सचिवदेखि ठेकेदारसम्मलाई अदालतमा उभ्याइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी तत्कालीन अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १४ करोड ६ लाख ८५ हजार रुपैयाँ बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
मिश्रासहितका प्रतिवादीहरू स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा म्यामोग्राफी मेसिन खरिदमा अनियमितता र मिलेमतो गरी भ्रष्टाचार गरेको भनिएको छ । अख्तियारका अनुसार, लागत अनुमान तयारदेखि नै आपसी मिलेमतोमा भ्रष्टाचार भएको प्रमाण फेला परेको छ। ठेकेदार कम्पनीले सम्झौताअनुसार सम्पूर्ण सामग्री नपाए पनि गलत रिपोर्ट र झुटा बिलमार्फत भुक्तानी दिइएको बताइएको छ।
मुद्दा लागेकाहरूः
डा. श्रवणकुमार थापा, व्यवस्थापन महाशाखा निर्देशक
डा. सुरेन्द्रप्रसाद चौरसिया, आपूर्ति व्यवस्थापन शाखा प्रमुख
डा. विवेककुमार लाल, स्वास्थ्य सेवा विभाग निर्देशक
भुवनप्रसाद काफ्ले, प्रमुख लेखा नियन्त्रक
सीता घिमिरे, कानुन अधिकृत
दिपक अधिकारी, वरिष्ठ जनस्वास्थ्य अधिकृत
यादवप्रसाद सापकोटा, शाखा अधिकृत
शम्भुप्रसाद ढकाल, लेखा अधिकृत
तिलकराम ढकाल, लेखापाल
आशिष चौहान, बायोमेडिकल इन्जिनियर
पद्यमा मिश्र, बायोमेडिकल इन्जिनियर
संजयकुमार साह, केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक
म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा. लि. र सुन्दर भुसाल, कम्पनी प्रतिनिधि ।
मिश्रा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा थिइन्। अख्तियारले अनुसन्धान चलाइरहेको जानकारी पाएपछि उनको नियुक्ति रोकिएको थियो। मिश्राले यसअघि अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय माग गरेको छ।
टिप्पणीहरू