परिवर्तनको निशानामा निर्जीव शालिकहरू
नेपालगञ्ज शालिककै कारण चिनिने शहर हो । यहाँका धेरै चोक र स्थानको परिचय शालिकसँगै जोडिएको छ । तर, यही निर्जीव शालिकहरू हरेक राजनीतिक परिवर्तनमा निशाना बन्दै आएका छन् ।
शहरको मुटुमा रहेको त्रिभुवन चोक, धम्बोझीस्थित वीरेन्द्र चोक र न्युरोडस्थित शहीद सेतु बि.क. चोक सबैभन्दा धेरै पटक आक्रमणमा परेका स्थान हुन् । जुद्ध शमशेरको शालिक हटाएर राजावादीहरूले त्रिभुवनको शालिक राखेपछि तोडफोड गर्ने श्रृंखलाले जेन–जी आन्दोलनसम्म निरन्तरता पाएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनमा पुष्पलाल चोकमा रहेको नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको शालिक ढालियो । बिपी चौकमा कांग्रेस संस्थापक बिपी कोइरालाको शालिक तोडियो भने भृकुटीनगर चौकमा जनआन्दोलन–१ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको शालिक भत्काइयो । न्युरोडस्थित शहीद सेतु बि.क.को शालिक पनि फुटाइयो । यस आन्दोलनमा पूर्व राजा त्रिभुवनको शालिक मात्रै जोगिएको छ ।
२०६२/६३ सालको जनआन्दोलनताका पनि धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रको, त्रिभुवन चोकस्थित राजा त्रिभुवनको र न्युरोडमा निर्माणाधीन पूर्व राजा ज्ञानेन्द्रको शालिक आक्रोशित समूहले तोडफोड गरेको थियो । ‘शालिक र प्रतिमाले इतिहास देखाउँछन् । हिटलर नामुद तानाशाह थिए । तर जर्मनीमा उनको शालिक अझै देख्न पाइन्छ । शालिक भत्काउने काम राम्रो होइन,’ पत्रकार पूर्णलाल चुके भन्छन् ।
जनआन्दोलनअघि नेपालगञ्जकै कारकादो चोकलाई पूर्व युवराज पारसका नाममा नामाकरण गरिएको थियो । तर, नेवार समुदायले शंखधर साख्वा चोक बनाउनुपर्ने माग राख्दा तत्कालीन गाविसले सहमति जनाए पनि उद्योग वाणिज्य संघले औद्योगिक स्तम्भ बनाउन प्रस्ताव गरेपछि त्यहाँ अहिलेसम्म कुनै शालिक राखिएको छैन ।
जनआन्दोलनकै बेला प्राध्यापक हरिहर अधिकारीको निधनपछि उनको नाममा ट्राफिक चोक नामाकरण गरी बोर्ड त राखियो, तर शालिक भने राखिएन । वरिष्ठ साहित्यकार सनत रेग्मीका अनुसार, त्रिभुवन चोकलाई नामाकरण गर्नुअघि सो ठाउँलाई ‘चोक बजार’ भनिन्थ्यो ।
टिप्पणीहरू