सभामुखलाई दुईटा गाडी, कुकुर ओसार्नेमा कर्मचारी

सभामुखलाई दुईटा गाडी, कुकुर ओसार्नेमा कर्मचारी

भदौ २४ गतेको जेनजी विध्वंशमा कोशी प्रदेश सभाको प्राङ्गणमा पार्किङ गरिएका गाडीहरु खरानी भएपछि कर्मचारीहरु यसअघि कुकुर ओसार्ने गाडीमा यात्रा गर्न बाध्य भएका छन् । संसद् बैठकको क्रममा सुरक्षाका लागि जासुसी कुकुर ओसारपसार गर्ने गाडी चढेर प्रदेश सभाका कर्मचारीहरु कार्यालयको काममा निस्किन थालेका हुन् ।

एकाध कर्मचारी आफ्नै मोटरसाइकल र सिटी रिक्सामा आवतजावत गरेको देखिन्छ । कार्यालयकै कामका लागि बाहिर निस्किन गाडीको अभाव हुँदा पनि प्रदेश सभामुख अम्बरबहादुर विष्टले विध्वंशको फाइदा उठाउँदै सरकारी गाडीलाई निजी बनाएको आरोप छ । सो गाडी उनले परिवार डुलाउन र पार्टीको काममा प्रयोग गरेको कर्मचारीहरुले हाकाहाकी भन्न थालेका छन् । ‘कोशी प्रदेश सभा सदस्य तथा पदाधिकारीको सेवासुविधा ऐन–२०७५’ मा सभामुखले एउटा मात्रै सवारी साधनको सुविधा पाउने उल्लेख छ । 

तर, विष्टले दुईटा गाडी प्रयोग गरेपछि आलोचना शुरु भएको हो । कोशी प्रदेश १–०४–००१ च ००४७ नम्बरको सरकारी गाडीलाई रातो नम्बर प्लेट बनाएर उनले झापाको गौरादहस्थित घरमा लगेर राखेका हुन् । उक्त गाडी उनको परिवारले प्रयोग गर्छन् । स्रोत भन्छ,‘सरकारी गाडीलाई रातो नम्बर प्लेटमा परिणत गरेर उहाँले प्रयोग गरिरहनुभएको छ । घर र पार्टीको कार्यक्रममा जान उहाँले सोही गाडीको प्रयोग गर्नुहुन्छ ।’

सभामुख विष्टले अप्ठेरो अवस्थालाई ध्यानमा राखेर एउटा गाडी घरमा राखेको बताए । उनले भने,‘कहिलेकाँही अप्ठेरो पर्छ भनेर थप एउटा गाडी घरमा राखेको हुँ । तर, मैले एउटा मात्र गाडी प्रयोग गर्ने गरेको छु ।’ नेकपा माओवादी केन्द्रबाट सभामुख नियुक्त बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि राप्रपाका सांसद विष्ट सभामुख बनेका हुन् ।

विष्टसँग उपसभामुख सृजना दनुवारको सम्बन्ध त्यति राम्रो देखिँदैन । प्रदेश सभाको पहिलो कार्यकालमा सभामुख बनेका प्रदीपकुमार भण्डारीले ६ महिनाको अनुमति लिएर सरकारी गाडीलाई निजी बनाएका थिए । तर, उनले कार्यकालभर गाडी धरानस्थित आफ्नो घरमा राखेपछि चर्को विरोध भएको थियो । प्रदेशको यातायात मन्त्रालयले शान्तिसुरक्षाको अवस्था हेरेर ६ महिनासम्म सरकारी नम्बर प्लेटलाई निजी बनाउन सिफारिस गर्नसक्ने व्यवस्था गरेको छ । 

तर, उच्च पदाधिकारीले सरकारी गाडीलाई निजी बनाएर ढुक्कैले आफ्नो घरमा लगेर राख्ने गरेका छन् । आफूलाई भ्रष्टाचारविरोधी दाबी गर्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले आफ्नै घरमा बसेर मासिक २९ हजार रुपैयाँ घरभाडा बुझ्ने गरेको कर्मचारीहरुको दाबी छ । उनी इटहरीस्थित आफ्नै घरबाट मन्त्रालय आउजाउ गर्छन् । 

जबकि, १५ किलोमिटरभन्दा नजिक घर रहेका सांसदहरुले घरभाडा लिन मिल्दैन । कानुनको धज्जी उडाउँदै आफ्नै घरमा बसेर ओहोरदोहोर गरेका सांसदहरुले पनि घरभाडा बुझ्दै आएका छन् ।

टिप्पणीहरू