सिडियोले भने - 'मेरो भिडियोमा लाईक, कमेन्ट र सस्क्राईब गर्नु', उपमेयरले भनिन् - 'बानी सुधार्नु'
रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी र यहाँका दुई नगरपालिकाका उपप्रमुख बीच एक बैठकमा छेड हानाहान भएको छ । तीन महिना अघि मात्र सिडियो भएर रूकुम पश्चिम आएका उपसचिव दिनेश प्रसाद थानीको कार्यशैलीलाई लिएर गुनासो बढिरहेका बेला दुई नगरपालिकाका उपप्रमुखले पनि बैठकमै उनको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
सोमबार सिडियोकै कार्यकक्षमा बोलाएको विपद् व्यवस्थान समितिको बैठकमा सिडियो थानीलाई आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाही र चौरजहारी नगरपालिकाका उपप्रमुख ईश्वरी शर्मा विएमले कार्यशैली सुधार्न भनेका छन् । बैठकमा उपप्रमुख शर्माले जनताको काम तथा गुनासा सुनाउन र समस्या समाधानको लागि पहल गर्न प्रमुख जिल्ला अधिकारीको अफिसियल नम्बरमा फोन गर्दा नउठ्ने गरेको, प्रतिक्रिया नआउने गरेको गुनासो गरिन् । शर्माले बैठकमा प्रश्न गरिन् : "हाम्रो फोन नउठाउनुको कारण के हो ? यस्तो गैर जिम्मेवार बन्न मिल्छ ?"
बैठकमा आठविसकोट नगरपालिकाका उपप्रमुख शाहीले प्रमुख जिल्ला अधिकारीलाई पटक पटक फाेन गर्दा रिसिभ नगरेपछि प्रशासन कार्यालयमै आउन बाध्य भएको बताइन् । जनताकाे मत पाएर आएका जनप्रतिनिधिलाई बेवास्ता गरेको शाहीको बुझाई छ । शाहीले आक्रोशित हुँदै भनिन्: "हामीलाई महिला भनेर हेला गरेको हो कि सदरमुकाम भन्दा टाढाका भनेर मतलब नगरेको हो ?" सिडियो भएर सेवा प्रवाह भन्दा पनि गित संगित, भिडियाे निर्माणका काममा व्यस्त भएको उनको आरोप छ ।
शाहीको यो आरोपपछि सिडियो थानीले आफ्नो गीत तथा भिडियो हेरेको भन्दै धन्यवाद दिन भ्याए। उपमेयरको गुनासो तथा आक्रोशलाई हल्का रूपमा लिँदै सिडियो थानीले भने : 'मेराे भिडियो हेर्नुहुदाे रैछ, भिडियो लाईक, संस्क्राईब, कमेन्ट पनि गर्नु ।' सिडियोको गैर जिम्मेवार जवाफपछि उपप्रमुख शाहीले 'अन्यथा साेचेर फाेन गरेको नभई प्रमुख जिल्ला अधिकारीलाई फाेन गरेकोे' सम्झाईन् । यस अघिका सिडियोको कार्यशैली पछ्याउन भन्दै उनले थपिन : 'काममा हुँदा उठाउन नसके कल ब्याक गर्न मिल्छ, अन्यथा बानी सुधार्नु होला ।'
वैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि र कर्मचारीहरुले उपप्रमुखहरूले सही सवाल उठाएको भन्दै समर्थन गरेका थिए ।
टिप्पणीहरू