नेकपा एसबाट दुई पूर्वमन्त्रीको औपचारिक बर्हिगमन

नेकपा एसबाट दुई पूर्वमन्त्रीको औपचारिक बर्हिगमन

पूर्वमन्त्री रामकुमारी झाँक्री र किसान श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)बाट औपचारिक रुपमा बिदा भएका छन् । आज बसेरा होटलमा पत्रकार सम्मेलन गरी उनीहरूले समाजवादीसँगको यात्रा र अध्याय समाप्त भएको घोषणा गरेका हुन् । 

नेकपा एसले माओवादी केन्द्रसहितका विभिन्न पार्टीसँग एकताको निर्णय गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै अलगै समूह बनाएकी झाँक्रीले एमालेमा फर्किने संकेत दिएकी छन् ।  विचार र सिद्धान्त मिल्ने दलहरूसँग संवाद चलिरहेको उनले जानकारी दिइन् । 

एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी बनाउँदा भयंकर हुन्छ भन्ने लागेको, तर अहिले अनपेक्षित रुपमा रोकिनुपरेको उनको भनाइ छ  । 

‘एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी निर्माण गर्दा प्रारम्भका दिनमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौँ’, झाँक्रीले भनिन्, ‘तर एकीकृत समाजवादीसँगको यात्रा यहिसम्मको लागि मात्र रहेछ, पार्टी विघटनसँगै टुंगियो, हामी पज भएका छाैँ ।’ 

त्यस्तै, नेता श्रेष्ठले पनि एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको बताउँदै एमालेमा फर्किन लागेको बताए । अहिले एमाले नेताहरूसँग छलफल चलिरहेकाे उनको भनाइ छ । 

‘हामीलाई केही चाहिएको छैन मूल घरमा, हाँसेर बोल्दिए पुग्छ, सम्मानजनक व्यवहार गर्दिए पुग्छ’, उनले भने, ‘हामी संवादमा छौ, विश्वास छ एमालेले त्यो वातावरण बनाउनेछ ।’

टिप्पणीहरू