अन्तर्राष्ट्रिय कार्यशालाका विदेशी पाहुनालाई सुरक्षासहित विशेष सुविधा
दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) का पदाधिकारी नेपाल आउने भएका छन् । भोलिदेखि काठमाडौंमा हुन गइरहेको एसएएसईसीको उच्चस्तरीय बैठक र पर्यटन तथा खाद्य कार्यशालामा सहभागी हुन उनीहरु नेपाल आउन लागेका हुन् ।
सो बैठक तथा कार्यशाला आउँदो मंसिर २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने भन्दै अर्थ मन्त्रालयले आवश्यक तयारीका निम्ति निर्देशन दिएको छ ।
मन्त्रालयले मातहतका निकाय, विमानस्थल तथा सुरक्षा निकायलाई एसएएसईसी पदाधिकारीलाई प्रवेश भिसा निःशुल्क दिन, विमानस्थलमा अलग्गै डेस्कको व्यवस्था गर्न र उनीहरु नेपाल रहँदाको अवधिभर उचित सुरक्षा व्यवस्था मिलाउन निर्देश गरेको छ ।
पत्रमा भनिएको छ, ‘नेपाल आउने संलग्न सूचीबमोजिमका सहभागीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने भएकाले सहभागीहरुलाई औपचारिक प्रवेश भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था हुन, विमानस्थलमा अलग्गै डेस्कको व्यवस्था गरी आगमन सहजीकरण गरिदिनुहुनका साथै सहभागीहरु नेपाल रहँदाको अवधिभर आवश्यक सुरक्षा व्यवस्थापनका लागि सुरक्षा निकायसँग समन्वय गरिदिन मिति २०८२–०८–०३ गतेको सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’
टिप्पणीहरू