बालुवाटारमा बालेनको बाटो बन्द, भिक्टरहरू भागाभाग
जेनजी आन्दोलनको भेलमा आफ्ना सबै स्वार्थ पूरा गराउन कस्सिएका काठमाडौंका मेयर बालेन साहलाई बालुवाटारले रातो झण्डा देखाइदिएको छ । दुई–तीन पटकसम्म भेटेरै प्रधानमन्त्री सुशीला कार्कीलाई कानुनले नमिल्ने काम गर्न दबाब दिए । कार्यान्वयन नभएपछि बिच्किएर फोन सम्पर्कबाट समेत बाहिरिएका छन् । केपी ओलीलाई अहिल्यै पक्र, रमेश लेखकलाई समाइहाल भनेर कराइरहे । यतिमात्रै होइन गृहमन्त्री भएन भन्दै कराएपछि कार्कीले यत्तिकै हुँदैन भनेकै कारण उनको बालुवाटार आउजाउ र फोनफान नै दुई हप्तादेखि बन्द भएको सुरक्षा स्रोतको दावी छ ।
‘त्यसरी हुन्न भनेपछि भेट्ने र फोन सम्पर्क गर्ने आँट केही गरेका छैनन् । प्रधानमन्त्रीले विज्ञप्ति नै निकालेर गृहमन्त्री हटाउने अरु कसैको क्षेत्राधिकारको विषय होइन भनेर खुलस्त भनिदिएपछि अलिकति डिफेन्सिभ भए होलान्,’ स्रोतले भन्यो । कुनै समय आफ्नै सल्लाहकार रहेका ओमप्रकाश अर्याललाई हटाएर राजु पाण्डेलाई लाने गरी दबाब बढाएपछि कार्कीले बाध्य भएर विज्ञप्ति निकालेकी थिइन् । जसमा गृहमन्त्री हटाउने कुनै तयारी नभएको स्पष्ट पारिएको थियो ।
प्रधानमन्त्रीबाट राम्रै जवाफ भेटेपछि बालेन, सुदन गुरुङ र रुटिन अफ नेपाल बन्द चलाउने भिक्टर पौडेलको नयाँ फण्डा शुरु भएको स्रोत बताउँछ । मेयर नै सबैथोक जस्तो गरेर कन्ट्रोल गर्न खोजेपछि, प्रधानमन्त्रीलाई डमी र पुतलीजस्तो बनाउन खोजेपछि यत्तिको एक्सन लिइएको बालुवाटार स्रोत बताउँछ ।
सतहमा यी गृहमन्त्रीले हामीले भनेजस्तो गरेनन्, जेनजी आन्दोलनको भावना बुझेनन् भनिए पनि खास कारण अर्कै छ । महानगर प्रहरी प्रमुख राजु पाण्डेकी कान्छी श्रीमती गंगा पन्तलाई एसएसपीबाट डिआइजी बनाउन सहयोग नगरेपछि बालेनसहितको जोडबलमा गृहमन्त्री हटाउन खोजिएको स्रोतको ठहर छ ।
बालेनका प्यारा पाण्डेले ‘मेरी श्रीमतीलाई एक नम्बरमा बढुवा दिलाउँछु र आइजीको लाइनमा हाल्छु, अहिलेसम्म कोही महिला आइजी भएकै छैन’ भनेर जोडबल गरिरहेकोमा गृहमन्त्रीले दुई हप्ताअगाडि उनलाई हटाएर भुपेन्द्र खत्रीसहित पाँच जनाको टोलीलाई उकालिदिएका थिए । पाण्डेकी कान्छी श्रीमती प्रहरी र जेठी नबिल बैंकमा कार्यरत छन् । ८ महिनाअगाडि नै आफूसँग सम्बन्ध बिग्रिएका बालेनले अर्याललाई कुनै हालतमा गृहमन्त्री बनाउन चाहेका थिएनन् तर कार्कीको रोजाइमा अर्याल गृहमन्त्री बन्नबाट रोकिएनन् ।
बालेनले शक्ति प्रयोग गरेर अन्य प्रशासनिक कामहरूमा पनि हस्तक्षेप गरेको देखिने स्रोत बताउँछ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग उनले बसपार्क प्रकरणमा पनि कुरा मिलाएको देखिएको छ । जबकि ‘निकाल्छु, निकाल्छु’ भनिराखेका थिए तर बालेनले ‘अब मेरो सरकार आयो, सुशीला कार्कीले मैले भनेको मान्छिन्’ भन्ने नाममा सबैतिर पेलपाल गर्न खोजेका थिए । जसमा अहिले थोरै ब्रेक लागेको छ ।
आफ्नो प्रचार र समर्थनका लागि सामाजिक सञ्जाल चलाउनेहरूलाई आर्थिक सहयोग गरिरहेका छन् । ‘हिजो रवि लामिछाने पनि सामाजिक सञ्जालको बलमा टिके । ३ लाख २० हजारको समर्थक ग्रुप थियो उनको । त्यसैबाट अरुलाई गाली गराउँथे,’ स्रोत भन्छ, ‘बालेनले पनि रुटिन अफ नेपाल बन्दबाट त्यही शैली अपनाए । उसलाई आफू मेयर हुनेबित्तिकै १ करोड दिए । पब्जी गेमवालाहरूलाई पनि १ करोड दिए ।’
यसबीच युवामा प्रभाव रहेको रुटिन अफ नेपाल बन्दका सञ्चालकहरूको अहिले भागाभाग भएको छ । ‘भिक्टर अष्ट्रेलिया र अरु चार–पाँच जना दुबई पुगेका थिए,’ स्रोतले भन्यो, ‘अहिले अफिस बन्द गरेर हिँडेका छन्, ल्यापटपमा घर–घरबाट काम चलाउँदैछन् ।’ मुख्य गरी पहिले सूचनाको लागि भरपर्दो मानिएकोमा केही वर्षयता कसैको अभियानमा जोडिने र गोटी बन्ने भएपछि यो फेसबुक पेज पनि विवादित बन्न पुगेको छ ।
‘एकातिर गृहमन्त्रीसँग असन्तुष्टि, अर्कोतिर तीन जनालाई जसरी पनि समाउनुप¥यो भन्ने दबाब । केपी ओली, रमेश लेखक, काठमाडौंका तत्कालीन सिडिओ उनको हिटलिष्टमा,’ स्रोत भन्छ, ‘पछि त थपिँदै–थपिँदै गएर आइजी, सचिव सबलाई समात्नुपर्छ भन्न थालेका थिए ।’
सुदनले कार्कीको फोन नउठेपछि उनका श्रीमान् दुर्गा सुवेदीलाई पनि हैरान बनाएको पाइयो । ‘प्रधानमन्त्रीको फोन उठेन भनेर पुरानो नम्बरमा गर्दा श्रीमान्ले उठाएछन्, त्यसैमा मनपरी गालीको वर्षा भयो,’ स्रोतले भन्यो, ‘ठ्याक्कै त्यही कारणले अस्पताल भर्ना हुनुपरेको हो÷हैन त थाहा भएन ।’
के छन् अरुमाथि अनुसन्धानको क्रम ?
नेपाल ट्रष्टको विषयमा सरकारले छानबिन शुरु गरेको छ । क्यानका प्रदीप अधिकारीको विषयमा अख्तियारबाट छानबिन भइरहेको छ । दीपक भट्ट पनि कतै जान नसक्ने गरी सरकारको निगरानीमा भएको बुझिएको छ । ‘अब ऊ कहीँ पनि जान सक्दैन, उम्किने ठाउँ छैन,’ स्रोतले भन्यो, ‘जहाँ गए पनि सरकारको कन्ट्रोलमै हुन्छ ।’
(जनआस्था साप्ताहिकको कात्तिक २६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू