विवेक नगुमाउन जेनजीलाई रक्षा बमको अपिल
जेनजी फन्ट नेपालकी संयोजक रक्षा बमले बारा घटनाप्रति चासो राख्दै प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेकी छन् ।
हिजोदेखि सिमराको अवस्था तनावग्रस्त बनेपछि उनले सामाजिक सञ्जालबाट जेनजी युवालाई सम्बोधन गर्दै विवेक नगुमाउन सचेत गराएकी हुन् । मुलुकमा अहिले शान्ति कायम गर्नु नै मुख्य एजेण्डा रहेको र त्यो जिम्मेवारी जेनजीकै काँधमा आइपरेको बमको भनाइ छ ।
‘हामीले धेरै विध्वंश देखिसक्यौं, नरसंहार भोगिसक्यौं, अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन’, उनले भनेकी छन्, ‘हामी देशको वर्तमान र भविष्य बोकेका युवा हौँ, अहिलेको समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो र हुनुपर्छ ।’
उनले राजनीतिक दलहरुलाई पनि जिम्मेवार बन्न आग्रह गरेकी छन् । ‘भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुई मत छैन, यसकालागि हाम्रो आवाज सधैं एक छ, तर साथीहरू विद्रोहपछि विवेक महत्वपूर्ण हुन्छ है’, बमले लेखेकी छन्, ‘आज देशमा शान्ति कायम राख्नु हाम्रो पनि जिम्मेवारी हो, राजनैतिक दलका अग्रज नेताज्यूहरू र युवाहरूले पनि बुझून् ।’
टिप्पणीहरू