कात्तिकसम्म मतदाता नामावली संकलन
निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुलाएको छ । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि जेन–जीलाई लक्षित गर्दै सरकारले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएसँगै आयोगले नामावली दर्ता खुलाएको हो ।
आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले आउँदो कात्तिक ३० गतेसम्म सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
आयोगले मतदाता नामावली सच्याउने व्यवस्था पनि मिलाएको छ । विवाह भई अन्यत्र गएका, बसाइँसराइ गरेका मतदाताले ठाउँसारी गर्नसक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सक्ने आयोगले जनाएको छ ।
‘मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकलाई नाम दर्ता एवं विवरण अद्यावधिक गरी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न आयोग हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य स्वतः निष्क्रय हुने प्रावधान छ । तर, आउँदो चुनावमा जेनजी मताधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित सरकारले अध्यादेश ल्याएसँगै मतदाता नामावली संकलनको बाटो खुलेको हो ।
टिप्पणीहरू