नेकपामा मिसिन भीम रावल सकारात्मक

नेकपामा मिसिन भीम रावल सकारात्मक

नेकपा (एमाले) ले पार्टीबाट निकालेपछि राजनीतिकरूपमा निस्क्रिय रहँदै आएका डा. भीमबहादुर रावलले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने संकेत दिएका छन् । 

रावल नेतृत्वको मातृभूमि जागरण अभियानका सदस्यहरू यसबारे निर्णय लिन आन्तरिक छलफलमा जुटेको बुझिएको छ । नेका माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वामपन्थी पार्टीहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार रावल पनि एकतामा आउने लागेको बताएका थिए ।

माओवादी केन्द्रको तत्कालीन महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘अहिलेसम्म दश समूह एकतामा आएका छौँ, तर मलाई लाग्छ घोषणाको कार्यक्रमसम्म ११/१२ सम्म पुग्छ, भीम रावलजीहरु पनि एकतामा आउने कुरा छ ।’ यद्यपि, तत्कालको लागि भने रावल समूह एकतामा पुगिसकेको छैन । 

यस सम्बन्धमा जनआस्थाले रावलसँग सोधेको थियो, ‘तपाईं एकतामा जान लाग्नुभएको हो ?’ जवाफमा उनले भने, ‘निर्णय भइसकेको छैन, तर सकारात्मक ढंगले छलफल अघि बढेको छ ।’

बताइएअनुसार कात्तिक १८ गते रावल, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो । जहाँ रावललाई सम्मानपूर्वक एकतामा जोडिन आग्रह गरिएको थियो । तर, रावलको जवाफ थियो, ‘मैले मात्र भनेर हुँदैन, हाम्रो समूह पनि ठूलो बन्दै गएको छ, समूहका नेताहरुसँग छलफल नगरी हुन्छ भन्न सक्दैन ।’

प्रचण्ड र नेपालसँग भएको छलफल अहिले रावलले समूहका नेताहरुसँग राखिरहेका छन् । ‘अस्ति भएको छलफलबारे मैले समूहका कुरा राखेको छु, साथीहरुको राय बुझिरहेको छु’, उनले भने, ‘अझै केही दिन छलफल नै गछौँ, त्यसपछि हामी आधिकारिक निर्णय गर्नेछौ ।’

टिप्पणीहरू