको पात्र हुन सक्ने बताए । एकछिन चुप लागेर फेरि बोल्न थाले– ‘चियाङ काइसेकले मेरो पारिवारिक चिहानलाई ध्वस्त गरे । कम्युनिष्ट पार्टीले मलाई किनारा लगायो र कामै गर्न दिएन । क्रान्ति सजिलो कुरो होइन, यसले धेरैको त्याग खोज्छ, उनीहरूले पारिवारिक चिहान नष्ट पारेर मलाई श्राप दिए तर खै त मलाई केही भएन ! यो सबै अन्धविश्वास मात्र हो । क्रान्तिपछि जनता आफैँले नष्ट गरेको चिहान पुनःस्थापना गरिदिएका छन् । म पनि तिमीहरूजस्तै सामान्य मान्छे मात्र हुँ, अरू मनुष्यजस्तो एकदिन मर्नेछु, मलाई सबैले दूरदर्शी ठान्छन् तर यो बकवासबाहेक केही होइन ।
मलाई थाहा छ, म मरेपछि मेरो पनि विरोध हुनेछ, मबाट केही गल्ती भएको होला, किनभने म पनि साधारण मनुष्य मात्र हुँ, गल्ती मनुष्यबाटै हुन्छ तर ममा दृढ विश्वास छ, म सधैँ क्रान्तिप्रति इमान्दार रहनेछु, मलाई मतलब छैन कसले कुन रूपमा लिन्छन् !’ माओ नोकरशाही तन्त्र र भ्रष्टाचारको सख्त विरोधी थिए । उनी भन्थे, ‘जतिसुकै मिल्ने साथी र नजिकको आफन्त किन नहुन् यदि भ्रष्टाचार गर्छन् भने तीभन्दा परम शत्रु मेरो अरू हुने छैनन् ।’
(सन्दर्भः सेप्टेम्बर ९, माओको ४९ औं स्मृति दिवस )
टिप्पणीहरू