गम्भीर सुरक्षा कमजोरीले निम्त्याएको विध्वंस
गत वर्ष चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईं समूहले गरेको प्रदर्शन हिंसात्मक हुँदा गृह प्रशासन र सुरक्षा निकायहरूको कमजोरी सतहमा आएको थियो। सम्भावित परिस्थितिको पूर्वानुमान गरी सुरक्षा रणनीति बनाउन नसक्दा त्यतिबेला ठूलो धनजनको क्षति भएको तथ्य स्पष्ट छ । यसबाट पाठ सिकेर सूचना संकलनदेखि घुसपैठ नियन्त्रणसम्म सुरक्षा निकायले रणनीतिक तयारी गर्नुपर्ने थियो । तर, भदौ २३ को जेनजी प्रदर्शन र भोलिपल्टको विध्वंसमा पनि त्यही कमजोरी दोहोरियो ।
सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि आमरूपमा बढिरहेको युवा आक्रोशले निम्त्याउन सक्ने क्षतिको पूर्वआकलन गर्न नसक्नु सरकारको कमजोरी थियो । अर्कोतर्फ सुरक्षा निकायले पनि सुरक्षा विश्लेषण गर्न सकेको देखिएन । एक त माइतीघर क्षेत्रमा प्रदर्शनको अनुमति दिनु नै हुँदैनथ्यो । अर्कोतिर माइतीघरबाट निस्किएको जुलुसलाई बानेश्वरको एभरेष्ट होटल अगाडि रोक्न खोज्दा प्रहरीले आवश्यक मात्रामा बल प्रयोग गरेन। सडकमा मान्छे रोक्न एउटा मात्र ब्यारिकेड राखिएको थियो तर दायाँ–बायाँबाट बाइक र गाडी गुड्न छूट थियो । सोही कारण प्रदर्शनकारीहरू सजिलै सुरक्षा घेरा तोड्दै संसद भवनतर्फको निषेधित क्षेत्रमा प्रवेश गरे।
युवा–विद्यार्थी आन्दोलनलाई कम आँक्नु र इन्टेलिजेन्सले सही सूचना लिन नसक्नु नै मुख्य कमजोरी देखियो । अनुसन्धानमा संलग्न स्रोत भन्छन्, ‘एकातिरबाट एक हजार जति आन्दोलनकारी मोटरसाइकलमा छिरेका थिए। बाटो हिँड्नेलाई ब्यारिकेड खुलेको जस्तो देखिन्थ्यो। यहाँ कमजोरी नै भएकै हो।’
चैjप्रदर्शनकारी भेला नहुँदै अश्रुग्यास र पानीको फोहोरा हानेर आन्दोलन दबाउने रणनीति प्रत्युत्पादक भएको थियो। शुरुमै दमनको नीति लिँदा उत्तेजित भीड तोडफोड र आगजनीमा उत्रियो। दुर्गा प्रसाईंका मान्छेले आगो लगाएको भन्ने पनि यस घटनाबाटै थाहा भयो। स्रोत भन्छ, ‘तोडफोड गर्ने, व्यक्तिको घरमा आगो लगाउने अभ्यास त चैत १५ मा भएको हो। प्रहरीको रिग्रेसिभ प्रतिक्रिया पनि त्यतिबेलै थियो। चैत १५ को रिहर्सल हो, यसको बृहत रूप भदौ २३ र २४ मा देखियो।’
तर, प्रदर्शनकारी संसद भवनमा प्रवेश गरिसकेपछि गोली चलाउनु स्वाभाविक हो भन्ने प्रहरीको भनाइ छ । अत्यावश्यक वस्तु संरक्षण ऐन र स्थानीय प्रशासन ऐनले नै ‘भाइटल इन्स्टलेसन’ तोडफोड र आगजनी भएपछि प्रहरीलाई बल प्रयोग गर्न अनुमति दिएको छ ।
टिप्पणीहरू