बारामा एमालेविरुद्ध जेन जीको उजुरी दर्ता
बाराको सिमरामा हिजो भएको भिडन्त र अशान्तिका तत्वहरु राष्ट्रिय स्वतन्त्र पार्टी र तत्कालीन प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका कार्यकर्ता भएको एमालेले आरोप लगाएको छ ।
भोलि काठमाडौंमा हिजो सिमरामा जस्तै एमाले भ्रातृ संगठन युवा संघले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा प्रदर्शन गर्ने क्रममा यस्तो आरोप लगाउन थालिएको हो ।
हिजो महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई काठमाडौंबाट उड्न नदिएको सिमराको समूह जेन जी नभएर रवि लामिछाने समर्थित रास्वपा र प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता कार्यकर्ताको हुल भएको एमालेको दाबी छ । युवा संघका कार्यकर्ताले पिटपाट गरेको भनिएका सम्राट उपाध्यायहरु वास्तविक जेन जी नभएको एमालेका नेताहरु बताउँछन् ।
हिजो राति सुदनलाई सुरक्षा निकायहरुले एमालेको सचिवालय बैठकमा कुनै पनि खालको आक्रमण नगर्न अन्यथा थुनिन सचेत गराएको स्रोतको दावी छ ।
हिजै बेलुका उपाध्यायहरुले युवा संघविरुद्ध स्थानीय इलाका प्रहरी कार्यालयमा लिखित उजुर गरेका छन् । उजुरीमा जेन जीहरुमाथि आक्रमण गरिएको, सो क्रममा उपाध्यायलगायत तीन जना घाइते भएकाले कारबाहीको माग गरिएको छ । एमालेले भने जेन जीको नाममा गरिएका ती सबै घटनाक्रमलाई ‘नाटक’ को संज्ञा दिएको छ ।
यता राजधानीमा ओलीले अराजक दुर्गा प्रसाईंको समर्थनमा बोलेपछि राजनीतिक माहौल थप बिग्रने अवस्था देखिएको छ । आफू प्रधानमन्त्री हुँदा समाज भाँड्न खोजेको,अशान्ति फैलाएको आरोपमा पटक पटक पक्राउ गरिएका उनै प्रसाईंको समर्थनमा हिजो ओलीले बोलेपछि मूल धारका नेताहरुको व्यवहारलाई ‘भ्रष्ट प्रवृत्ति’ को संज्ञा दिइएको छ ।
आज एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा हामी नेपालीका सुदन गुरुङहरुले आक्रमण गर्नसक्ने संकेत पाएपछि सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएका छन् । हिजो राति सुदनलाई सुरक्षा निकायहरुले एमालेको सचिवालय बैठकमा कुनै पनि खालको आक्रमण नगर्न अन्यथा थुनिन सचेत गराएको स्रोतको दावी छ ।
टिप्पणीहरू