ईश्वरको भागमा अपजशको भारी मात्रै

ईश्वरको भागमा अपजशको भारी मात्रै

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यस्ता अभागी हुन् कि काम गर्ने तर कतै जश नपाउने !

उदाहरणकै लागि नेपाल ट्रष्टको जग्गालाई लिन सकिन्छ । ०६४ सालमा उक्त ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनको परिवारका नामबाट ट्रष्टमा ल्याइयो । काठमाडौंको मुटु मानिने दरबारमार्ग, कालिमाटी, कमलादीलगायत स्थानमा रहेका महंगा जग्गाको पुनः लिज सम्झौता त ०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइयो तर राजदरबारका नाममा कहाँ, कति जग्गा छ र स्थिति के छ ? भन्नेबारे त्यतिञ्जेलसम्म सरकार कुहिराको कागजस्तो स्थितिमा थियो । पोखरेल उपप्रधानसहित रक्षामन्त्री र नेपाल ट्रष्टको अध्यक्ष थिए उनैले हो तत्कालीन राजपरिवारका नाममा रहेको सरकारी जग्गा खोजबिन गरी श्वेतपत्र जारी गरिएको । त्यसै क्रममा १३ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा रहेको तर अधिकांश कौडीको भाउमा उपयोग भइरहेको विषय प्रकाशमा आयो । अहिले पनि सोही अथाह सम्पत्तिलाई कानुनी छिद्र खोजेर शासक र प्रशासकहरूले कमाउने माध्यम बनाइरहेका छन् ।

गतहप्ताबाट दरबारमार्गमा अवस्थित कित्ता नम्बर ४६०६ को १ रोपनी १४ आना जग्गा थामसेर्कु ट्रेकिङ्गलाई ३० वर्षका लागि लिजमा दिँदा गरिएको गड्बडीबारे पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान चल्दै छ । देशभर २१ हजार ५६२ रोपनी जग्गा लिजमा लिँदा कति बदमासी भए होलान् ? त्रिपाल काण्डमा मुछिएका तत्कालीन सदस्य सचिव अर्जुन कार्कीलाई ओभानो बनाएर सहसचिव लेखबहादुर कार्कीलाई समाती कित्ता नम्बर ४६०५ समेत थपेर लिजमा दिने/लिने काम भएको थियो ।

यसरी नेपाल ट्रष्टको जग्गा बदमासीमा लहरो तान्दा पहरो थर्किने देख्छन्, त्यहींका कर्मचारी । तत्कालीन राजा वीरेन्द्रको परिवारका नामबाट २१ हजार ५६२ रोपनी जग्गा सरकारको स्वामित्वमा आएमध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै छ । ट्रष्टसँग हाल रहेको सम्पत्तिमध्ये गोकर्ण फरेष्ट रिसोर्ट, कमलादीको काठमाडौं प्लाजा, लाजिम्पाटको स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको भवन, टेकुस्थित बिजनेस पार्क, दरबारमार्गको कम्प्लेक्स, ताहाचलको सोल्टी आउटर कम्प्लेक्स छन् । यी सम्पत्ति लामो समयका लागि लिजमा दिइएका हुन् । यस्तै नेपाल ट्रष्टको स्वामित्वमा काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुर्खेत, कास्की, चितवन र धादिङमा गरी २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम रहेको छ । जसमध्ये सबैभन्दा धेरै धादिङमा १५ हजार १ सय १ रोपनी र सबैभन्दा कम ललितपुरमा ८ रोपनी १० आना जग्गा छ । 

ईश्वर पोखरेलबाट जारी भएको श्वेतपत्रअनुसार धादिङस्थित जग्गाले ७० प्रतिशत ओगटेको छ भने काठमाडौंको ४ हजार ४ सय ४२ रोपनीले २०.६१ प्रतिशत, चितवनको ७६७ रोपनीले ३.५६ प्रतिशत हिस्सा ओगट्दा सुर्खेतमा ४ सय ५७ रोपनी जग्गाले २ दशमलव ११ प्रतिशत, नुवाकोटको २ सय ४० रोपनी जग्गाले १ दशमलव ११ प्रतिशत क्षेत्रफल ओगटेको छ । 

वार्षिक ४ करोड ५० लाख भाडा तिरेर दरवारमार्गको १ रोपनी १४ आना जग्गा थामसेर्कुले लिजमा पाउँदा केही सय मीटरमात्र दूरीमा रहेको कमलादीको काठमाडौं प्लाजा सञ्चालन गर्ने कन्सेप्ट डेभलपर्सले भने वार्षिक ७५ लाख रूपैयाँ मात्र तिर्दै आएको छ । उक्त ब्यापारिक कम्प्लेक्सले ५ रोपनी २ दाम क्षेत्रफल ओगटेको छ । यस्तै, स्टाण्डर्ड चार्टर्ड बैंक रहेको घरजग्गा पनि नेपाल ट्रष्टकै हो । कामपना २ लाजिम्पाटस्थित ६ रोपनी १३ आना क्षेत्रफलमा रहेको सो घरजग्गा बैंकले लिजमा लिई कार्यालय सञ्चालन गरिरहेको छ । उसले वार्षिक १ करोड १५ लाख ३ हजार ३६५ भाडा तिर्ने गरेको छ । २०५० सालमै २७ वर्षका लागि लिजमा लिइएको सो घरजग्गाको लिज अवधि १२ वर्ष बाँकी रहँदै २०६६ पुस २३ मा पुनः थप १५ वर्षका लागि लिजमा पाएको थियो । 

यस्तै टेकुमा अवस्थित टाउन डेभलपर्स प्रा.लिसँग ०६६ साल पुस १० मा पुनः सम्झौता गरी १९ रोपनी १२ आना जग्गा ८३ सालसम्म कौडीको भाउमा दिलाइएको छ । उसले बनाएको बिजनेश पार्कले वार्षिक ५० लाख रूपैयाँ भाडा बुझाउँछ । यस्तै, अहिले सिआइबी लागेको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा २०७४ जेठ १४ मा ३० वर्षका लागि लिज सम्झौता भएको हो । सो जग्गाको भाडाबापत थामसेर्कु ट्रेकिङ्गले बार्षिक ४ करोड ५४ लाख बुझाइरहेको छ । 

कालिमाटी ताहाचलस्थित सोल्टी होटल नजिक चार रोपनी चार आना जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले नै ३० वर्षकै लागि लिजमा हात पारेको छ । ४ रोपनी ४ आना ३ पैसा जग्गाको लिज सम्झौता २०७४ मंसिर १४ मा भएको देखिन्छ ।  थामसेर्कुले संरचना निर्माण हुन्जेल ३ वर्षसम्म वार्षिक ६ लाख र निर्माण सकिएपछि वार्षिक ६१ लाखका दरले प्रत्येक ५ वर्षमा भाडा बढाउने सम्झौता छ । 

छोटो अवधिका लागि नेपाल ट्रष्टका अन्य सम्पत्ति केही सरकारी कार्यालयले लिजमा लिएका छन् । ताहाचलको ३८ रोपनी १२ आना जग्गामा रहेका भवनमा सार्वजनिक खरिद अनुगमन कार्यालय बस्दै आएको थियो । जुन केशरमहलमा सरिसकेको छ । यस्तै नेपाल रेडक्रस, श्रम कार्यालय र गरिवी निवारण कोषका कार्यालयहरूले वार्षिक ५२ लाख भाडा बुझाउने सम्झौता गरेका छन् । मासिक १ लाख ८६ हजार भाडा बुझाउने गरी गरिबी निवारण कोष, बार्षिक ५८ लाख बुझाउने गरी बैदेशिक रोजगार विभागसँग सम्झौता भएको भेटिन्छ । काठमाडौं १३ को स्वयम्भु छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलमा रहेको घरजग्गा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिइएको थियो । त्यस्तै छाउनी मार्गमै रहेको २ रोपनी १३ आनामा बनाइएको घरजग्गा नेपाल ट्रष्टले नै संरक्षण गरेर राखेको छ । कालिमाटीमै रहेको ३ रोपनी ७ आना जग्गा भने हिमालय वीरविक्रम शाह मोही कायम रहेको भेटिएको छ । धनकुटाको चुलीवनमा १९४ रोपनी जग्गा निजामती कर्मचारीका छोराछोरीको लागि आवासीय विद्यालयलाई भाडामा लगाइएको छ । 

‘प्राइम लोकेशन’ मा मात्र होइन ट्रष्टका जग्गा कतै जंगलका रूपमा, कहीँ मोही खडा गरेर राखिएको छ । बालाजु माथि ब्यापारिक प्रयोजनयोग्य १२३ रोपनी जग्गा खाली र खुला छ । गल्कोपाखाको ९ आना जग्गामा मोहीले घर जग्गा बनाएर बसिरहेका छन् । फर्पिङमा उस्तै हालत छ । त्यहाँको ६८ रोपनी १२ आना जग्गा विद्यालयले निःशुल्क उपयोग गरिरहेको छ । सतुंगलको १ रोपनी ६ आना जग्गा मोहीले खेतिबालीमा प्रयोग गरिरहेको छ भने मातातीर्थको ५९ रोपनी जग्गामा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको नजर परेको थियो । थानकोटस्थित १०२ रोपनी, साँखुको २ रोपनी जग्गामा खेती किसानी भइरहेको छ । यस्तै पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ मा अवस्थित १७४ रोपनी ४ आना जग्गामा रत्न मन्दिर, हिमागृह जस्ता ऐतिहासिक दरबार छ ।

केही महिना अगाडिमात्र सोल्टी मोडमा रहेको जग्गावापत थामसेर्कुले नेपाल ट्रष्टलाई बुझाउनु पर्ने चार करोड नबुझाई थर्ड पार्टी प्रवेश गराइएको र सो काम तमाम पारिँदा तत्कालीन भूमि व्यवस्थापनमन्त्री बलराम अधिकारीदेखि नेपाल ट्रष्टका सचिव रामआधार साहले कोशेली हात पार्न सफल भएको ट्रष्टका कर्मचारीहरू बताउँछन् । 
 

टिप्पणीहरू