महाधिवेशन नभए महामन्त्रीले पद छाड्ने

महाधिवेशन नभए महामन्त्रीले पद छाड्ने

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वबाट पार्टीको विशेष महाधिवेशनलाई बेवास्ता गरिएमा पदबाट राजीनामा दिने चेतावनी दिएका छन्। हिजो सिंगापुरबाट फर्केका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका उनले पछिल्लो एक महिनादेखि जारी केन्द्रीय समिति बैठकमा उठेका बहसबारे जानकारी गराउँदै यस्तो कदम चाल्ने संकेत दिएका हुन्।

भेटमा महामन्त्री शर्माले पार्टी विधानको धारा १७ (२) स्मरण गराउँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा रहेको बताएका थिए। उक्त धारामा पार्टीका ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले हस्ताक्षर संकलन गरेर बैठकमा पेश गरिसकेका छन्। तर पनि सहमति जुट्न नसकेकोमा शर्मा असन्तुष्ट देखिएका छन्। ‘समयमै नियमित महाधिवेशन हुने हो भने विशेष महाधिवेशनको माग सम्बोधन हुन सक्छ, तर नियमित महाधिवेशन गर्न भ्याइँदैन भने विधानले तोकेको समयभित्र विशेष महाधिवेशन गर्नुपर्छ,’ उनले भने, ‘विधानअनुसार नहुने हो भने त्यसको साक्षी बनेर बस्दिनँ। तत्काल लागू हुने गरी मलाई महामन्त्री पदबाट भूपू महामन्त्री बनाइदिए हुन्छ।’

जवाफमा सभापति देउवाले भनेका छन्, ‘सबै मिल्छ, म सबैसँग कुरा गर्छु।’

टिप्पणीहरू