टीका लगाएपछि सैनिकद्वारा राजधानीमै लुटपाट

टीका लगाएपछि सैनिकद्वारा राजधानीमै लुटपाट

काठमाडौँमा कार, सुनको असर्फी, मोबाइल र नगद लुटपाट गरेको आरोपमा नेपाली सेनाका तीनजना पक्राउ परेका छन्। गएराति सामाखुसी रानीबारीस्थित न्यु रानीबारी अटो प्रा.लि.मा मर्मतका लागि राखिएको टोयोटा कार बा. १३ च ३६५९ समेत लुटेर लगिएको बताइन्छ । 

कार चालक निमाई मण्डललाई कुटपिट गरेर निजको साथमा रहेको तीन हजार, असर्फी र मोबाइल फोन लुटिएको पीडितले जनाएका छन् । घटनापछि खोजतलास गर्दा प्रहरीले आज बिहान सामाखुसी सिटी स्क्वायरबाट कारसहित सेनाका तीनै जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेकामा धादिङका २५ वर्षीय गौतम सुवेदी, चितवनका ३० वर्षीय रोशन तामाङ र रामेछापका ३० वर्षीय हिरालाल माझी हुन्। उनीहरू त्रिपुरेश्वरस्थित नेपाली सेनाको गणेश दलमा कार्यरत रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । 

सुवेदी सिपाही हुन् भने तामाङ र माझी प्युठ हुन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

टिप्पणीहरू