एमाले अखिलमा दिपक कि अञ्जना ?
भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा विद्यार्थीमाथि गोली प्रहार भएपछि असन्तुष्टि जनाउँदै एमालेका थुप्रै नेता-कार्यकर्ताले सामाजिक सञ्जालबाट पार्टी परित्याग गरेको घोषणा गरे । आफ्नै अध्यक्ष नेतृत्वको सरकारले नरसंहार मच्याएकाले पार्टीमा रहन नसक्ने अधिकांशको भनाइ थियो । तर, त्यतिबेला पार्टी छोडेकाहरू विस्तारै 'एमाले छोडेकै होइन' भन्न थालेका छन् ।
त्यस्तै एक पात्र हुन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरिया । गत जेठको अन्तिम साता कीर्तिपुरमा सम्पन्न २४ औँ महाधिवेशनमा प्रकाश पौडेललाई ७ मतले पराजित गरेर अध्यक्ष बनेका थिए उनी । जेनजी प्रदर्शनमा एमाले छोडेको घोषणा गर्दै काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको समर्थनमा मन्त्री बन्न कस्सिए उनलाई हात लाग्यो शून्य भयो ।
जेनजी प्रदर्शनपछि अहिलेसम्म अखिलको औपचारिक बैठक बस्न सकेको छैन । यसबारे सोध्दा एक पदाधिकारे भन्छन्,'खै इञ्चार्जज्यू कता हुनुहुन्छ, उहाँको नाक मुखसमेत देख्न नपाएको महिना दिनभन्दा बढी भैसक्यो । सायद फेसबुकमा व्यस्त हुनुहुन्छ होला ।'
स्रोतका अनुसार २४ औं महाधिवेशन पछि पहिलो सर्कुल जारी गर्दा महासचिव दिपक धामीसँग झन्डै हात हालाहालको अवस्था आएको थियो । तत्कालिन समयमा अध्यक्ष र महासचिव मिलेर सर्कुलर जारी गरेका थिए ।
यसबारे जनआस्थाले यसअघि समाचारसमेत लेखिसकेको छ । २०८२ साउन २१ गते बुधबारको अंकमा प्रकाशित 'अखिलको झगडा फेरि देशभरि छताछुल्ल' शीर्षकको समाचारमा अखिलमा चर्किएको अन्तरकलहको विषय उल्लेख छ ।
अध्यक्ष कडरियाले बच्चाको भाडाकुटी खेलझैँ कहिले राजीनामा दिएको त कहिले नदिएको भनी फेसबुक रंग्याएकाले पदबाट हटाउनुपर्ने माग पार्टीभित्र पनि उठिरहेको छ । ललितपुरको रामबाग होटलमा भएको केन्द्रीय कमिटि बैठकको समापनमा अध्यक्ष केपी ओलीले 'अखिलमा जेनजी भनेर साथीहहरूले भने, होला त नि भनेर अध्यक्ष बनाईयो, तर केटो फुत्त भाग्यो' भनेपछि कडरिया अध्यक्षमा फर्किने सम्भवना अन्त्य भएको कतिपयको बुझाइ छ ।
त्यसअधि अखिलका पूर्वअध्यक्ष माधव ढुङ्गेल उनलाई संगठनको जिम्मेवारीमा फर्काउन जोडतोडका साथ लागेका थिए ।
अहिलेका महासचिव दिपक धामी र उपाध्यक्ष अञ्जना शिवाकोटी दुवै तहगत कमिटी पार गर्दै खारिएका आएका नेता हुन् । कडरियालाई हटाएर कमिटी पुनर्गठन हुँदा दुवै जना अध्यक्ष हुने सम्भावना उत्तिकै छ । तर, यी दुईमध्ये विद्यार्थी परिचालन र पार्टीको निर्णय दायाँबायाँ नगर्नेमा दिपक पर्छन् भनिन्छ । अञ्जना अलि कमजोर रहेको एक पदाधिकारीले बताए ।
सचिव तथा मधेश इञ्चार्ज भएका बेला समिक बडालकै उपस्थितिमा मधेशमा समानान्तर कमिटी बनाएकोमा अञ्जनालाई संगठनले स्पष्टिकरण सोधेको थियो । तर, उनलाई पार्टी नेता भानुभक्त ढकालले अध्यक्ष बनाउने बचन दिएको चर्चा छ ।
एकथरी नेता चैं दिपकलाई नै अध्यक्ष बनाउन सक्रिय रहेको बताइन्छ । उनलाई महासचिव शंकर पोखरेलको दह्रो साथ छ । पोखरेल लगायत अखिलका अधिकाशं पूर्वअध्यक्षहरू उनलाई जिम्मा दिए अखिलको बिरासत धान सक्छन् भन्नेमा पुगेको उनीनिकटहरूको दाबी छ । निवर्तमान अध्यक्ष समिक बडालले त खुलारूपमै दिपकको पक्ष लिएका छन् ।
पछिल्लो समय काठमाडौँ प्रहरीमा उजी हाल्दा होस या पार्टी अध्यक्ष ओलीलाई सुरक्षा दिने मामिलामा उनी अग्रपंतिमा छन् । तर, अञ्जनाजी भने खासै बाहिर देखिएकी छैनन् ।
अञ्जनालाई अध्यक्ष बनाए सामूहिक राजीनाको चेतावनी
अखिलमा अहिले कसको अध्यक्षतामा बैठक बोलाउने भन्ने अन्ल्यौल देखिएको छ । सुजन निकटले उनलाई नै अध्यक्षता गराएर बैठक बोलाउने र कार्यवाहक तोक्नुपर्ने पक्षमा देखिन्छन् । तर, दिपकलाई नेतृत्व दिनुपर्ने पक्षमा रहेकाहरूले भने 'राजीनामा दिएका अध्यक्षले के आधारमा बैठक बोलाउने?' भन्ने प्रश्न उठाइरहेका छन्।
यता, अञ्जनालाई अध्यक्ष बनाए सुजन निकट कमल जोशी, आकाश घर्ती, समिम बाबु खान र गोपाल नेपालले सामूहिक राजीनामा दिने चेतावनी दिएको अवस्था छ । जसका कारण कडरियालाई नै निरन्तरता दिने कि दिपक वा अञ्जनालाई अध्यक्ष बनाउने भन्नेमा नेताहरू अलमलमा परेका छन् ।
टिप्पणीहरू