राजाको जन्मोत्सवमा भारतीय प्रधानमन्त्री
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको राजधानी थिम्पु पुगेका छन् । भुटानी वर्तमान नरेशका पिता जिग्मे सिङ्गे वाङ्चुकको ७०औँ जन्मोत्सवका अवसरमा आयोजना गरिने कार्यक्रममा प्रमुख अतिथिको रुपमा उनलाई भुटान आमन्त्रण गरिएको बताइएको छ ।
राजकीय भ्रमणमा थिम्पु पुगेका भारतीय प्रधानमन्त्रीलाई पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानी प्रधानमन्त्री छेरिङ तोब्गेलगायतले स्वागत गरेका थिए। भुटानी परराष्ट्रमन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा राजपरिवारका सदस्यहरूको समेत उपस्थिति रहेको जनाइएको छ ।
भ्रमणका क्रममा मोदीले भुटानी नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुकसँग शिष्टाचार भेटवार्ता, दुई देशबीचको मैत्री र सहयोग सम्बन्धका विषयमा छलफल गर्दैछन् । विशेषगरी नरेश पिताको ७०औँ जन्मोत्सवको उपलक्ष्यमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम छ।
भारत–भुटान सम्बन्धबारे मोदीले नयाँ दिल्लीबाट प्रस्थानअघि दिएको वक्तव्यमा भनेका छन्, ‘भुटान भारतको अत्यन्त निकट मित्र मात्र होइन, साझा संस्कृति, सभ्यता र विकासका आदर्शमा जोडिएको राष्ट्र हो।’

भारत भुटानको प्रमुख व्यापारिक साझेदार र विकास सहयोगी मुलुक पनि हो। ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा भारतले भुटानमा ठूलो लगानी गरेको छ ।
प्रधानमन्त्री मोदीले भुटानी प्रधानमन्त्री तोब्गेसँग दुई देशबीच ऊर्जा, सूचना प्रविधि, र मानव स्रोत विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने छन् ।

टिप्पणीहरू