भटाभट हिरासत कक्षको अनुगमन
जेनजी प्रदर्शन र विध्वंशपछि राष्ट्रिय मानव अधिकार आयोगले उपत्यकाभित्रका हिरासत कक्षहरुको अनुगमन गरेको छ। कात्तिक २७ र २८ गते गरिएको अनुगमनपछि हिरासत कक्षमा मानवअधिकारका समस्या औँल्याउँदै आयोगले सरकारलाई समाधानमा गम्भीर हुन आग्रह गरेको छ।
काठमाडौँको कोटेश्वर, सोह्रखुट्टे, स्वयम्भू, महाराजगञ्ज, सिंहदरबार र कालीमाटीस्थित प्रहरी वृत्तमा हिरासत कक्षको प्रत्यक्ष जाँच गरिएको थियो। ललितपुरको जिल्ला प्रहरी परिसर, सातदोबाटो वृत्त, भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्यपुर र ठिमीस्थित प्रहरी वृत्तमा पनि अनुगमन गरिएको जनाइएको छ ।
सो क्रममा हिरासतमा रहेका थुनुवाहरूको मानवअधिकार अवस्था र भौतिक संरचना प्रत्यक्ष अवलोकन गरिएको थियो। आयोगले केही प्रमुख समस्या औँल्याइएको छ । जसमा महिला कक्षको अभाव, भौतिक संरचनाको कमी, शौचालयको समस्या, हिरासत क्षमताभन्दा बढी थुनुवाहरू राखिएको, थुनुवाहरूको बसाइ र सुताइमा समस्या, जाडोमा पर्याप्त बेडको अभाव, अत्यावश्यक सामग्री खरिद गर्न बजेटको अभाव आदी छन् ।
आयोगले जेनजी प्रदर्शनको क्रममा प्रहरी संरचना क्षतिग्रस्त भएको, हिरासतबाट भागेका केही थुनुवाहरू अझै फिर्ता नआएको, प्रहरीहरू पनि घाइते भएको, स्थानीय समुदायको सहयोगमा केही संरचना सञ्चालनमा आएको, प्रहरीको मनोबल कमजोर भएको, कतिपय फाइलहरू जलेर नष्ट भएको र हतियार लुटिएको जानकारी पाएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार फिर्ता नहुँदा शान्ति सुरक्षामा चुनौती थपिएको छ।’ जेनजी प्रदर्शनका क्रममा क्षति भएका संरचना निर्माण गर्न र हिरासतका थुनुवाहरूका लागि आवश्यक सामग्री खरिद गर्न बजेट अभाव रहेको पनि प्रतिवेदनले देखाएको छ।
आयोगले प्रदेश तथा प्रदेश शाखा कार्यालयमार्फत् उपत्यका बाहिरका जिल्लाका हिरासत कक्षको अनुगमन पनि सुरु गर्ने जनाएको छ।
टिप्पणीहरू